बगरमा फस्टाउँदै मकै

नदी किनार हडप्न स्थानीयको होडबाजी िबर्सेनि उत्पादन बढ्दै ि२ दशकदेखि बगरमा खेती
बगरको खेतीले जीवनस्तर फेरियो
प्रताप बिष्ट, राजकुमार कार्की

धादिङ / सिन्धुली — मकवानपुरका कृषकका लागि वाग्मती नदी किनार हिउँदमा वरदान साबित हुने गरेको छ । वर्षायाममा थामिनसक्ने गरी उर्लेर आउने नदी किनार हिउँदमा मकैको बोटले हराभरा हुने गर्छ ।

वाग्मती गाउँपालिकाको फापरबारीस्थित झुरझुरे नजिकै नदी बगरमा लगाइएको मकै । तस्बिर : प्रताप

वर्षायाममा किनार नै ढाक्ने गरी नदी बगेको देख्नेहरू अहिले मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिकामा पुगे भने मकै फलेको देखेर छक्क पर्छन् । अहिले धमाधम मकै भित्र्याउन भ्याइनभ्याइ छ । ठूला–ठूला ढुंगा भएको बगरमा छरेको मकैको उत्पादनले यहाँका बासिन्दाले परिवारको पेट पाल्दै आएका छन् । मन्थली, बेतिनी, फापरबारी र राईगाउँका बासिन्दाले वाग्मती खोलाको बगरमा हिउँदमा मकै उत्पादन गर्छन् । वर्षायाममा खोलाले सबै बगर ढाकेर, बस्ती र जमिनलाई क्षति पुर्‍याउने गर्छ । तर खोलाको पानी घटेसँगै हिउँदमा सयौं कृषकले उन्नत जातको मकैको बीउ छर्ने गर्छन् ।

हातले पन्छाउन नसक्ने ढुंगा बगरमा हुन्छन् । तर त्यही बगर स्थानीयले खनजोत गर्दैनन्, मल पनि हाल्दैनन् । तर मकैको उत्पादन खेतबारीको भन्दा दोब्बर हुने गरेको राईगाउँका शुक्रमान राईले बताए । उनका अनुसार बगरमा फलेको उत्पादनले गाउँका अधिकांशले गुजारा चलाउने गर्छन् ।’

Yamaha

वाग्मती नदी किनारको बगर हडप्न स्थानीयबीच तीव्र प्रतिस्पर्धा छ । बगर आफ्नो कब्जामा लिएर मकै छर्न झगडा हुने गरेको लम्कनाका बलबहादुर राना मगरले बताए । उनले करिब २ बिघामा फैलिएको बगरमा मकै छरेका थिए ।

मकवानपुरको मन्थलीदेखि राईगाउँसम्म फैलिएको वाग्मती किनारको बगर हरियालीमा परिणत हुने गरेको हो । वाग्मती गाउँपालिकाको फापरबारीका तिलक माझी नदी किनारको बगरमा मकै लगाएर उत्पादन गर्ने पहिलो कृषक हुन् । सुरुमा उनले बगरमा मकै छर्दा गाउँलेले तिलक बौलायो भनेर हासोमा उडाएका थिए । तर उनले मकै फलाएपछि सबै दंगमात्र परेनन्, उनको सिको गर्न थालेको स्थानीयवासी बुद्धबहादुर भोम्जनले बताए । २ दशकअघिदेखि ४९ वर्षे तिलकले हेटौंडाबाट उन्नत जातको मकैको बीउ ल्याएर बगरमा छर्न थालेका थिए । पहिलो वर्ष उनले करिब ४ कठ्ठामा फैलिएको बगरमा मकै छरेका थिए । उत्पादन राम्रो हुन थालेपछि बगरको क्षेत्र विस्तार गर्दै मकै छर्न थालेको बताए । माझीले बगरमा उत्पादन भएको मकैको आम्दानीले परिवारमात्र पालेका छैनन्, वार्षिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बचत गर्न सक्ने भएका छन् ।

बेतिनीको सिक्रेदेखि राईगाउँको भीमादसम्मको करिब ३५ किलोमिटर लामो नदी किनारको वगरमा मकै खेती गरिन्छ । असोजदेखि जेठसम्म बगरमा कृषकले २ बाली मकै लगाउने गर्छन् । असारदेखि भदौको अन्तिमसम्म वाग्मती नदीले बगर ढाक्ने गर्छ । बगरमा उत्पादन भएको मकैले फापरबारी, राईगाउँ, मन्थली र बेतिनीका बासिन्दाको अनिकालमात्र टारेको छैन, उनीहरूको आर्थिक जीवनस्तरमा पनि परिवर्तन ल्याउन मद्दत गरेको वाग्मती गाउँपालिका अध्यक्ष सकेश घलानले बताए ।

