सञ्चार मन्त्रालय पुग्यो मस्यौदा

प्रेस काउन्सिल ऐन २०७५
शिल्पा कर्ण

काठमाडौँ — लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा उत्तीर्णले मात्र पत्रकारको ‘लाइसेन्स’ पाउने व्यवस्था प्रस्ताव गरिएको प्रेस काउन्सिल ऐन २०७५ को मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पुगेको छ ।

प्रेस काउन्सिल ऐन २०४८ लाई विस्थापित गर्ने ऐनको मस्यौदामा नेपाली र अंग्रेजी भाषामा परीक्षा लिइने उल्लेख छ । सरकारको हस्तक्षेपरहित समितिले वकिल तथा डाक्टरको झैं पत्रकारको पनि परीक्षा लिने र उत्तीर्ण भएको प्रमाणपत्र दिने व्यवस्था प्रस्ताव छ ।

मन्त्रालयकी सूचना अधिकारी संगीता ओझाले केही दिनअघि मात्र ऐन मन्त्रालयमा आइपुगेको बताउँदै भनिन्, ‘ऐनबारे कानुन शाखाले अध्ययन गरिरहेको छ ।’ २०७२ फागुनमा काउन्सिलले सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल गठन गरेको थियो । कार्यदलले २०७३ साउनमा काउन्सिललाई प्रतिवेदन बुझाएको थियो ।

व्यावसायिक पत्रकारिताका लागि कुनै योग्यता नतोकिएकाले दिन प्रतिदिन सञ्चारमाध्यमको गुणस्तर खुस्किँदै गएकाले उक्त नियमको आवश्यकता रहेको निष्कर्ष कार्यदलको थियो । पत्रकारिता र मिडिया व्यवस्थित रूपमा आचारसंहिताअनुरूप चलून् भन्ने उद्देश्यले ऐनमा यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

मस्यौदामा कम्तीमा २० वर्ष निरन्तर पत्रकारितामा लागेका पत्रकारलाई ‘वरिष्ठ पत्रकार’ मानिने उल्लेख छ । पुराना पत्रकारलाई अनुभवका आधारमा प्रमाणपत्र दिइनेछ भने नयाँलाई पत्रकार आचारसंहिताको तालिम तथा परीक्षा लिने व्यवस्था छ । नयाँ व्यवस्था लागू भए मान्यता प्राप्त शैक्षिक संस्थाबाट पत्रकारिता अध्ययन गरेका व्यक्तिले पत्रकारको ‘लाइसेन्स’ पाउन काउन्सिल परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिताका विषयमा ज्ञान नभईकन यस क्षेत्रमा छिर्ने र गलत सामग्री प्रकाशन प्रसारण गर्ने प्रवृत्ति बढेकाले यस किसिमको व्यवस्था आवश्यक रहेको बताए । ‘गलत समाचारले समाज, राष्ट्रलाई नकारात्मक असर परिरहेको हुन्छ,’ कार्कीले भने, ‘यस्ता घटना न्यूनीकरणका निम्ति यो व्यवस्था जरुरी छ । पत्रकारितासम्बन्धी सामान्य ज्ञान रहे/नरहेको जाँच्न परीक्षा लिइनेछ र त्यसैका आधारमा प्रमाणपत्र दिइनेछ ।’

पत्रकार महासंघले पनि पत्रकार वर्गीकरणको कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ । महासंघले छलफलका क्रममा काउन्सिलको संरचनामा फेरबदलदेखि पत्रपत्रिका वर्गीकरणमा पारदर्शिता, लोक कल्याणकारी विज्ञापनमा एकरूपताजस्ता सुझाव दिएको छ । महासंघका महासचिव रमेश विष्टले नयाँ ऐन समयसापेक्ष भएको टिप्पणी गरे ।

प्राय: अनलाइन मिडियाले आचारसंहिता उल्लंघन गरेका घटनामाझ आउन लागेको ऐनमा उनीहरूलाई पनि प्रकाशन/प्रसारण मिडियाझैं अधिकार दिनु सकारात्मक रहेको उनको भनाइ छ । ‘नयाँ ऐनमा अनलाइन मिडियालाई बढी जिम्मेवार बनाइएको छ । आचारसंहिता मिच्ने मिडियालाई कडा कारबाही गर्ने व्यवस्था छ,’ विष्टले भने ।

लामो समयदेखि लागेका पत्रकारलाई बढी र नयाँ आएकालाई कम ज्ञान हुन्छ भन्ने तर्क गरी पत्रकारको वर्गीकरण गर्नु उचित नहुने भन्दै आलोचना गर्ने पनि छन् । यसले पत्रकारको मनोबल घटाउने र राष्ट्रलाई गरेको योगदानभन्दा पनि पत्रकारिता गरेको समयलाई महत्त्व दिने भएकाले सही नहुने आवाज पनि उठ्ने गरेको छ ।

