कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एकीकृत बस्तीले खुसी थपिँदै

अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — भूकम्पलगत्तै आएको पहिरोले थलिएकी हेलम्बु गाउँपालिका तेम्बाथानकी ७० वर्षीया संगिला ह्योल्मोको अनुहारमा खुसी छाएको छ । भूकम्पपछिका २ वर्ष भौतारिँदै त्रासमा बिताएकी ह्योल्मोले आफ्नै पुरानो संस्कृतिले भरिएको सुरक्षित घर पाउने भएपछि सबै पीडा भुलेकी हुन् ।

एकीकृत बस्तीले खुसी थपिँदै

‘बाँचेपछि सबैकुरा देख्न पाइँदोरहेछ,’ तेम्बाथानमा बनिरहेको आवास संरचना हेर्दै उनले उत्साह पोखिन्, ‘यस्तै बिजोगमा मरिएला भन्ने चिन्ता लागेको थियो, अब सुबिस्ताले बाँचिने भयो ।’ तेम्बाथानमा एकीकृत बस्ती बन्न थालेपछि निकै खुसी लागेको बताइन् ।

आफ्नो संस्कृति झल्कने एकीकृत बस्ती निर्माण हुने भएपछि ह्योल्मो परिवारमा उज्यालो छाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘प्राचीन ह्योल्मो कला र संस्कृतिअनुसार एकीकृत बस्ती पाउने भएपछि स्थानीय उत्साहित छन्,’ उनले भने । गाउँपालिकाको पहलमा ह्योल्मो संस्कृति झल्कने झ्याल ढोका बनाउने तालिम दिएको उनले सुनाए । ‘अहिले यही ह्योल्मो संस्कृतिलाई उकास्न जनहित र अक्सफामले तालिम दिइरहेको छ,’ उनले भने ।

पर्यटकीय क्षेत्र हेलम्बु तेम्बाथानमा अक्सफामको आर्थिक र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा नमुना एकीकृत बस्ती बनिरहेको हो । ‘४० घरको डीपीसी, १० को झ्यालसम्मको संरचना र ३ वटामा ह्योल्मो संस्कृति झल्कने झ्यालढोका राखेर पर्खाल लगाउने काम भइरहेको छ,’ जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले भने, ‘बस्तीमा बन्ने प्रत्येक घरको ढोका र झ्यालमा ह्योल्मो संस्कृतिको बुट्टा र कला कुँदेर बनाइएको छ ।’ उनले घरबाहेकका सामुदायिक भवन, तथा पूजा गर्ने मन्दिरसमेत निर्माण गरिने जनाए ।

तेम्बाथानका वडाध्यक्ष सांगे लामाले सडक, धारादेखि सामुदायिक भवन स्थानीयकै अनुदानले बनाइने बताए । जसमा एकीकृत बस्तीभित्र बनाइने सबै घरहरू समुदायको ‘मर्चेगुम्बा’ शैलीको हुने उनले जनाए । बस्तीका लागि मेसिनबाट ‘इससिबी’ इन्टरलक इँटा प्रयोगमा ल्याइएको छ ।

बस्ती वरिपरि परम्परागत संस्कृति चिनाउने बालबगैंचा, ढुंगे बाटोजस्ता विभिन्न भौतिक संरचनाले सिँगारिने योजना छ । पर्यटकीय आकर्षणका लागि पुराना मन्दिर, गुम्बा, गुफाको कलाकौशल झल्कने धार्मिक संरचना बनाइनेछ । सामुदायिक भवनको वरिपरि बौद्ध धर्मका संज्ञा बोधी, रिन्पोछे लगायतका धार्मिक महत्त्व बोकेका देवमूर्ति स्थापना गरिने जनाइएको छ । ‘हामी आफै जुटेर पनि यो नमुना कार्य पूरा गर्छौं,’ लामाले भने ।

प्रकाशित : जेष्ठ २८, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?