कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

टिचिङमा हाडजोर्नीको नयाँ प्रविधि

फातिमा बानु

काठमाडौँ — महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा हाडजोर्नीको अत्याधुनिक सेवा भित्रिएको छ । नयाँ वार्ड अस्पतालभित्रको गणेशमान सिंह भवनमा राखिएको छ ।

टिचिङमा हाडजोर्नीको नयाँ प्रविधि

भवनमा तीन अत्याधुनिक मोडुलर र ६ हाई डेफिसेन्सी वार्ड छन् । यस्ता वार्डमा हुँदा शल्यक्रिया गरिएका बिरामी राख्ने विशेष सुविधा हुन्छ, लगभग आईसीयू स्तरकै ।

उपकरण र भौतिक संरचाना पनि उस्तै आधुनिक छ । डबल र सिंगल बेडसहित विशेष खाले क्याबिन सेवा पनि छन् । अस्पतालले नेपाल सरकारको पूर्ण अनुदानमा यस्तो वार्ड निर्माण गरेको हो । झन्डै तीन वर्ष लगाएर तयार पारिएको यो वार्ड ६ करोड रुपैयाँ लगानीमा बनेको अस्पतालमा वरिष्ठ मेडिकल अफिसर कुमार केसीले जानकारी दिए ।

उनले भने, ‘अब हाडजोर्नीसम्बन्धी बिरामीको अस्पताल बसाइ लम्बिँदैन, अत्याधिक चापका कारण शल्यक्रियाका लागि बिरामीले पालो पाउनै मुस्किल हुन्थ्यो ।’ यसअघि अत्यन्तै न्यून बेडबीच चलिरहेको हाडजोर्नी सेवा अब ७५ बेडसहित बिस्तार भएको छ । छुट्टै शल्यकक्ष पनि छ ।

हाडजोर्नी विभागका प्रमुख डा.अर्जुन लामिछाने भने, ‘जम्मा ३४ बेड र शल्यकक्ष पनि एउटै मात्र थियो, बिरामीको चाप थेग्नै गाह्रो थियो ।’ सीमित बेडका कारण बिरामीले समयमा उपचार नपाउने समस्या पनि उस्तै थियो, शल्यक्रियाका लागि महिनौं कुनुपर्ने बाध्यता पनि ।

बेड अभावका कारण अस्पतालले बिरामी निजी अस्पतालमा रिफर गर्दै आइरहेको थियो । अब भने यस्ता समस्या समाधान हुने अस्पतालका उपप्रशासक चन्द्रमणि भण्डारीले बताए । उनले भने, ‘मुख्यत: भूकम्पजस्तो विपत्मा बेडको धेरै समस्या भोगियो, हामीले अस्पताल पेटीमा राखेर बिरामीको उपचार गरेका थियौं ।’ बिस्तारित वार्डमा पर्याप्त आईसीयू बेडलगायत आधुनिक प्रविधिको सेवा राखिएको उनले बताए । उनले थपे, ‘सेवा अत्याधुनिक भए पनि बिरामीले तिर्नुपर्ने उपचार खर्चमा फेरबदल हुँदैन, पहिलेकै जस्तो हुन्छ ।’ शल्यकक्षसहितको नयाँ वार्ड बनेपछि पुरानो हाडजोर्नी विभाग खाली भएको छ । उक्त वार्ड अब अरू खाले बिरामीको उपचारका लागि प्रयोगमा ल्याइने अस्पतालका निर्देशक डा. दीपकप्रकाश महराले बताए ।

उनले भने, ‘हाडजोर्नीको नयाँ सेवा सञ्चालन भएपछि यसले अरू वार्डलाई पनि फाइदा पुगेको छ, मुख्यत: आकस्मिक कक्षको एउटै बेडमा तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने समस्या समाधान हुन्छ होला ।’ तयारी अवस्थामा राखिएको वार्ड अर्को सातादेखि मात्रै सञ्चालन गरिने अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक तीन हजारको हाराहारीमा आउने बिरामीको चापमध्ये पाँच सय बिरामी हाडजोर्नीसम्बन्धीकै हुने गरेका छन् ।

बढ्दो चापलाई व्यवस्थापन गर्न नयाँ वार्डको भूमिका मुख्य हुने डा. महराले बताए । सेवा विस्तार भएसँगै त्यसमा खपत गर्न थप जनशक्तिको चाहिने विभागीय प्रमुख डा. लामिछाने बताउँछन् । अस्पतालले वार्डका लागि जनशक्ति व्यवस्थापन गर्ने जनाएको छ । यससँगै अस्पतालले चाँडै कलेजो प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याउने निर्देशक डा. महराले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २२, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?