‘गैससको भर नपर्नुस्’

मकवानपुर — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय एवं राष्ट्रिय गैरसरकारी संस्थाको भरमा देशको विकास सम्भव नभएको बताएका छन् ।

‘गैससको भर नपर्नुस्’

‘अधिकांश गैरसरकारी संस्थाले परिणाममुखी काम गर्दैनन् र उनीहरूका काम स्थायी पनि हुँदैनन्,’ उनले भने । थाहा नगरपालिकाको पर्यटन गुरु योजनासम्बन्धी शनिबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै पौडेलले थाहा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पूर्वाधारको विकास गर्नुपर्ने बताए ।

पौडेलले चित्लाङदेखि सिमभन्ज्याङसम्मका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्न आग्रह गरे । ‘थाहा नगरपालिकाले आफ्नो सम्पूर्ण ध्यान पर्यटन र कृुषि क्षेत्रमा लगाउन’ आग्रह गर्दै उनले भने, ‘कनिका छरेको जस्तो बजेट छरेर पर्यटन क्षेत्रको विकास गर्न सकिंदैन ।’

प्रदेश राजधानी हेटांैडा र संघीय राजधानी काठमाडौंको मध्यभागको थाहा नगरपालिकाले अहिले जुन ढंंगले काम गरेको छ त्यसलाई निरन्तरता दिंदै अगाडि बढ्न उनले सुझाव दिए । पौडेलले भने, ‘थाहा नगरपालिकाको जसरी अन्य स्थानीय तहले पनि काम गर्नुपर्छ ।’ नगरले आगामी आर्थिक वर्षको नीति र कार्यक्रमअनुसार बजेट विनियोजन गर्नुपर्ने उनले बताए । कृषि पर्यटन र पूर्वाधार थाहा नगरको आधार भन्ने मूल नारा रहेको नगरपालिकाले कृषि र पर्यटन क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको मेयर लवशेर विष्टले बताए । उनले चालु आर्थिक वर्षको वैशाखसम्म ७० प्रतिशत योजना सम्पन्न गरिसकेको जनाए ।

विगत एक वर्षदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्दै आएको नगरले एकीकृत सम्पत्ति कर अनलाइनबाट संंंकलन गर्ने गरेको छ । १२ वडामा विभाजित नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा डा.तारालाल श्रेष्ठ, इन्जिनियर दीपक विष्टलगायतले नगरपालिकाको पर्यटन गुरुयोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उपमेयर खड्ग गोपालीले कार्यक्रममा ५ वर्षभित्र थाहालाई मुलुकको नमुना नगरपालिका बनाउने योजना रहेको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?