रंगाउने हो कि खाली भित्ता ?

ओपन ग्यालरी मानिने स्ट्रिट आर्ट (म्युरल र ग्राफिटी) ले सहरको सौन्दर्य मात्र बढाउँदैन, कला प्रदर्शनी, संस्कृति संरक्षण र आर्थिक उपार्जनका अवसर एकैचोटि जुटाउँछ
मधु शाही

काठमाडौँ — तपाईंका घरका भित्ता या पर्खाल रित्तै छन् ? छन् भने तिनलाई कलात्मक बनाएर सजाउन सकिन्छ । त्यस्तो कलालाई ‘म्युरल आर्ट’ भनिन्छ । अचेल सहरका निजी घर, रेस्टुरेन्ट, बिजनेस हाउसका भित्ता एवं पर्खाल विभिन्न म्युरल आर्ट गरेर मनमोहक बनाउने चलन बढ्दो छ ।

रंगाउने हो कि खाली भित्ता ?

कलाकार रूपकराज सुनुवार मंगलबार जाउलाखेलस्थित इन्डेक्स फर्निचरको भित्ता रंगाउँदै थिए । धेरै समयदेखि त्यो भित्ता रित्तै थियो । आउँदा–जाँदा त्यही बाटो हिँड्ने रूपकलाई खाली ठाउँ देख्दा चित्तै बुझेन । उनले कम्पनीसँग सल्लाह गरे र आफ्नै डिजाइनमा ‘वाल पेन्टिङ’ थाले । उनीसँग दुई साथी पनि यो कलाकर्ममा जुटेका छन् । रूपकसँग ४ वर्षदेखि निरन्तर कलाको अनभुव छ । भित्ता सजाउनु खुला ग्यालरी बनाउनुजस्तै लाग्छ उनलाई ।

रूपकले भित्तामा रङ मात्र पोतेका छैनन्, हरियो रङको आकृति र ‘स्माइल’ अक्षर पनि लेखेका छन् । हरियो रङले ऊर्जाशील भाव प्रतिविम्बित गर्छ । रूपक ऊर्जा र मुस्कानलाई आधुनिक समयले भुल्दै गएको बताउँछन् । यसैलाई सम्झाउन पनि म्युरल आर्टमा ‘स्माइल विथ ग्रिन’ भाव समेटेको उनले सुनाए । ‘म्युरल’ र ‘ग्राफिटी’ दुवै स्ट्रिट आर्टअन्तर्गत पर्छन् । ग्राफिटीमा अक्षर लेखन बढी हुन्छ । जुन स्प्रेका माध्यमबाट गरिन्छ । म्युरलमा रङ र आकृति हुने रूपकले सुनाए । उनका अनुसार म्युरल आर्ट खुला क्यानभास हो । यहाँ भन्न खोजिएका कुरा थुप्रै दर्शकले सजिलै हेर्न र महसुस गर्न सक्छन् । ‘त्यो पनि नि:शुल्क,’ उनी भन्छन्, ‘यसलाई खुला कला प्रदर्शनीभन्दा फरक नपर्ला ।’

हालै महाराजगन्जस्थित कान्ति बाल अस्पताल पुग्नेले केही फरक दृश्य देख्न पाउँछन् । बिरामी कुर्न बस्ने भवनको भित्ता अचेल रंगीन बनेको छ । सिद्धार्थ आर्ट फाउन्डेसनको प्रोजेक्टअन्तर्गत रहेर कलाकारले अस्पतालका भित्तामा म्युरल आर्ट कोरका हुन् । ‘भित्तामा बनेका जनावरका आकृति देखेर बालबालिका रमाइलो मान्छन् र कतिले त केको चित्र होला भन्दै ठम्याउन खोज्छन्,’ प्रोग्राम कोडिनेटर सृष्टि शाक्यले भनिन्, ‘ओपन स्पेस आर्टको फाइदा यही नै हो ।’

किरण महर्जनले ७ वर्षदेखि म्युरल आर्ट गर्दै आएका छन् । कान्ति बाल अस्पतालको भित्ता रंगाउने काममा उनी पनि सहभागी छन् । सुरुमा ग्यालरीमा आफ्ना चित्र प्रदर्शन गर्न मुस्किल परेका दिन सम्झन्छन् उनी । मनभरिका सिर्जना कहाँ पोख्ने ? ग्यालरीलाई पैसा तिर्न गाह्रो र चित्र बिकाउन अझै मुस्किल । यी सबै झन्झटबाट मुक्त हुन उनले स्ट्रिट आर्ट रोजेको बताए ।

काठमाडौंदेखि पोखरा, वीरगन्ज, धरानमा उनले भित्ता रंग्याए । भारत, कम्बोडिया, डेनमार्कलगायत देशमा म्युरल आर्ट गर्न पुगेको अनुभव पनि उनीसँग छ । ‘म्युरल आर्ट गरी आम्दानी पनि हुन थालेको छ,’ उनले भने । मिथिला आर्ट कलाकार अजित साह भित्तामा बनाइने चित्र प्राचीन मिथिला सभ्यतासँग जोडिएको बताउँछन् । आधुनिक समयले क्यानभासको चलनचल्ती ल्याए पनि चित्रकलाको मुख्य थलो भनेकै भित्ता हो । उनले आफूले त्यही भित्तामा मिथिला चित्र बनाउँदै गरेका आमाहरूबाट कला सिकेको बताए । जनकपुरका अजितले भित्तेचित्रको मौलिक कला जीवन्त राख्न आवश्यक ठाने । त्यसैले उनले जनकपुर गएर केही बैंक र रेस्टुरेन्टमा मिथिला चित्रकला पोतेका छन् ।

‘मिथिला कला र संस्कृति हराउँदै छ,’ उनले भने, ‘यी मूल्य र मान्यता जीवित राख्न म्युरल आर्ट गरेको हुँ ।’ चित्र बनाउँदा अजितले त्यहींका महिला कलाकारको सीप र क्षमता झल्काउने प्रयास गरेका छन् । सत्या मिडिया आर्ट कलेक्टिभ नामक युवाको जमात विगत ७ वर्षदेखि म्युरल आर्ट र ग्राफिटीमा सक्रिय छ । १ वर्षअघि ‘कलर काठमाडौं’ थिममा उनीहरूले काठमाडौंका खाली भित्तामा कलाकृति बनाएका थिए । ७५ जिल्लाका संस्कृति झल्कने आकृतिहरू यहाँ पोतिएको थियो । त्यो कामपछि जनमानसमा म्युरल आर्टको महत्त्व र आकर्षण बढ्न थालेको सत्याका रविक उपाध्यायले सुनाए । ‘त्यो देखेर थुप्रैले चासो दिँदै सोध्न आउनुहुन्छ,’ उनी भन्छन्, ‘अचेल एनजीओ र आईएनजीओका जनचेतना जगाउने खालका आकृति बनाउन अर्डर आउन थालेको छ ।’

प्रकाशित : असार ३, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?