२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जापानीले निरीक्षण गरे बिग्रेको जेनेरेटर

आयोजना प्रमुख र प्राधिकरणलाई प्रतिवेदन बुझाइयो
कुलेखानी दोस्रोको १६ मेगावाट विद्युत् उत्पादन बन्द
प्रताप विष्ट

हेटौंडा — विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रुपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको १० दिनदेखि बिग्रेको जेनेरेटरको जापानका प्राविधिकहरूले निरीक्षण गरेर बुधबार प्रतिवेदन दिएका छन् ।

जापानीले निरीक्षण गरे बिग्रेको जेनेरेटर

फुजी इलेक्ट्रिक कम्पनी जापानका चार प्राविधिकहरू आएर कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको युनिट २ को बिग्रेको जेनेरेटरका सबै पाटपुर्जाको मंगलबार निरीक्षण गरेर बुधबार कुलेखानी दोस्रोका प्रमुख र नेपाल विद्युत् प्राधिकरण काठमाडौंलाई प्रतिवेदन बुझाएका हुन् । जापानिज प्राविधिकहरू आफैं मर्मतसम्भार गर्न इच्छुक देखिएका छन् ।

जापानको उक्त कम्पनीले नै कुलेखानी पहिलो र दोस्रोको जेनेरेटर जडान गरेको थियो । विगतमा मर्मतसम्भार पनि उनीहरूले नै गरेका थिए । प्राधिकरणसँग सहमति भएपछि जापानी प्राविधिकले नै मर्मत गर्नेछन् । कुलेखानी दोस्रोको युनिट–२ को रोटरमा भएको ‘स्टपर रिङ’ भाँचिएकाले जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि जेठ २१ गतेदेखि १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

प्राविधिकहरूले स्टपर रिङ र स्टेटर वाइन्डिङ फेरे मात्र जेनेरेटर सञ्चालनमा ल्याउन सकिने जनाए । ‘उनीहरूले मंगलबार दिनभर लगाएर सबै पाटपुर्जा निरीक्षण गरे,’ कुलेखानी दोस्रोका प्रमुख आभास ओझाले भने, ‘बुधबार रिपोर्ट दिएका छन् ।’ माथिल्लो निकायले प्रतिवेदन अध्ययन गरेर, जापानिज प्राविधिकसँग कोटेसन लिएपछि मर्मतको कुरा टुंगिने प्राधिकरणका एक वरिष्ठ प्राविधिकले बताए ।

कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा जेनेरेटर बिग्रेपछि कुलेखानी पहिलोको पनि एउटा मात्र जेनेटर सञ्चालन गरिएको छ । कुलेखानी पहिलोको २ वटा जेनेटर संचालन गर्दा एउटाको पानी खेर जाने भएकाले एउटा मात्र जेनेटर सञ्चालन गरिएको हो । प्राविधिकहरूले चार दिन लगाएर बिग्रेको जेनेटर खोलेका थिए ।

कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ । अहिले दुवै विद्युत् गृहका एउटा/एउटामात्र टर्वाइन सञ्चालनमा हुँदा ४६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत् गृह सञ्चालन हुन्छ । दोस्रोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीवाट तेस्रो कुलेखानी विद्युत् गृहबाट १४मेगावाट विद्युत् निस्कन्छ । कुलेखानी ३ निर्माणाधीन अवस्थामा छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुइटा र दोस्रोमा १६/१६ मेगावाटका दुइटा टर्वाइन जडान गरिएका छन् ।

खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदा पनि खासै समस्या नभएको प्राधिकरणका एक प्राविधिकले बताए । कुलेखानी २ को जेनेरेटर बिग्रेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठ २१ गते स्थलगत निरीक्षण गरी छिटो मर्मत गर्न निर्देशन दिएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?