राजकुलोमा डोजर

दामोदर न्यौपाने

दक्षिणकाली — गोपालेश्वर मन्दिरको सिमांकन मिलाउने नाममा गोपालेश्वर क्षेत्र विकास समितिले लिच्छवीकालीन राजकुलोमाथि डोजर लगायो । डोजर लगाएसँगै प्राचीन यो सम्पदामा अहिले पानी होइन, गाडी गुड्छन् ।

राजकुलोमा डोजर

डोजर लगाइसकेपछि यसमा सहयोग गर्नेलाई क्षेत्र समितिले फेसबुकमार्फत धन्यवाद दियो । धन्यवाद दिने सूचीमा छन्, दक्षिणकाली नगरपालिका वडा नं ७ फर्पिङका अध्यक्ष हरिप्रसाद तिमल्सिना ।

उनीसँगै सहयोगीको सूचीमा छन्, गोसान युथ क्लबका उपाध्यक्ष विजय कुमार महर्जन, सदस्य रत्नवीर महर्जन, चन्द्रकृष्ण महर्जन, संधियार सत्तलसिंह सुवाल, देवकृष्ण महर्जन, ज्ञानबहादुर श्रेष्ठ, हरिगोपाल श्रेष्ठ, बद्रीकृष्ण ताम्राकार, दीपक अर्याल, राजु अर्याल, सुनील अर्याल । समितिले सहयोग गरेको भन्दै धन्यवाद दिए पनि वडा अध्यक्ष तिमल्सिनाले भने आफूले राजकुलोमाथि डोजर चलाउने अनुमति नदिएको दाबी गरे ।

‘राजकुलो भत्कियो,’ उनले कान्तिपुरसँग भने, ‘नगरपालिकाले कुलो भत्काऊ भनेर अनुमति दिएको छैन ।’ गोपालेश्वर मन्दिरको उत्तरतिर थियो बाटो । त्यो बाटोले मन्दिरलाई असर गर्याे भन्दै बाटो दक्षिणतिर खोलेको पुजारी सुशीलराज अर्यालले बताउँछन् । ‘मन्दिरको बीचबाट ठूला गाडी जान्थ्यो, मन्दिरलाई असर गर्‍यो,’ उनले भने, ‘मन्दिरको जग्गासमेत जोगाउनु थियो । त्यही भएर उतापट्टि डोजर लगाएर सम्याएका हौं ।’

गोपालेश्वरबाट दामोदरघाटसम्म जाने बाटो पुरानै हो । त्यहाँसम्म पुग्न झन्डै तीन किलोमिटर लामो छ बाटो । त्यही पुरानो बाटोलाई कुलोतिर डोजर लगाइएको हो । करिब आधा किलोमिटर क्षेत्रको राजकुलो मासिएको छ । शेषनारायणबाट ल्याइएको हो, कुलो । प्राचीन बस्ती भएकाले यहाँको कुलो पनि प्राचीन भएको स्थानीयबासी बताउँछन् ।

लिच्छवीकालमै उपत्यकाका प्राचीन बस्तीमा राजकुलो विकसित भएका थिए । लिच्छवीकालमै व्यवस्थित कृषि प्रणालीको विकाससमेत भएका थिए । कृषि व्यवस्थित गर्न राजकुलो खनिएका थिए । सिँचाइका लागि कुलो र खानेपानीको लागि माटोको पाइपबाट पानी ल्याउने व्यवस्था लिच्छवीकालमै विकसित भएको थियो । काठमाडौं, ललितपुर, भक्तपुर जस्ता ठूला सहरमा पनि राजकुलोबाटै पानी ल्याइएको छ ।

प्राचीन बस्ती साँखु, बुङ्मतिलगायतमा पनि लिच्छवीकालमै राजकुलोको व्यवस्था गरिएका थिए । ती कुलो कतै मासिएका छन् । कतै भने अस्तित्वमा छन् । दक्षिणकाली पनि उपत्यकामा दह हुनुभन्दा पहिला नै बस्ती भएको अनुमान गरिएको छ । यहाँ सम्भवत: उपत्यकाकै पुरानो गोपालेश्वर मन्दिर छ । यो मन्दिर द्वापर युगमा कृष्णले दर्शन गरेको मन्दिर भनेर स्कन्द पुराणमा उल्लेख छ ।

