२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गोपालेश्वर निर्माण अवरुद्ध

आधुनिक निर्माण सामग्रीमा स्थानीय बासिन्दाको आपत्तिपछि काम रोकियो
दामोदर न्यौपाने

फर्पिङ (काठमाडौं) — पुरातत्त्व विभागले मापदण्डविपरीत गोपालेश्वर मन्दिर पुननिर्माण गरेपछि स्थानीयवासीले काम रोकिदिएका छन् । सम्भवत: उपत्यकाकै पुरानो मन्दिरमा पुरातत्त्व विभागले मापदण्डविपरीत जगमा आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि सम्पदाप्रेमीले यसको विरोध गर्दै आएका छन् ।

गोपालेश्वर निर्माण अवरुद्ध

दक्षिणकाली नगरपालिका—७ स्थित गोपालेश्वरको निर्माण करिब २ करोड ७५ लाख रुपैयाँमा लागतमा पुरातत्त्व विभागले निर्माण गर्न लागेको हो । मन्दिरको लागत स्टमेटमा जगमा परम्परागत सामग्री प्रयोग गर्न भनिए पनि निर्माण गर्दा भने सिमेन्ट प्रयोग गरेको हो । ‘जगमा पानी देखिएपछि यसलाई बलियो बनाउन सिमेन्ट प्रयोग गरेको हो,’ विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरेले भने, ‘प्राविधिकको सुझावअनुसार कंक्रिट प्रयोग गरेका हौं । जगमा चुना सुर्की राख्दा सुक्दै सुक्दैन । बलियो हुँदैन । बलियो बनाउन यसको प्रयोग गरिएको हो ।’

पुस्तौंदेखि परम्परागत निर्माण सामग्रीले प्रयोग गर्दा बलियो भएको सम्पदालाई अहिलेचाहिँ बलियो बनाउने भन्दै आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । ‘हजारौं वर्षदेखि टिक्दै आएको मन्दिर अहिलेचाहिँ टिक्दैन भनेर कंक्रिट प्रयोग गर्न पाइन्छ ?’ स्थानीयवासी नरेन्द्र श्रेष्ठ भन्छन्, ‘यो हाम्रो सम्पदा मास्ने नियोजित षड्यन्त्र हो । कमिसनको लोभमा पुरातत्त्व विभाग नै सम्पदा मास्न लागेको छ । जोगाउनुपर्ने निकायलाई उल्टै हामीले खबरदारी गर्नुपर्ने ? पहिला यहींको एउटा मन्दिरमा सिमेन्ट प्रयोग गर्दा विभागले तिमीहरूलाई लगेर थुन्दिउँ भनेको थियो । हामीले गर्दा थुन्नुपर्ने अनि उसले प्रयोग गर्दाचाहिँ हामीले छुट दिनुपर्ने ?’

यो मन्दिर गोपालवंशसँग जोडिएको छ । भगवान् कृष्णले उत्खनन् गरेको मन्दिर भनेर हिमवत् खण्ड पुराणमा समेत उल्लेख भएको छ । ‘गोपालेश्वर मन्दिर नेपालकै प्राचीन मन्दिर हो,’ गोपालेश्वर क्षेत्र प्रबन्ध समाजका सचिव वीरेन्द्रराज बलामी भन्छन्, ‘कृष्णले उत्खनन् गरेर गोपालेश्वरको मूर्ति फेला पारेर दर्शन गरेका थिए । यो कुरा हिमवत् खण्डमा उल्लेख छ । यही पुराणमा पशुपति क्षेत्रका ९ शिवलिंगको पनि वर्णन गरिएको छ । त्यही क्रममा गोपालेश्वरको पनि वर्णन गरिएको हो । नेपाल महालयमा पशुपति क्षेत्रमा ६४ शिवलिंगको वर्णन गर्ने क्रममा पनि गोपालेश्वरको नाम उल्लेख छ ।’

हिन्दुको मात्र नभई बुद्धधर्मको कथा पनि जोडिएको छ यहाँ । स्वयम्भू पुराणमा महामञ्जुश्रीले बुद्धपालको विद्याविहीन पुत्र मञ्जुगतलाई सबै स्थानको विद्या दिई अन्तरध्यान भएका थिए । बुद्ध धर्मावलम्बीका अष्ट विलरागमध्ये गोपालेश्वर पनि एक भएको स्वयम्भू पुराणमा उल्लेख छ । यही मान्यताअनुसार बुद्ध धर्मावलम्बी पनि अष्ट विलराग मानेर यहाँ पूजाआजा गर्दै आएको बलामीले जानकारी दिए ।

गोपालेश्वर मन्दिर तीनतले थियो सुरुमा । प्यागोडा शैलीको थियो मन्दिर । ९० सालको भुइँचालोमा यो भत्कियो । भत्किएपछि यसलाई गुम्बज शैलीको बनाइएयो । शैली मात्रै परिवर्तन गरिएन, यसलाई आकारमा समेत सानो बनाएर एकतलामा झारियो । पहिला माटोले बनेको थियो मन्दिर । २०१६ सालमा यसलाई फेरि भत्काएर बनाइयो । त्यतिबेला यसलाई बज्र प्रयोग गरेर निर्माण गरियो ।

