कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सडक व्यवस्थापन फितलो

विद्या राई

काठमाडौँ — त्रिपुरेश्वरमा फुटपाथ र सडक अवरुद्ध हुने निर्माण सामग्री तथा फोहोर पदार्थ थुपारेको भन्दै काठमाडौं महानगरीय प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो । केही दिन अघिदेखि थुपारेको पदार्थ नहटाएपछि बुधबार ११ बजे उनीहरूलाई नियन्त्रणमा लिएको नगरप्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक विष्णु जोशीले बताए ।

सडक व्यवस्थापन फितलो

फोहोर पदार्थ एक ट्रिपरजति छ । उनीहरूलाई सोधपुछ गर्दा यसबारे थाहा नभएको बताए । जोशीले दुवैको भनाइलाई उद्धृत गर्दै भने, ‘दैनिक ज्यालामा काम गर्छौं, नयाँ काम पाएर आएका हौं, काम दिने मान्छेले यही भेट हुने फोन भनेको थियो, ऊ आइनपुग्दै नियन्त्रणमा लिनुभयो ।’

आफूहरूलाई काम दिने मान्छे को हो ? कार्यालयको ‘लोकेसन’ कता छ ? के–कस्तो नियम छ ? अनविज्ञ रहेको जवाफ दिएका थिए । प्रहरीले कसले थुपारेको, किन पन्छाएको छैन भन्ने सवालमा जिम्मेवार व्यक्ति पत्ता लाग्ने आकलनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पत्ता नलाग्ने भएपछि उनीहरूलाई छाडिदियो । फोहोर पदार्थ जस्ताको त्यस्तै थुप्रिएको छ ।

यसैगरी मंगलबार महानगरका सडकमा जथाभावी छोडिएका ३७ वटा चौपायालाई नियन्त्रणमा लियो । पेप्सीकोलादेखि सोल्टीमोड र एयरपोर्टदेखि लाजिम्पाटसम्मको सडकखण्डमा भेटिएका चौपाया महानगरीय प्रहरीले नियन्त्रणमा लिएको थियो । सडकहरू अवरोधरहित, स्वच्छ, स्वस्थ, सुन्दर राख्ने महानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार बाधक पक्षहरूलाई नियन्त्रणमा लिने गरेको छ । महानगरपालिकाको आदेशमा महानगरीय प्रहरीले स्थलगत रूपमा कारबाही गर्दै आएको छ ।

‘आयोजना, परियोजना, योजना, विभाग, व्यक्ति जोसुकै हुन सडक अवरुद्ध हुने गरी, सडकमा अवरोध आउने गतिविधि गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्दै आएका हौं, गर्दै छौं र गर्नेछौं,’ प्रहरी नायब उपरीक्षक जोशीले भने ।

बर्सेनि यस्ता कार्यक्रम गरे पनि प्रभावकारी भने नभएको सर्वसाधारणको गुनासो छ । ‘सडकका पेटीमा ढुंगा, माटो जता पनि थुपारेकै हुन्छ, अटीनअटी मान्छे, बस्तुभाउ उस्तै हुन्छन्,’ बल्खुका श्याम श्रेष्ठले भने । सडक पेटीहरूमा यात्रुहरूलाई हिँड्न अवरोध पुग्ने गरी पसल राख्न पाइँदैन । तर महानगर नजिकैको आरएनएसीअगाडि पसल राखिएका हुन्छन् । पेटीमा हिँड्ने मानिसहरूको घुइँचो छँदै छ, पसलहरूले गर्दा हिँड्दा ठेलमठेल हुने गर्छ । चौपाया जथाभावी छाडिँदा पैदलयात्रुलाई पेटीमा हिँड्न असहज हुन्छ । सडकमा सवारीसाधनहरूलाई आवतजावत गर्न कठिन हुन्छ । दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको छ । जथाभावी छोडिएका चौपायाले सडक र फुटपाथमा दुर्गन्ध र फोहोर फैलने गरेको छ ।

प्रहरीले नियन्त्रणका कदम पटकपटक चाले पनि दीर्घकालीन प्रभाव पाइएको छैन । जस्तो त्रिपुरेश्वरकै निर्माण सामग्री र फोहोरको सन्दर्भमा पनि नियन्त्रणमा लिइएकाहरू अनविज्ञ भएको बताएकै आधारमा छाडिए । कसले थुपार्‍यो भन्ने थप अनुसन्धानपट्टि प्रहरीले ध्यान दिएन । चौपायाहरू बेलाबेला नियन्त्रणमा लिएको भोलिपल्टै फेरि सडकमै भेटिन्छन् । कहाँबाट आउँछन्, कसले छोड्छन् भन्ने थप सोधीखोजी न त महानगरले गर्छ न त प्रहरीले नै ।

सडकपेटीका पसल र सामान जफत गरिन्छन्, भोलिपल्ट उस्तै हुन्छ । सर्वसाधारणमा चेतनाको कमी र अटेरीपनाले गर्दा सबैलाई चित्तबुझ्दो कार्यान्वयन गर्न नसकेको प्रहरी नायब उपरीक्षक जोशी बताउँछन् । कार्यान्वयन गर्ने निकायको काम आँखामा छारो हाल्ने सरह भएकाले दीर्घकालीन प्रभाव नदेखिएको सर्वसाधारण बताउँछन् ।

प्रकाशित : असार ३, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?