यो मन्दिरलाई नेपालको पहिलो वंश गोपालवंशकालीन मानिएको छ । ‘यस हिसाबले पनि यो पुरानो बस्ती हो,’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘बस्ती पुरानो भएपछि राजकुलो पनि पुरानै हो ।’ लिच्छवकीकालमा सुरु भएका राजकुलो मल्लकालमा विस्तार भएका थिए । उपत्यकामा थुप्रै राजकुला छन् । तीमध्ये मुख्य तीन हुन् ।

ललितपुरमा पानी ल्याउन टीकाभैरव, भक्तपुरको बागेश्वरी र काठमाडौंमा बूढानीलकण्ठ हुन् । दक्षिणकालीमा शेषनारायणबाट ल्याइएको छ । करिब ५ किलोमिटर टाढाबाट ल्याइएको थियो, पानी । स्थानीयवासी सुनील श्रेष्ठका अनुसार ५ वर्षअघिसम्म राजकुलो राम्रोसँग चालु थियो । उनका अनुसार पाँच वर्ष पहिला मुकुन्दाडाँडमा पहिरो आयो । पहिरोले राजकुलो रोकियो ।

‘अवरोध आएपछि आधा चलेको छ,’ उनी भन्छन्, ‘आधा चलेको छैन ।’ पुजारी अर्यालका अनुसार २० वर्ष पहिलो यसको मर्मत गर्ने क्रममै राम्रो काम नभएकाले राजकुलो राम्रो गरी सञ्चालन हुन सकेन । ‘ठेकेदारलाई दिइएको थियो मर्मत गर्न,’ उनी भन्छन्, ‘ठेकेदारले कुलोको पानी आउने सतहभन्दा माथि कुलो बनाइदिए । त्यसले गर्दा पानी अवरुद्ध भयो ।’ राजकुलोका तीन सहायक कुलो थिए । एउटा कुलो गुलेवी फाँट जाने, एउटा लागाल फाँट जाने र अर्काे टारतिर सिँचाइको व्यवस्था गरिएको थियो । यस्ता सार्वजनिक स्थल जोगाउने दायित्व स्थानीय सरकारको रहेको जनहित संरक्षण मञ्चका निर्देशक वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा बताउँछन् । ‘इनार, कुवा, बाटो, धारा, कुलो सार्वजनिक सम्पत्ति हुन्,’ उनी भन्छन्, ‘यिनलाई मास्न पाइँदैन ।’

यहाँका सम्पदा मास्न घरजग्गा व्यवसायी योजनाबद्ध रूपमा लागेको स्थानीयवासीले गुनासो गरेका छन् । गोपालेश्वर पुनर्निर्माण गर्दा पुरातत्त्व विभागले कंक्रिट प्रयोग गरेर यसको प्राचीनता मास्न लागेको उनीहरूको गुनासो छ । हिन्दुको मात्र नभएर बुद्धधर्मको कथा पनि जोडिएको छ, यहाँ । स्वयम्भू पुराणमा महामञ्जुश्रीले बुद्धपालको विद्याविहीन पुत्र मञ्जुगतलाई सबै स्थानको विद्या दिएर अन्तरध्यान भएका थिए ।
बुद्ध धर्मावलम्बीका अष्ट विलरागमध्ये गोपालेश्वर पनि एक भएको स्वयम्भू पुराणमा उल्लेख छ । यही मान्यताअनुसार बुद्ध धर्मावलम्बीले पूजा गर्दै आएका थिए । गोपालेश्वरको अस्तित्व मास्न नगरपालिका नै लागेको स्थानीयवासी नरेन्द्र श्रेष्ठ बताउँछन् । गोपालेश्वर मन्दिर तीनतले थियो सुरुमा । प्यागोडा शैलीको थियो मन्दिर । ९० सालको भुइँचालोमा यो भत्कियो ।

यहाँ ढुंगेधारा, पोखरीजस्ता सम्पदै सम्पदा भए पनि क्रमश: मासिँदै गएको श्रेष्ठ बताउँछन् । ‘जोगाउनुपर्ने निकाय नै मास्न लागेका छन्,’ उनी भन्छन्, ‘जनप्रतिनिधिको सक्कली अनुहार पनि देखियो ।’ वडाअध्यक्ष तिमल्सिना राजकुलो मास्नेलाई कारबाही गर्न माग आएमा आफू पछि नहट्ने बताउँछन् । ‘अहिलेसम्म कुरो आएको छैन,’ उनी भन्छन्, ‘कसैले निवेदन दियो भने कारबाही गर्ने मान्छे मै हुन्छु ।’

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?