Yamaha

प्रकाशित : असार ३, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

लोपोन्मुख बन्दै खैंजडी भजन

प्रशान्त माली

देवीचौर (ललितपुर) — देवीचौरका ७६ वर्षीय कृष्णहरि तिमल्सिना पढ्नलेख्न जान्दैनन् । तैपनि उनलाई भागवत् कथा, कृष्ण चरित्र, रामायण र महाभारत कण्ठ छ । यसको कारण लोपोन्मुख बाजा खैंजडी लोक भजनभन्दा प्रायलाई पत्याउन गाह्रो पर्ला । वास्तविकता यही छ । भजनका गुरु तिमल्सिना भन्छन्, ‘पढाइ जानेर मात्र खैंजडी गाउन जानिँदैन ।

सबै देवीदेवताका कथा गीतमार्फत प्रस्तुत गर्न अभ्यास गर्नुपर्छ ।’ ‘२०१८ देखि गाउँदागाउँदै सिकियो,’ उनले भने । गोदावरी नगरपालिका–७ का उनी कुनै बेला समूह बनाएर खैंजडी प्रस्तुत गर्न काठमाडौं, भक्तपुर मात्र नभई काभ्रे, मकवानपुर, चितवनसम्म पुग्थे । धेरै सरकारी कार्यक्रममा पनि सहभागी भए । अहिले कहीं कतैबाट निम्तो छैन । गाउँमा पनि गाउन छाडे । बाजा बिस्तारै लोप हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

भन्छन्, ‘७ वर्षअघि पशुपति क्षेत्रमा खैंजडी प्रस्तुत गर्न जाँदा छुट्टै स्थान र सम्मान दिइन्थ्यो । अहिले त्यो पनि छैन ।’ रातोमाटेका ६४ वर्षीय गुरुप्रसाद घिमिरे कृष्णहरिका साथी हुन् । उनले स्कुलमा पाइला टेकेका छैनन् । खैंजडीकै कारणले विष्णुका दशअवतारबारेमा जानकार छन् । ‘५ वर्ष देखि चाडपर्वमा भजन हुन छोड्यो,’ घिमिरेले भने, ‘गाउँमा बाजा नहुँदा दियो निभे जस्तै भयो ।’

उनले बाजामा अनौठो शक्ति हुने बताए । ‘भजनकीर्तनले शरीरलाई आराम र जाँगर ल्याउँछ,’ उनले सम्झे, ‘साथीभाई भेटघाट हुँदा छुट्टै रमाइलो हुन्थ्यो ।’ लामीडाँडाका ५० वर्षीय अर्जुनप्रसाद घिमिरे भजन गाउन उनीहरूसँगै हिँड्ने गर्थे । ५८ वर्षीया सीता तिमल्सिना र ५५ वर्षीया हरिमाया घिमिरे भने भजनमा छत्र नृत्य प्रस्तुत गर्न सहभागी हुन्थे । ‘गाउँमा भजन जान्ने बित्दै गए ।

कोही बसाइँ सरे,’ सीता भन्छिन्, ‘युवापुस्ताले चासो नदिँदा पनि लोप हुने अवस्थामा पुगेको छ ।’ जिल्लाको दक्षिणी दुर्गम पहाडी भेग देवीचौरमा १० वर्षअघिसम्म प्रत्येक १५ दिनमा भजन हुन्थ्यो । अहिले शिवरात्रि, श्रीपञ्चमी, जनैपूर्णिमा जस्ता महान् चाडपर्वमा पनि हुन छोडेको स्थानीयवासी बताउँछन् ।

गाउँमा कहीँबाट भजन गाउन निमन्त्रणा आएमा हार्मोनियम, तबला र मुरली जोहो गर्न गाह्रो छ । गोदावरी नगरपालिका–७ का वडाध्यक्ष गिरिप्रसाद तिमल्सिनाले भजनसँग सम्बन्धित व्यक्तिहरूले प्रस्तावना लिएर आएमा सहयोग गर्न तयार रहेको बताए । ‘आगामी वर्षका लागि बजेट विनियोजन गर्न योजना तर्जुमा भइसकेको छ,’ उनले भने, ‘तैपनि उनीहरू आएमा बजेटमा सूचीकरण गर्न प्रयास गर्नेछु ।’ खैंजडी भजनमा प्रयोग हुने छालाको बाजा हो ।

प्रकाशित : असार ३, २०७५ ०८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT