भुस्याहा कुकुर व्यवस्थापन चुनौती

दैनिक डेढ/दुई सय जना रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन्
प्रशान्त माली

ललितपुर — रेबिजले जेठ अन्तिम शुक्रबार एक जनाको मृत्यु भयो । २०७५ यता ६ जना मृत्यु भइसकेका छन् । २०७४ मा १७ को भएको तथ्यांक छ । भुस्याहा कुकुर व्यवस्थापनसम्बन्धी छुट्टै नीति नहुँदा बर्सेनि रेबिज लागेर मृत्यु हुने संख्या वृद्धि छ ।

भुस्याहा कुकुर व्यवस्थापन चुनौती

सहिद शुक्रराज तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन भन्छन्, ‘घरपालुवा कुकुर सडकमा छाड्नाले भुस्याहा कुकुरको संख्या वृद्धि भएको छ । अस्पतालमा केही दिनयता भुस्याहा कुकुरले टोकेर खोप लगाउन आउने बिरामीको संख्या वृद्धि छ । यो भयावह अवस्था हो । कम गर्न नीति बनाउन आवश्यक छ । कुनै निकायको ध्यान गएको छैन ।’

उनका अनुसार विकसित मुलुकमा कुकुर पाल्न दर्ता गरेर बर्सेनि शुल्क तिर्नुपर्छ । ‘लमजुङको पर्यटकीय स्थल भुजुङमा यो प्रणाली लागू गरिएको छ,’ उनले भने, ‘उपत्यकाका तीन जिल्लाका जनप्रतिनिधिहरूले यसतर्फ चासो दिनुपर्‍यो ।’ ‘नीति बनाई कडाइका साथ लागू गर्न सकेमा कुकुर स्याहारमा ध्यान जाने, सडकमा बेवारिसे छाड्न कम गर्ने र एन्टिरेबिज भ्याक्सिन लगाउनेतर्फ ध्यान जानेछ,’ उनले भने, ‘नीति पालना गर्नेलाई कर छुटलगायत सुविधा र नगर्नेलाई कडा कारबाही गर्नुपर्छ । नत्र रेबिज लागेर मृत्यु हुनेको संख्या घटाउन गाह्रो पर्छ ।’

अस्पतालका अनुसार अहिले दैनिक डेढ/दुई सय जना रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । चिकित्सकहरूका अनुसार प्राय: कुकुरले टोक्दा मानिस उपचार गर्न आउँदैनन् । रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्ने ठाउँमा टीटी खोप लगाउँछन् । यसले रेबिज शरीरमा प्रवेश गर्छ । छालामुनिको भित्री तन्तु, मांसपेशी हँुदै गिदीमा पुगेपछि लक्षण देखा पर्छ । अस्पतालमा रेबिज प्रभावितहरू ४ देखि ७ महिनाको बीचमा मात्र आउँछन् । रेबिजविरुद्ध कुनै औषधि छैन । रोग लागेपछि लगभग मृत्यु प्राय छ । डा. पुन भन्छन्, ‘सरकारले रेबिजविरुद्धको भ्याक्सिन नि:शुल्क दिने गरेको छ । परिवारका सदस्यले सुई लिन जान आग्रह गर्दा पनि बेवास्ता गर्ने बानीले अकालमै मृत्यु हुने गरेको छ ।’

काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार कम गर्न मार्ने अधिकार छै्रन । ‘नीति बनाउन जनप्रतिनिधिलाई पहल गरिरहेका छौं,’ उनले भने, ‘उपत्यकाका तीनै जिल्ला कुकुरहरू आवतजावत गर्न सकिने भएकाले काठमाडौंसँगै अन्यले नगरपालिकाले पनि अनिवार्य बनाउनुपर्छ ।’

उनले प्रत्येक साता टेकुमा बन्ध्याकरण भइरहेको बताए । ललितपुर महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले स्पष्ट कानुन अभावले नियन्त्रणमा कठिनाइ भएको स्विकारे । ‘कुकुर घटाउँन विशेष योजना र नीति ल्याउने तयारीमा छौं,’ उनले भने, ‘घरमा कुकुर पाल्नमा कडाइ गर्दै छांै ।’

कुकुरको टोकाइले मृत्यु हुने मात्र नभई सडक दुर्घटना पनि बढ्दो छ । हरिसिद्धिका रवीन्द्र महर्जनको बा१८प४४६१ नम्बरको बाइक गोदावरी सडकमा दुर्घटना भयो । ‘साइड लाइट, लुकिङ ग्लास र कोच्चिएको मर्मत गर्नुपर्दा एक हजार ५ सय रुपैयाँ खर्च भयो,’ उनले भने, ‘धन्न ज्यान जोगियो । सडकमा बत्ती छैन । बेलुका कुकुरले लेखेट्दा बच्न खोज्दा खाल्टोमा परियो ।’ सुनाकोठीका रामकुमार महर्जनको बा१६प ३५१९ नम्बरको बाइक चापागाउँ सडकस्थित चौतारामा दुर्घटनामा पर्‍यो । सडकमा सुतिरहेका कुकुरलाई ठक्कर दिंदा उनी घाइते भएका थिए । महर्जन भन्छन्, ‘धनजनको नास मात्र नभई अनावश्यक समस्या झेल्नुपर्‍यो ।’

बेवारिसे कुकुरले गर्दा पैदलयात्रीहरूसमेत आजित छन् ।

ललितपुर ट्राफिक प्रहरीका अनुसार ललितपुरमा मात्रै कुकुरको कारणले प्रत्येक महिनामा २/३ जना दुर्घटनामा पर्ने गरेका छन् । सबभन्दा बढी दुर्घटना लगनखेल–बटुवभैरव–सातदोबाटो सडक, ग्वाको–लगनखेल, सातदोबाटो–चापागाउँ, एकान्तकुना–बुङमती, ग्वार्को–लुभु लामाटार सडकमा हुने गरेको छ । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन्, ‘कुकुरले लेखेट्ने, बाटो काट्ने गर्नाले बढी दुर्घटना हुने गरेको छ । दुर्घटनालाई नियन्त्रण गर्न चाँडै कडा नियम ल्याउनुपर्छ ।’

काठमाडौं महानगरपालिकाको दुई वर्षअघिको आँकडाअनुसार काठमाडौंमा ३० र ललितपुर महानगरपालिकामा २२ हजार बेवारिसे कुकुर छन् । दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन हुँदा कुकुर घटाउन महानगरलाई हम्मेहम्मे परेको थियो । सडकमा मात्र नभई सिंहदरबारमा पनि कुकुरको समस्या छ । उपत्यकाका तीनै जिल्लाका नगरपालिकाले कुकुर व्यवस्थापन गर्न बर्सेनि करोडौं रुपैयाँ छुट्याउने गर्छ । समस्या उस्तै छ । टेकुस्थित अस्पालतमा सुई लिने आउनेमा विदेशी महिला पनि थिए ।

प्रकाशित : असार ४, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?