२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालविवाह रोक्दै चेपाङ किशोरी

रमेशकुमार पौडेल

चितवन — चेपाङ समुदायमा कम उमेरमै बिहे गर्ने चलन छ । सानो उमेरमा बिहे गर्ने र सन्तान धेरै जन्माउने आफ्नो समुदायको समस्याको अन्त्य गर्न चेपाङ किशोर/किशोरीहरूले अभियान थाल्ने भएका छन् ।

बालविवाह रोक्दै चेपाङ किशोरी

कम उमेरमै बिहे गर्दा हुने असरका बारेमा चेपाङ समुदायलाई जानकारी दिन बनेको समूह अब गाउँ पस्दै छ ।

‘हामीले बालविवाह रोक्न बिहे भएका केही अभिभावक र बिहे नभएका किशोरीलाई परिचालन गर्ने योजना बनाएका छौं,’ चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङले भने, ‘यसका लागि उनीहरूलाई २ दिनको तालिम पनि दिइसकेका छौं ।’ संघले महिला तथा बालबालिका कार्यालयसँग समन्वय गरेर १८ किशोर/किशोरी तथा १२ विवाहित प्रौढलाई राखेर बालविवाहका बेफाइदाका विषयमा शुक्रबार र शनिबार तालिम दिएको हो ।

कक्षा ९ मा पढ्ने इच्छाकामना ७ पीपलटारकी मनीषा चेपाङ र कालिका ९ शक्तिखोरका १० कक्षाका विद्यार्थी सुमन चेपाङले तालिममा सहभागी भएपछि विवाह २० वर्ष कटेपछि मात्र गर्नुपर्ने थाहा पाए । ‘बिहे गर्ने उपयुक्त उमेरबारे पहिला पनि नसुनेको हैन तर कम उमेरमा बिहे गर्दा हुने बेफाइदा तालिममा प्रस्टसँग जानकारी भयो,’ मनीषाले भनिन् । आफूले सिकेको कुरा समुदायमा भन्नुपर्ने हुन्छ ।

एउटा समूहमा २५ जना छन् । बालविवाहका बेफाइदाका बारेमा चेपाङ समुदायका युवालाई यसरी प्रशिक्षण दिने कार्यले समुदायलाई केही न केही फाइदा पुर्‍याउने लक्ष्मणको आशा छ । नेपालमा चेपाङको जनसंख्या ६८ हजार छ । चितवन, धादिङ, मकवानपुर र गोरखा जिल्लाको पहाडी क्षेत्रमा यो समुदायको बाक्लो बसोबास छ । चेपाङ नेपालको अल्पसंख्यक आदिवासी समुदाय हो । चितवनमा मात्रै २८ हजार चेपाङ बसोबास गर्ने लक्ष्मणले बताए । अहिले पनि बिहे गर्ने अत्यधिक जोडीको उमेर १७/१८ वर्ष हुने गरेको उनले बताए । नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ कम उमेरमा बिहे गर्ने र धेरै बच्चा जन्माउने चलन चेपाङ समुदायमा सामान्य भएको बताउँछन् ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?