कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पर्यटकीय गुरुयोजना अलपत्र

प्रशान्त माली

ललितपुर — ललितपुरको दक्षिण भेगलाई पर्यटकीय गन्तव्यको मुख्य केन्द्र बनाउने पञ्चवर्षीय गुरुयोजना ओझेलमा परेको छ । दक्षिण भेगमा एकदेखि १२ दिनसम्मको ‘प्याकेज टुर’ गर्न मिल्ने स्थान छन् । जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, डुंगा शयर, प्याराग्लाइडिङ, गुफा ध्यान, घोडचढीलगायत छन् ।

पर्यटकीय गुरुयोजना अलपत्र

पर्यटन गुरुयोजना तत्कालीन जिल्ला विकास समिति ललितपुरले आर्थिक वर्ष २०७२/७३ मा बनाएको थियो । तर, प्रभावकारी कार्यान्वय हुन सकेको थिएन । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि तीव्र गतिमा सम्बोधन हुने दक्षिणवासीको अपेक्षा थियो ।

‘धरानको बराह, गुल्मीको रिडी र मुस्ताङको मुक्तिनाथजस्ता पुरातात्त्विक महत्त्वका तीर्थस्थल गोटीखेलको त्रिवेणी वैतरणीधाम र घडघडा नदी हो,’ गोटीखेलका अगुवा धालप्रसाद तिमल्सिना भन्छन्, ‘तर संरक्षण प्रवद्र्धनको अभावमा अन्योलमा परेको छ ।’ उनले वैतरणीधामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व डरेको खोर नामक टापु रहेको बताए । ‘यी टापु हिमालमा जोडिएको दृश्य धनुषाको जनकपुर, रौतहटको नगरपुर, पर्साको परमानुपर र भारतबाट समेत अवलोकन गर्न सकिन्छ,’ उनले भने, ‘महांकालको सेरोफेरोमा घुम्ती मार्ग बनाउन सकेमा शिवालय मन्दिर र टापु वरिपरि विभिन्न अनुसन्धान केन्द्र र जडीबुटी खेती गर्न सकिने सम्भावना छ । यस क्षेत्र कृषि, खेल, धार्मिक पर्यटनको पनि प्रचूर सम्भावना छ ।’

गुरुयोजना तत्कालीन जिविससँगै १८ गाविस र ललितपुर उद्योग वाणिज्य संघको सक्रियतामा ०७२ मा निर्माण गरिएको थियो । गुरुयोजना सम्पन्न गर्न १८ करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको थियो । जसमध्ये पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, वातावरण मन्त्रालय, ललितपुर उद्योग वाणिज्य संघलगायत संघसंस्थाले ३५ प्रतिशत र बाँकी तत्कालीन जिविस, ललितपुर उपमहानगरपालिका र जिविसले लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसबीच, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव सम्पन्न भए । स्थानीय निकायमा जनप्रतिधि आएको पनि एक वर्ष बितिसक्यो । तर, गुरुयोजना कार्यान्वय गर्न चासो नदिएको स्थानीयवासीको गुनासो छ । दक्षिण भेग देवीचौरस्थित सुन्तोलीडाँडाबाट बिना भ्यू टावर उपत्यकाका तीनै जिल्ला र हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । दक्षिणतर्फ तराईको रौतहटदेखि वीरगन्जसम्म देख्न सकिन्छ ।

कालेश्वरस्थित मृगबिसौना र काभ्रेसँगको सीमास्थल मानिने देउरालीस्थित थुम्का डाँडा जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हो । यहाँबाट उत्तरमा हिमशृंखलाहरू पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थान, पश्चिम र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

मानिखेलको खोरभञ्ज्याङलाई पनि पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिन्छ । यी जनप्रतिनिधिको बेवास्तासँगै प्रचारप्रसारको अभावमा ओझेलमा परेको दुलाल बताउँछन् । भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, गिम्दीको चमेरे गुफा र प्युटारको नाग गुफा उत्कृष्ट गन्तव्य स्थल हुन् ।

जिल्लाको दक्षिण भेग निर्वाचन क्षेत्र नं १ मा नेपाल कम्युनिस्ट पाटीका नवराज सिलवाल सांसद छन् । प्रदेशसभातर्फ क्षेत्र नं १ ‘क’ मा नेपाल कम्युनिस्ट पार्टीकै लालकुमारी पुन र र ‘ख’ मा चेतनाथ सञ्जेल सांसद छन्् । महांकाल गाउँपालिका–५ का स्थानीय शिक्षक रमेश बजगार्इं भन्छन्, ‘ललितपुरलाई जावलाखेल, पुल्चोक, कुपण्डोलसँग मात्र जोडेर हुँदैन, जिल्लाको दक्षिण भेगमा विश्वकै उत्कृष्ट स्थल पनि छन् । नेताहरूले चाहेमा विकास गर्न सक्छन् ।’ दक्षिणमा ६० प्रतिशतभन्दा बढी मानिस अत्यन्त गरिबीको रेखामुनि छन् । चुनावमा आफूलाई जिताएमा पयर्टन व्यवसायमार्फत रोजगारी सिर्जना गरी गरिबी हटाउने नेताहरूले प्रतिबद्धता जनाएका थिए । विकास भने घोषणामै सीमित भएको स्थानीयको गुनासो छ ।