यसैगरी सिन्धुली हरिहरपुरगढीका दिलबहादुर घलानको घरमा अहिले मकै अटाइनअटाइ छ । घरका परिवार मकैका घोगा नंग्याउनमा व्यस्त छन् । उनले ३० मुरी मकै बेच्ने लक्ष्य समेत राखेका छन् । ७ वर्ष अघिसम्म मरुभूमि जस्तै रहेको वाग्मतीको बगर बिराएर खेती सुरु गरेपछि उनी अहिले अन्नका धनी बनेका छन् । वाग्मतीमा बाढी आउने डरले यहाँका कृषकहरू जेठ महिनाभित्रै मकैबाली भित्र्याउने गरी छर्ने गर्छन् ।

घलानको १५ जनाको परिवार वाग्मती नदीको बगरमा उब्जिएको अन्नबालीबाट नै पालिएका छन् । करिब एक बिघा बगरमा आफूले खेती गरेको र बगरको उब्जनीबाट खाइनसकेको धान, मकै बेच्दै आएको घलानले बताए । सिन्धुली र मकवानपुर जिल्लाको सीमाबाट बग्ने वाग्मती नदीको बगरलाई हरिहरपुरगढीका विपन्न परिवारले मेहनत र परिश्रम गरी सुन जस्तै महँगो उर्वर जमिनमा परिणत गरी गुजाराको दरिलो माध्यम बनाएका छन् । ‘चिसापानी डाँडाबाट झरेर खोरिया फाँडी बसेका थियौं,’ अतीतको स्मरण गर्दै कृषक घलानले भने, ‘फाँडेको खोरियामा गरेको जुनेलो खेतीबाट बल्ल तल्ल ५/६ महिना गुजारा चल्थ्यो, वाग्मतीको बगरमा अन्न उब्जनी हुने कसैलाई ख्याल नै थिएन, अहिले बगरमा खेती गर्न थालेपछि परिवारको आर्थिक अवस्थामा समेत निकै सुधार आएको छ ।’

वाग्मतीको बगर ऐलानी जग्गा भए पनि राम्रो उब्जनी हुने भएकाले सबैले आँखा गाडेको स्थानीय कृषकहरू बताउँछन् । बगर बिराएरै खेती गरी मनग्गे अन्न उब्जनी गर्ने अर्का कृषक गणेशबहादुर घलान अहिले वाग्मतीको बगरमा चार सयभन्दा बढी परिवारले करिब एक हजार हेक्टर ओगटेर खेती गरेको बताउँछन् ।

१६ जनाको परिवार बगरकै उब्जनीले पालिएको बताउँदै गणेशबहादुर भन्छन्, ‘बगर नभए हाम्रो गाँस नै छैन, मकैमात्रै वर्षको २०/२५ मुरी जति बेच्छु ।’ बगरको खेतीबाट अधिकांश तामाङ र माझी समुदायका परिवार लाभान्वित भएका छन् ।

गुजाराको दरिलो माध्यम भए पनि वाग्मतीमा आउने बाढीका कारण भने उनीहरूले दु:ख पाउने गरेका छन् । वाग्मती किनारमा ५ वर्ष पहिले निर्माण गरिएको तटबन्ध विभिन्न स्थानमा भत्किएकाले बगरमा गरेको खेती असुरक्षित बनेको छ । कृषकहरूले बगरमा धान खेती लगाउने तयारी थाले पनि नदीमा पानीको सतह बढ्दै जाँदा चिन्ता बढ्ने गरेको उनीहरूको भनाइ छ ।

३ वर्षअघि मकवानपुर जिल्लाको फापरबारी माथिल्लो डाँफेमा तटबन्ध निर्माण गरी नदी नियन्त्रणको काम भएकाले त्यसबाट सिन्धुली जिल्लास्थित उक्त बगरको खेती असुरक्षित भई दुवै जिल्लाका बासिन्दाबीच विवाद समेत सिर्जना भएको थियो ।

केन्द्रीय योजनाबाट तटबन्ध गरेर संरक्षित बगर जोगाउन सके वाग्मतीको बगर उर्वर भूमि बन्ने अर्का स्थानीय चित्रबहादुर योन्जनको दाबी छ । राजधानीदेखिको मलिलो लेदो आएर बगरमा पस्ने भएकाले बर्सेनि उत्पादन बढ्दै गएको अनुमान छ । गाउँपालिकाका अध्यक्ष कारसाङ लामा नदी नियन्त्रण गरी खेतीयोग्य जमिनलाई संरक्षण गरिने बताउँछन् ।

Esewa Pasal

प्रकाशित : जेष्ठ २८, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

गिट्टी–बालुवाको कर मिनाहामा चलखेल

हरिहरसिंह राठौर

धादिङ — विगत ४ आर्थिक वर्षदेखि धादिङबाट निकासी गरिने गिट्टी बालुवाको कर संकलन गर्ने ठेकेदार सुदिपा ट्रेडिङ कम्पनीले जिल्ला समन्वय समितिलाई २ करोड ७५ लाख रकम तिर्नु नपर्ने भएको छ ।

धादिङबाट काठमाडौं लैजान ट्रकमा बालुवा लोड गरिँदै । तस्बिर : हरिहरसिंह

विभिन्न समयमा राजमार्ग बन्द, हडताल र ४५ दिने नाकाबन्दीमा वालुवा तथा गिट्टी जिल्लाबाट निकासी नभएकोले रकम मिनाहा गरिनुपर्ने मागसहित ठेकेदार रामहिरा पाठकले धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको फैसला गर्दै न्यायाधीश उमेश कोइरालाको इजलासले उक्त रकम तिर्नुनपर्ने फैसला गरेको हो । पाठकले विगतका ३ आर्थिक वर्षमा बन्द हडताल र भारतीय नाकाबन्दीले इन्धन अभावका कारण निकासी ठप्प भएकोले बोल कबोल बमोजिमको निकासी करमा ५ करोड मिनाहा हुनुपर्ने दाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । पाठकले आर्थिक वर्ष २०७०/०७१ मा १० दिन, ०७१/०७२ मा १४ दिन र आव २०७२/७३ मा भएको भारतीय नाकाबन्दीमा इन्धन अभावले ४५ दिन नै निकासी ठप्प भएको झूटो दाबी पेस गरेका थिए ।

कम्पनीले नौबिसेस्थित टायलघरमा कर संकलन पोस्ट खडा गरी निकासी हुने करिब ७ सय ट्रिपरबाट प्रतिखेप २ हजार २ सय ३० का दरले हरेक दिन सरदर १५ लाख ६१ हजार रकम संकलन गर्ने गरेको थियो । जिल्ला विकास समितिलाई बर्सेनि बुझाउनुपर्ने रकम भन्दा दोब्वर तेब्बर रकम फाइदा हुने भएपछि एउटै ठेकेदारलाई लगातार निकासी कर उठाउने ठेक्का दिइएको स्थानीयको दाबी छ ।

जिल्ला विकास समितिले जिल्लाबाट हुने गिट्टी बालुवामा लगाइने कर संकलनमा व्यापक अनियमितता भएपछि तत्कालीन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाले आर्थिक वर्ष २०७१/०७२ देखि एकमुष्ठ १६ करोड रुपैयाँमा टेन्डर आह्वान गरेर स्थानीय निकायको आन्तरिक आयश्रोत बढाउने निर्णय गरेका थिए ।

सोही आर्थिक वर्षमा आह्वान गरिएको टेन्डरपत्रमा उक्त कम्पनीले १६ करोड रकम कर संकलन गरी तत्कालीन जिविसलाई बुझाउने कबुल गरेको थियो । तत्कालीन जिल्ला विकास समितिसँगको मिलोमतोमै उक्त आर्थिक वर्षदेखि निकासी कर संकलन गर्ने लगातार ठेक्का लिएको कम्पनीले गत आर्थिक वर्षमा १९ करोड र चालु आर्थिक वर्षमा २१ करोड रकम जिल्ला समन्वय समितिलाई बुझाउने गरी ठेक्का लिएको थियो ।

कर मिनाहा गराउने मुद्दामा व्यापक चलखेल भएको हुन सक्ने जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताए । कुनै पनि बन्द हडतालमा निकासी नरोकिएको, दिनभर बन्द भए पनि रातभर निकासी भएको दाबी जिल्ला समन्वय समितिको छ । भारतीय नाकाबन्दीको बेला पनि अधिकांश बालुवा व्यवसायी र ढुवानीकर्ताको राजमार्गमा आ–आफ्नै पेट्रोलपम्प भएकाले इन्धन अभावले कहिले पनि गिट्टी बालुवा नरोकिएको नेपालको दाबी छ । उनले बरु नाकाबन्दीको निहुँमा उल्टै बालुवा गिट्टी व्यापारीले मूल्यवृद्धि गरेको संयोजक नेपालले बताए ।

बर्सेनि संकलन हुने करोडौं रकमको ६० प्रतिशत रकम तत्कालीन जिल्ला विकास समतिले राजमार्ग छेउका स्थान र र बाँकी रकम अन्य विकास निर्माणमा खर्च गर्ने गरेको थियो । फैसलाको पूर्णपाठ प्राप्त हुनासाथ त्यसविरुद्ध पुनरावेदन गरिने जिल्ला समन्वय समिति स्रोतले बताएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT