३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चाँगुनारायणका अधिकांश घर मापदण्डविपरीत

लीला श्रेष्ठ

भक्तपुर — भूकम्पले क्षतिग्रस्त विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर मौलिक स्वरूपमा जीर्णोद्धार भयो । मन्दिर परिसरको क्षतिग्रस्त चौघेरा सत्तल लगायत संरचनाको अवस्था उस्तै छ ।

चाँगुनारायणका अधिकांश घर मापदण्डविपरीत

विश्वसम्पदा क्षेत्रमा भूकम्पपछि बनेका अधिकांश घरहरूले भने मापदण्डको ख्याल गरेको पाइँदैन । स्थानीयले चाँगुनारायण मन्दिर नै छेकिने गरी घरको पुनर्निर्माण गरेको छ ।

सम्पदा क्षेत्रभित्र परम्परागत शैलीका घरहरू निर्माण गर्नुपर्ने नियम छ । तर, भूकम्पपछि निर्माण गरिएको संरचनाहरूमा नियमको पालनालाई ख्याल गरेको पाइएको छैन । विशेषगरी मन्दिरवरिपरि घर बनाउँदा ३५ फिटभन्दा अग्लो बनाउन नपाइने, मन्दिरभन्दा अग्लो बनाउन नपाइने, बाहिरी मोहडा कलात्मक हुनुपर्ने, देखिने गरी झिंगटीको प्रयोग गर्नुपर्ने, डाँची अपा, माँ अपाको प्रयोग गर्नुपर्ने, चुनासुर्कीको प्रयोग गर्नुपर्ने, रुफटप राख्न नपाइने नियम छ ।

विश्वसम्पदामा सूचीकृत चाँगुनारायण क्षेत्रमा अवैधानिक रूपमा नियमविपरीत घरहरू ठडिने क्रम बढो छ । मन्दिरको आँडमै अवैधानिक रूपमा घरहरू ठडिएका छन् । चाँगुनारायण मन्दिर नै छेकिने गरी घर ठडिएका छन् । तर, सम्बन्धित निकायले त्यस्ता घरहरूलाई कारबाही त के अनुगमनसमेत गरेको छैन । चाँगुनारायण मन्दिर आसपासका कतिपय घरको नक्सापास नभएको र स्मारक संरक्षणको ख्यालै नगरी भवन निर्माण गरेको स्थानीय बासिन्दाले बताएका छन् । ‘मन्दिर छिर्ने मोहडाकै घरको नक्सा पास छैन, पहुँचको भरमा मापदण्ड मिचिँदै छ’, चाँगुनारायण नगरपालिका–४, चाँगुनारायणका रामभक्त श्रेष्ठले भने, ‘मन्दिर नै छेकिने गरी घर ठड्याएको छ ।’

स्थानीय तहमा प्रतिनिधित्व गरेकै व्यक्तिले मापदण्ड मिचेर नक्सापास नगरी संरचना निर्माण गरेको उनले बताए । चाँगुनारायण मन्दिरसँगैको खुड्किलो अगाडि र पछाडितर्फ बनेका अधिकांश घरहरू मापदण्डविपरीत छन् । नवनिर्मित भवनमा रुफटप राख्ने कार्य भएको छ ।

‘चाँगुनारायण संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड–२०६४’ लाई हेर्ने हो भने, मन्दिरवरिपरि बनेका अधिकांश नवनिर्मित भवन मापदण्डविपरीत छन् । घरको छाना झिंगटी वा टायलले छाएको परम्परागत दुईपाखे शैलीको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

निर्माण हुने घरजग्गाको तीनैतिर अरू घरहरूले घेरिएको भएमा सडकपट्टि एकपाखे छाना राख्नुपर्ने, ढलानको स्लोप बनाई त्यसमाथि झिंगटी वा टायल टाँसी पनि निर्माण गर्न सकिने र छानाको बाहिरबाट देखिने तल्लो भागलाई काठले छोपी परम्परागत स्वरूप निर्माण गर्नुपर्ने उल्लेख छ । भूकम्पपछि बनेका घरहरू आधुनिक शैलीमा (कौशी राखेर) बनेका छन् । तर, सम्बन्धित निकाय मौन छ ।

यस्तो मिचाहा प्रवृत्ति बढ्दै जाने हो भने, युनेस्कोले नेपालको सम्पदालाई विश्वसम्पदाको सूचीबाट हटाउने सम्पदा संरक्षणकर्मीहरू बताउँछन् । ‘बुद्धिजीवी र पहुँचवाला व्यक्तिहरूकै मिचाहा प्रवृत्ति बढेको छ,’ युनेस्को अवार्ड प्राप्त गर्न सफल सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले भने, ‘नेपालका जति पनि सम्पदाहरू युनेस्कोबाट मान्यता प्राप्त छ, त्यसको संरक्षण नेपालीहरूले गर्न सकेका छैनन् ।’ पुरातत्त्व र नगरपालिकाको बेवास्ताकै कारण सम्पदाको अवस्था धराशयी बन्दै गएको उनले बताए । सम्पदा संरक्षण गर्ने र मौलिक पहिचान जोगाउने जिम्मा सबैको काँधमा आएको समेत उनले बताए । सम्पदालाई जतिसक्दो मिच्ने प्रवृत्ति बढ्दै गएको उनको गुनासो छ । चाँगुनारायण नगरपालिकाले भने पुरातत्त्व विभागको स्वीकृतिबिना सम्पदा क्षेत्रमा नक्सापास नहुने जनाएको छ ।

‘युनेस्कोबाट मान्यता प्राप्त चाँगुनारायण मन्दिर क्षेत्रमा बनेका संरचनाको मापदण्ड पुरातत्त्वले हेर्छ,’ नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘पुरातत्त्वको सिफारिसबमोजिम नगरपालिकाले नक्सापास गर्छ ।’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले भने सम्पदा क्षेत्रभित्र घरको नक्सापास अनुगमन गर्ने, मापदण्डविपरीतको घर भत्काउने अधिकार नगरपालिकाको भएको जनाएको छ ।

‘विश्वसम्पदा सूचीमा परेको नै हाम्रो परम्परागत मौलिक पहिचानको कारणले हो,’ पुरातत्त्व विभाग भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले भने, ‘पहिचान जोगाउने जिम्मा पुरातत्त्व विभागको मात्र होइन ।’ स्थानीय बासिन्दा, नगरपालिका र पुरातत्त्वसँगसँगै मिलेर नियमसंगत ढङ्गबाट काम गर्न सके सम्पदाको पहिचान बच्ने उनले बताए ।

प्रकाशित : असार ४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?