३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बटुक भैरवमा डोजर

दामोदर न्यौपाने

काठमाडौँ — लगनखेलस्थित बटुक भैरवको मन्दिरको ठिक अगाडि पर्छ नेपाली सेनाले चलाएको पेट्रोलपम्प । सडक विस्तार गर्ने क्रममा यो पम्पलाई जोगाएर यसको ठिक अगाडिको बटुक भैरवलाई भने मास्ने योजना बनाएको छ सरकारले ।

बटुक भैरवमा डोजर

सातदोबाटोबाट लखनखेल जाने सडक विस्तार गर्ने योजना काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाएको छ ।

यही सडक विस्तार गर्ने क्रममा प्रहरी तैनाथ गरेर मन्दिरको कम्पाउन्डमा डोजर लगाइएको छ । स्थानीयवासी विरोधमा उत्रिएपछि डोजर लगाउन रोकिएको छ । ‘हामीलाई झुक्याएर मन्दिरमा डोजर चलाइयो,’ स्थानीयवासी सुवर्ण मानन्धर भन्छन्, ‘कुन बेला राति आएर मन्दिर भत्काइदेलान् भन्ने त्रास छ ।’

स्थानीयवासीले मन्दिर जोगाउन ४ वर्षदेखि प्रयास गरिरहेको जनाएका छन् । सडक विस्तार गर्ने योजना सार्वजनिक भएदेखि नै मन्दिर जोगाउन विभिन्न निकायमा धाएको स्थानीयवासी विनोद रञ्जितकारले बताए । ‘यसलाई जोगाइदिन माग राख्दै उपत्यका विकास प्राधिकरण, सडक विभाग, पुरातत्त्व विभाग, महानगरपालिका लगायत निकाय धायौं,’ रञ्जितकार भन्छन्, ‘तर सुनुवाइ भएन । हामीलाई झुक्याएर डोजर चलाइयो ।’

सम्पदामा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । त्यसक्रममा झडप समेत भएको थियो । वटुक भैरव उपत्यकाको मुख्य शक्तिपीठ मध्येमा पर्छ । भैरवलाई सुरक्षाको प्रतीकका रूपमा पूजा गरिन्छ । यहाँ दैनिक पूजा हुने गरेको छ । भैरवको पूजा गर्न कीर्तिपुर, भक्तपुर लगायत देशका विभिन्न ठाउँबाट आउने गर्छन् ।

‘यो निकै प्राचीन मन्दिर हो,’ मानन्धर भन्छन्, ‘भैरवलाई खासगरी व्यापारी परिवारले बढी महत्त्व दिन्छन् ।’ मन्दिर जोगाइदिन स्थानीयवासीले ललितपुर महानगरपालिकासँग पनि माग गरेका छन् । स्थानीयवासी, सम्पदाप्रेमी लगायतको र्‍यालीसहित मेयरलाई ज्ञापन बुझाउन गएका थिए ।

महानगरका मेयर चिरिबाबु महर्जनले मन्दिरमा डोजर लगाउने कामबारे आफूलाई थाहा नभएको बताए । ‘हामीलाई यो सडक विस्तारबारे थाहा दिइएको छैन,’ महर्जनले भने, ‘ठूला सडक केन्द्रीय सरकारले हेर्छ । यो हाम्रो मातहतको सडक होइन । सम्पदामा डोजर लगाउन चाहिँ हामी दिँदैनौं । सांस्कृतिक सम्पदा हाम्रो पहिलो प्राथमिकता हो ।’ भैरवको नामको जग्गा सेनाले यसअघि पनि लिएको थियो । सेनाले २०३४ सालमा पेट्रोलपम्प बनाएको हो ।

त्यही बनाउने क्रममा बटुक भैरवको गुठीको नाममा भएको जग्गा लियो । त्यही मन्दिरको जग्गाको बीचबाट सातदोबाटो हुँदै लगनखेल जाने सडक बनाइएको थियो । ‘पेट्रोल पम्प सारिदिए भइगो नि सडक चौडा चाहिएको हो भने,’ मानन्धर भन्छन्, ‘पेट्रोल पम्पचाहिँ छुन नहुने अनि हाम्रो आस्था केन्द्रमा चाहिँ डोजर चलाउनु पर्ने ? हामीलाई प्रहरी परिचालन गरेर आतंकित बनाउनुपर्ने ?’

प्रकाशित : जेष्ठ २८, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?