कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

ढिलासुस्तीले लागत दोब्बर

कुलेखानी–३ जलविद्युत् आयोजना
प्रताप विष्ट

हेटौंडा — इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारण कुलेखानी–३ को निर्माण कार्य अनिश्चित बनेको छ । उक्त कार्यको चिनियाँ कम्पनी चीनको जिज्याङले ठेक्का पाएको थियो ।

ढिलासुस्तीले लागत दोब्बर

चीनकै सिनो हाइड्रो कम्पनीले ठेक्का लिएको सिभिल वर्कको निर्माण कार्य सम्पन्न भइसके पनि २ रोटर जडान गर्नुपर्ने र टावर निर्माण गर्नुपर्ने लगायतका काम अझै बाँकी छन् ।

सिनो हाइड्रोले ३ महिनाअघि नै आफ्नो काम सम्पन्न गरेर पत्र बुझिसकेको छ । इलेक्ट्रोमेकानिकलको निर्माण कार्य अत्यन्त सुस्त छ । केही दिन अघिसम्म ३ चिनियाँ र २० नेपालीले काम गरे पनि प्रगति सुस्त छ ।

१५ दिनपछि आउने भनेर ३ चिनियाँ मंगलबार आफ्नो देश फर्किसके । ‘इलेक्ट्रोमेकानिकलको काम कछुवा गतिमा छ,’ आयोजनाका एक प्राविधिकले भने, ‘यही तालले काम भयो भने सन् २०१८ मा पनि सम्पन्न हुँदैन ।’ ७ वर्षअघि नै सम्पन्न गर्नुपर्ने उक्त आयोजनाको काम हालसम्म पनि अलपत्र छ । जिज्याङले हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न गरेको छ । ३ टावर निर्माण गर्नुपर्नेमा एउटा मात्र निर्माण भएको छ । ‘गेट निर्माण तथा तार टाँग्ने कार्य सुरु भएकै छैन,’ आयोजनाका एक अधिकृतले भने, ‘तीव्र गतिमा काम गरियो भने कम्तीमा ६ महिना लाग्छ, यस्तै तरिकाले एक वर्षमा पनि सकिने ठेगान छैन ।’

नेपाल विद्युत् प्राधिकरणले सिभिल वर्कको जिम्मा लिएको ठेकेदार कम्पनीलाई चैत १ गतेसम्म म्याद थप गरेको थियो । उक्त कम्पनीले आफ्नो जिम्माको काम सकेर फर्किसकेको छ । ‘सरकारले चिनियाँ सरकारमार्फत ठेकेदार कम्पनीका अधिकारीलाई झिकाएर दबाब दिनुपर्छ अनि मात्र यहाँ काम हुन्छ,’ प्राधिकरणका एक अधिकृतले भने, हुलासका मानिसबाट यहाँ काम हुँदैन ।’ चिनियाँ ठेकेदार कम्पनीले हुलासलाई जिम्मा दिएको छ । विद्युत् गृहमा जडान गर्ने उपकरणहरू निर्माणस्थलमा आइसकेका छन् तर जडानको काम भने हुन सकेको छैन । ढिलाइका कारण आयोजनाको लागत र समय बढेको छ । करिब ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । २०६४ चैतदेखि काम सुरु गरिएको आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । पटक/पटकको म्याद थपसँगै लागत पनि झन्डै २ अर्ब बढ्ने अनुमान गरिएको छ । कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात् प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले लागत बढेर ४ अर्ब ६३ करोड अर्थात् प्रतिमेगावाट ३३ करोड रुपैयाँ पुगेको छ ।

अझ यो लागत बढ्ने निश्चितजस्तै छ । ४४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना ११ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । निजी क्षेत्रबाट मकवानपुरको इपापञ्चकन्या निर्माणाधीन जलविद्युत् आयोजना भने तोकिएको समयभन्दा पनि ९ महिनाअघि नै सम्पन्न हुँदै छ । आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै छ । ४ अर्ब लागतमा निर्माण सम्पन्न हुने आयोजनाको प्रतिमेगावाट लागत १८ करोड छ । आयोजनाले जिज्याङ कम्पनीलाई हर्जना पनि तिराइसकेको छ ।

हर्जाना तिराइसकेकाले उसलाई काम सम्पन्न गर्न समय थप्नु पर्दैन । हर्जाना तिराउँदै छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्ने वा ठेक्का खारेज गर्नेबाहेक अन्य विकल्प प्राधिकरणसँग छैन । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो । वार्षिक सरदर ४० दशमलब ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको आयोजनामा हालसम्म करिब ४ अर्ब खर्च भइसकेको छ ।

प्रकाशित : असार १, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?