२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बालहिंसाका उजुरी बढे

फातिमा बानु

काठमाडौँ — बालकालिकाको आपतकालीन उद्धारका लागि सञ्चालित बालहेल्पलाइनमा पछिल्लो समय उजुरीका चाप लागेका छन् । केन्द्रीय बालकल्याण समिति, सिविन नेपाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको संयुक्त प्रयासमा सञ्चालित हुँदै आएको हेल्पलाइन २० वर्ष पुरानो हो ।

बालहिंसाका उजुरी बढे

नि:शुल्क फोन गर्न मिल्ने हेल्पलाइनमा सन् २०१७ भित्र बाल हिंसासम्बन्धी करिब नौ हजार फोन आए । त्यसमध्ये करिब २० हजार उजुरी बालबालिका आफैंले फोनमार्फत दिएका छन् । अरू उजुरी पीडितका साथी, आफन्त र छिमेकीमार्फत दर्ता हुने गरेका छन् । अघिल्लो वर्ष हेल्पलाइनमार्फत सरकारले १ हजार ८ सय ५७ घटनालाई प्रत्यक्ष सम्बोधन टिपेको छ ।


त्यसमा मानसिक हिंसा, शारीरिक दण्ड र सजाय, ओसारपसार, यौन शोषण, श्रम शोषण, बालविवाह, अनलाइन हिंसा, अपरहरण जस्ता घटनाहरू दर्ता छन् । हेल्पलाइन कार्यक्रम अधिकृत सागर भण्डारीका अनुसार सबैभन्दा बढी यौन शोषण, श्रम शोषण र बालविवाहसम्बन्धी उजुरी आउने गरेका छन् । अधिकांश घटनामा बालिका बढी पीडित हुने गरेको उनले बताए ।


त्यस्तै, हिंसामा पर्नेमध्ये ६८ प्रतिशत विद्यार्थी बालबालिका छन् । परिवारबाट त्याग गरिएका, बेवारिसे सडकमा छोडिएका, मनोसामाजिक पीडा दिएका, अभिभावक जेलमा परी अलपत्र परेका जस्ता घटना पनि उत्तिकै दर्ता भएका छन् । जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकालाई सरकारले आपतकालीन राहत र संरक्षण गर्दै आइरहेको छ ।


त्यस्ता बालबालिकालाई परामर्श दिने, पुन:स्थापना केन्द्रमा राखेर पढाउने र परिवारसँग पुनर्मिलन गर्ने काम सरकारले गर्दै आइरहेको छ, विभिन्न संस्थाको सहकार्यमा । हेल्पलाइनमार्फत आएका पाँच सय ३५ अहिले सिविनको गृहमा संरक्षित छन् । करीब १२ सय बालबालिका मनोसामाजिक परामर्श लिइरहेका छन् । कुटपिटमा परका बालबालिका अस्पताल भर्ना भई उपचाररत छन्, ७५ बालबालिका ।


हराएका १ सय ९४ बालबालिकाको भने अझै खोजीकार्य भइरहेको छ, बेवारिसे फेला परेका एक सय ३१ बालबालिकाको भने अभिभावक खोजिँदै छ । दर्ता भएका घटनामध्ये सबैभन्दा बढी ११ देखि १४ वर्षका उमेर समूहका छन् । उनीहरूको जातिगत अवस्था हेर्दा सबैभन्दा बढी जनजाति छन्, ४८ प्रतिशत । कुनै घटना त अदालतसम्म पनि पुगेका छन् । अदालतसम्म पुगेका अधिकांश घटना यौनहिंसा (बलात्कार) सँग सम्बन्धित छन् ।


बलात्कारका घटनामा ३८ प्रतिशत पीडितका छिमेकी छन्, पाँच प्रतिशत आफ्नै बाबुबाट । जबरजस्ती करणीका उजुरीमध्ये ५८ प्रतिशत श्रममा खटिएका बालबालिका परेका छन् । हेल्पलाइनबाट लिएका यस्ता घटना जिल्ला अदालत, प्रहरी कार्यालय र श्रम कार्यालयमा दर्ता गरिएका छन् । केही घटना भने हदम्यादका कारण दर्ता हुन सकेका छैनन् । यस्ता घटना न्यायिक प्रक्रियामा लैजान नसक्दा ती बालबालिका मनोसामाजिक परामर्श लिइरहेका छन् । हेल्पलाइनमार्फत आएका उजुरीमार्फत नै धेरै बालबालिका विभिन्न जोखिमबाट बचेका छन् । घरेलु तथा होटल बालश्रमिक, बालविवाह, यौनहिंसा र श्रमशोषणमा परेका ३९ बालबालिकाले प्रहरीको रोहबरमा मिलापत्र गरेका छन्, क्षतिपूर्ति समेत पाएका छन् । हेल्पलाइनमा आउने ३० प्रतिशत उजुरी बालबालिका आफैंले गर्ने गरेको अधिकृत भण्डारी बताउँछन् ।


उनी भन्छन्, ‘आफूमाथि भएको हिंसाबारे आफैं बोल्न सक्ने भएका छन् बच्चाहरू, न्याय र राहतमा उनीहरूको पहुँच बढेको छ ।’ हेल्पलाइन सञ्चालनमा राज्यको लगानी कम हुँदा यसलाई दिगो बनाउन चुनौती भइरहेको सरोकारवाला बताउँछन् । महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता अधिकारी भन्छिन्, ‘स्रोत सीमित छ सेवाग्राहीको समस्या बढी, यसलाई राज्यले प्राथमिकतामा राखेर लगानी बढाओस् ।’

प्रकाशित : जेष्ठ १६, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?