ढलान पनि बज्रकै गरियो । २०४५ सालको भुइँचालोले पनि यसलाई क्षति पुर्‍यो । त्यसपछि लामो समय मन्दिर जीर्ण अवस्थामा रह्यो । त्यसले यसको गर्भगृहमा पानी चुहियो । भुइँचालोले क्षति पुर्‍याएको २० वर्षपछि २०६५ सालमा यसको गुठी संस्थान र जनहसयोगबाट मन्दिर मर्मत भएको थियो । ‘त्यति बेला पनि हामीले बज्र प्रयोग गरेका थियौं । प्लास्टर पनि बज्रकै प्रयोग गरेका थियौं,’ बलामी भन्छन्, ‘परम्परादेखि जोगाउँदै आएको मन्दिरमा अहिले पुरातत्त्वले आधुनिक निर्माण सामग्री प्रयोग गर्‍यो ।’

पुरातत्त्व विभागबाट साइड हेर्दै आएकी इन्जिनियर अंगुर श्रेष्ठले स्ट्रक्चरल इन्जिनियरको सल्लाहअनुसार मन्दिरमा कंक्रिकट प्रयोग गरेको दाबी गरिन् । ‘पटक पटक छलफल गर्‍यौं,’ उनले भनिन्, ‘चुना सुर्कीले सेट हुन नसक्ने सुझाव आएपछि कंक्रिट प्रयोग गरेका हौं ।’

पुरातत्त्वको यो भनाइलाई सम्पदा अभियन्ताहरूले हचुवा भनेका छन् । ‘कुनै सम्पदा जोगाउनै नसक्ने अवस्था भएमा मात्रै विज्ञको सुझावमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न सक्ने कानुनी व्यवस्था छ,’ सम्पदा अभियन्ता तथा कानुनका विद्यार्थी सञ्जय अधिकारी भन्छन्, ‘तर यहाँ त्यस्तो भएको छैन । छलफल गरेर मात्रै हुन्छ ? विज्ञले यहाँको माटो परीक्षण गर्नुपर्छ । पर्याप्त अध्ययन गर्नुपर्छ । तर यहाँ छलफल भएको भनेर एक पानाको प्रतिवदेन तयार पारिएको रहेछ । त्यो पनि मैले सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना मागेपछि यही हो प्रतिवेदन भनेर अघि सारेका छन् । यो त हचुवाका आधारमा गरिएको भयो नि । हचुवामा यति प्राचीन सम्पदा मास्न पाइँदैन ।’

२०७२ सालको भुइँचालोले मन्दिरभित्रको संरचनासमेत क्षत्विक्षत बनाइदिएको थियो । अहिले मूर्ति छोप्न जस्ताको टहरो बनाइएको छ । स्थानीयवासीले पहल गरेपछि २०७४ भदौमा बृहत् भेला गरेर यसको निर्माण प्रक्रिया अघि बढाइएको थियो । वडा नं ७ का वडाअध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा मन्दिर पुनर्निर्माण अनुगमन तथा सुपरीवेक्षण समिति गठन गरिएको थियो ।

मन्दिरका पुजारी दामोदर अर्यालको संयोजकत्वमा क्षमापूजा व्यवस्थापन समिति बनाइएको थियो । स्थानीयवासीको सहयोग हुँदाहुँदै पनि विभागले झुक्याएर आधुनिक निर्माण सामग्री प्रयोग गरेको स्थानीयवासी सुनील श्रेष्ठ बताउँछन् । ‘मन्दिरमा पानी किन आयो ? पानी आएको ठाउँमा प्राचीन निर्माण सामग्री अड्याउने प्रयास किन गरिएन ? प्रयोग गर्दा गर्दै प्राचीन निर्माण सामग्री टिक्दैन भनेको भए हामी पत्याउँथ्यौं,’ उनी भन्छन्, ‘सजिलोको लागि हचुवामा प्राचीन निर्माण सामग्री बलियो छैन भनेर हुन्छ ? कुम्भेश्वर पनि पानीमाथि बनेको हो । पानीमाथि कसरी अडियो ? त्यसको अध्ययन गर्नु पर्दैन ? पुरातत्त्वले यसरी बनाउनु हुँदैन भन्नुपर्नेमा झन् पुरातत्त्वलाई हामीले सिकाइदिनुपर्ने ? यो कस्तो अचम्म हो ?’

वडा अध्यक्ष तिमल्सिनाले पुरातात्त्विक मापदण्डविपरीत जगमा हालिएको कंक्रिट भत्काइदिनुपर्ने बताए । ‘तीन चरणमा छलफल भएको हो,’ उनी भन्छन्, ‘तर ठेकेदारले कसरी बनाउने भनेर हामीलाई भनेनन् । मौलिकता झल्कने वा नझल्कने केही भनेनन् । सिमेन्ट प्रयोग गर्ने कि नगर्ने भनेर हामीले पनि भनेनौं । प्राविधिकले पनि कसरी बनाउने भनेर भनेनन् । अहिले बनाउँदा मौलिकता मासिने गरी बनाएछन् । बल्ल थाहा पायौं । अब यसलाई जगैदेखि भत्काएर प्राचीन निर्माण सामग्री प्रयोग गर्नुपर्छ ।’ नगरपालिकाले भने पुरातत्त्व विभागले यत्रो काम गर्दा पनि नगरपालिकालाई थाहै नदिएको जनाएको छ । ‘हामीले थाहै नदिई यति धेरै बजेटमा, यति ठूलो सम्पदा पुनर्निर्माण भइरहेको रहेछ,’ दक्षिणकाली नगरपालिकाकी उपमेयर वसन्ती डंगोलले भनिन् ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?