राजस्व छल्दै इँटाभट्टा

हरिहरसिंह राठौर

नौबिसे (धादिङ) — काठमाडौंलाई प्रमुख बजार बनाएर नौबिसेलगायतका क्षेत्रमा सञ्चालित इँटा उद्योगहरूले राजस्व छल्दै आएका छन् । राजधानीबाट विस्थापित भएपछि नौबिसे र थाक्रेमा सञ्चालित ४० इँटा उद्योगले करोडौंको भ्याट छलेका छन् ।

राजस्व छल्दै इँटाभट्टा

भ्याट छल्नका लागि इँटाभट्ट सञ्चालकहरूले सर्वसाधारणलाई दुइटा बिल दिने गरेको समेत पाइएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहमा रहेको महारूप इँटा उद्योगले करोडौंको भ्याट छली गरिरहँदासमेत सरोकारवाला निकाय मौन छ । ‘एक वर्षमा हामीले २५ लाखभन्दा धेरै इँटा बेचिसकेका छांै,’ भट्टा सञ्चालकमध्येका एक बद्री कोइरालाले भने, ‘जिल्लाका सबैतिर बिल दिने एउटै तरिका भएकोले यो विषयमा बोल्न मिल्दैन ।’ भ्याट छली गर्न प्रयोग गरिएको दुइटा बिल एउटा रातो बिलमा भ्याटसहित प्रतिगोटा ६ रुपैयाँ लेखिएको छ । अर्को नीलो रंंगको बिलमा प्रतिगोटा मूल्य लेखिएको छैन ।

जुन बिल सर्वसाधारणलाई दिने गरिएको छ । सोही अनुपातको इँटा प्रतिगोटा ७ रुपैयाँ बढी भ्याट ठगी गरी १३ रुपैयाँमा विल काटिएको छ । जिल्लामा उत्पादन गरिएका इँटाहरू पनि गुणस्तरहीन, महँगो र सानो साइजको हुने भएकाले अधिकांश सरकारी भवनको निर्माण जिम्मा लिएका ठेकेदारहरूले प्राविधिकका सल्लाहअनुसार सप्तरी, सिराहा, नवलपरासी चितवनलगायतका जिल्लाहरूबाट आयात गर्ने गरेका छन् । हतारमा भूकम्प प्रतिरोधी घर निर्माण गरी अनुदान किस्ता बुझ्न भूकम्प पीडितहरूले यिनै इँटाहरूको प्रयोग गर्ने गरेका छन् । यी इँटा ग्रामीण बस्तीहरूमा व्यापक निकासी गरिएको छ । ‘यहाँको इँटा धादिङ सदरमुकामबाट उत्तरी भेगतिर समेत बढी गइरहेको छ,’ कोइरालाले भने । तर इँटाभट्ट नजिकैका सर्वसाधारणले भने सर्लाहीदेखि इँटा किनेर ल्याइरहेका छन् ।

‘यो इँटा कमसल खालको र मूल्यमा समेत मनोमानी भएपछि हामीले सर्लाहीदेखि ल्याएका हौं,’ नलाङ घर भएका भूकम्प पीडित हरेराम सिलवालले भने । भ्याट छली र बिलिङमा कर कार्यालयका कर्मचारीहरूकै मिलोमतो रहेको पाइएको छ । ‘हामीलाई दुइटा बिल बनाउन जिल्ला इँटा उद्योग संंघ, धादिङकै निर्देशन छ,’ एक सञ्चालक नारायण कोइरालाले भने, ‘बाँकी विषय इँटाभट्टसँगै बुझ्नुहोला । धादिङ मात्रै होइन अधिराज्यभरमा नै दुइटा बिलिङ भइरहेको छ ।’ यो संघ स्थानीय प्रशासनमा संघसंस्था दर्ता ऐनअनुसार गत वर्ष दर्ता गरिएको थियो । यता इँटाभट्ट संघ धादिङका अध्यक्ष एकराज गजुरेल कुवेरले आफूहरूले दुइटा बिलिङ गर्न माइन्युट नै गरी निर्देशन दिएको स्वीकार गरे । एभरेस्ट इँटाभट्टका सञ्चालकसमेत रहेका गजुरेलले आफूले समेत दुइटा बिल बनाएर इँटा बेचिरहेको बताए ।

भूकम्पपछि १७ उद्योगलाई अनुमति
पछिल्लो एक वर्षमा घरेलु तथा साना उद्योग विकास समिति धादिङमा १७ ओटा इँटा उद्योग दर्ता भएका छन् । तीमध्ये अधिकांश उद्योगले छत्रेदेउराली, नौबिसे र जीवनपुर गाविसका फाँटहरू ओगेटेका छन् । काठमाडौंका इँटा उद्योगहरूलाई विस्थाापित गराउने कुरा उठिरहँदा उद्योगहरू धादिङ केन्द्रित भएका हुन् । धादिङमा उद्योग सुरु गरेका अधिकांश उद्योग मालिकले यसअघिदेखि काठमाडाैंका विभिन्न स्थानमा इँटाभट्ट सञ्चालन गर्दै आएको छत्रेदेउरालीमा सञ्चालित उमा महेश्वर इँटा उद्योगका सञ्चालक महेन्द्रबहादुर चित्रकारले जानकारी दिए ।

उद्योगले एक पटकमा १२ देखि १५ लाख इँटा उत्पादन गर्ने धुनीबेंसी इाँ उद्योगका सञ्चालक धर्मेन्द्र अकौलियाले बताए । उनका अनुसार वर्षमा ६ पटकसम्म इँटा उत्पादन गर्न सकिन्छ । हाल धुनीबेंसी नगरपालिकामा मात्रै २९ वटा इँटा उद्योग सञ्चालनमा छन् । यस क्षेत्रमा सञ्चालनमा रहेका इँटा उद्योगले करिब १५ सय किसानको पाँच हजार रोपनी खेतीयोग्य जग्गा ओगेटेको छ । घरेलु तथा साना उद्योग विकास समिति धादिङका अनुसार जिल्लामा ३० वटा इँटा उद्योगले सञ्चालन अनुमति लिएका छन् ।

प्रकाशित : असार ३, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?