सांसद लालकुमारी पुन भन्छिन्, ‘पर्यटन प्रवद्र्धन गर्न खाका तयार गरेर बजेटका लागि प्रदेश र केन्द्रमा प्रस्ताव गरिसकेका छाँै ।’ उनले फुल्चोकी र इकुडोलमा केबुलकारको सम्भाव्यता अध्ययन सुरु भइसकेको बताइन् । ‘सडकलगायत भौतिक पूर्वाधारको पनि विकास गर्न लागिरहेका छाँै,’ उनले भनिन् । जंगल सफारी, चट्टान आरोहण र जलयात्रा दक्षिण भेग अधिकांश जंगल क्षेत्र छन् । केही क्षेत्रलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिन्छ । चौघरे–ठोस्ने खोलासम्मको सडक आसपासमा वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ । मूल मोटरबाटोको दायाँबायाँ मृग, खरायो, कालिज, हरिण, जरायो, मृगजस्ता वन्यजन्तु देख्न सकिने भएकाले जंगलमा यात्राको सम्भावना भएको गुरुयोजनामा उल्लेख छ ।


कालेश्वर महादेव मार्गमा पर्ने पार्वती डाँडा र कालेश्वर महादेव डाँडाको पूर्वी र दक्षिणी मोहडामा चट्टान आरोहणको सम्भावना छ । बल्खु–माल्टासम्म जलयात्रा सञ्चालन गर्न सकिन्छ । माल्टामा मगर संस्कृति, नाच र संस्कृति झल्कने परिकारसहित कार्यक्रम सञ्चालन गर्न सकिन्छ । मानीखेलस्थित बिमिरेचौर फाँटमा ल्यान्ड गर्ने गरी पनि प्याराग्लाइडिङ गराउन सकिने गुरुयोजनामा उल्लेख छ ।

सांसद चेतनाथ सञ्जेल भन्छन्, ‘दक्षिणमा पर्यटन प्रवद्र्धन गर्न ५० करोड रुपैया बराबरको छुट्टा छुट्टै प्याकेज बनाएर प्रदेश र केन्द्रमा कार्यक्रम पेश गरेका छौ ।’ जिल्लाको सबभन्दा चिसो र अग्लो स्थान फुल्चोकी हो । सबैभन्दा होचो तथा गर्मी गिम्दीको हेल्टार हो । गमी र चिसो दुवै क्षेत्रमा पाइने चराचुरुंगी अवलोकन गर्न सकिने बद वाचिङ रुट बनाउन सकिन्छ ।

त्यस्तै कृषि पर्यटनको सम्भावना पनि प्रचूर छ । चापागाउँलाई च्याउको पकेट क्षेत्र, कालेश्वर–बुखेल चिया, सुदूर दक्षिणी भेग कफी, दक्षिण पश्चिमी क्षेत्र दलहन र तेलहन वाली, भैंसीपालन र दूध व्यवसायको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । पर्यटकलाई कोसेलीका रूपमा घ्यू, खुवा तथा दूधबाट बनेका परिकार दिन सकिन्छ । बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन भन्छन्, ‘पर्यटन विकास गर्न छुट्टै गुरुयोजना बनाउँदै छौं । अर्को साताभित्र सम्पन्न हुनेछ ।’

बनेन ‘जीवित संग्रहालय’
प्याङगाउँलाई ‘जीवित संग्रहालय’ बनाउने ६ वर्षअघिको योजना अलपत्रमा परेको छ । तत्कालीन चापागाउँ गाविस पूर्वअध्यक्ष चरसुन्दर महर्जन भन्छन्, ‘उपत्यकाको मल्लकालका समुदायहरूमध्ये बाँकी एक मात्र जीवित समुदाय प्याङगाउँ हो । यसलाई जीवित संग्रहालय बनाउने योजना कार्यान्वय गर्न जनप्रतिनिधिले चासो दिनुपर्छ ।’ चापागाउँमा अवस्थित प्याङगाउँका अधिकांश वृद्धवृद्धा अहिले पनि गाउँमै उत्पादित वस्तु प्रयोग गर्छन् । हाकुपटासी, चोलोबाहेक अरू लुगा लगाउँदैनन् । भदौको मकैको थांग्रा उस्तै छ । पुरानो शैलीको घर र ढोका अझै बाँकी छन् ।

अरू नेवार समुदायभन्दा फरक भाषा बोल्ने उनीहरूको प्राचीन पेसा चोया तथा तामा बाँसको मानापाथी, मसला तथा आयुर्वेदिक औषधि राख्ने भाँडो, गमला लगायतका सामान बनाउने हो । कुनै बेला यी सामान जर्मनी, अमेरिकालगायत देशमा समेत निर्यात हुने गर्दथ्यो । चापागाउँका वडाध्यक्ष नीलबहादुर देसार भन्छन्, ‘चालु वर्षमा बस्तीमा प्रवेशद्वार बनाउने क्रममा छौं । माना/पाथी बनाउने तालिम तीन पटक दिइसकेका छाैं । उनले त्यहाँ उत्पादित वस्तु विदेश पठाउने योजना रहेको बताए ।

दरबारको संरक्षणमा बेवास्ता
लेले सगरकोट कोताथुम्का डाडाँस्थित लिच्छविकालीन दरबारको संरक्षण हुन सकेको छैन । ऐतिहासिक दरबारको उत्खनन हुनुपर्ने भन्दै ५ वर्षअघि पुरातत्त्व विभागको दरबार हेरचाह कार्यालय ललितपुरले अध्ययन गरी प्रतिवेदन बुझाइए पनि काम अघि बढेको छैन । प्रतिवेदनमा डाँडामा प्राप्त इँटाको ढिस्कोले उक्त क्षेत्रमा दरबार रहेको भन्ने स्थानीयको भनाइलाई पुष्टि गर्ने आधार भेटिएको थियो । त्यहाँ थप उत्खनन गर्न विभागलाई आग्रह गरिएको थियो ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?