कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विज्ञ अभावमा पोस्टमार्टम भएन

हेटौंडा — थाहा नगरपालिका–३ घर्तीखोलामा एक अधबैंसे व्यक्तिले रुखमा झुन्डिएर आत्महत्या गरे । घरका अभिभावकले आत्महत्या गरेपछि परिवार र आफन्तहरू चिन्तित थिए ।

विज्ञ अभावमा पोस्टमार्टम भएन

प्रहरीले स्थलगत मुचुल्का गरे । छिमेकी र आफन्तले पोस्टमार्टम गर्न शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा पुर्‍याए । स्वास्थ्य केन्द्रका चिकित्सकले पोस्टमार्टम गर्न मानेनन् ।

‘पोस्टमार्टम गर्न तालिम लिनुपर्ने विभागले नयाँ व्यवस्था गरेको छ,’ स्वास्थ्य केन्द्रका डा. रिनेश अधिकारीले भने, ‘मैले त्यो तालिम लिएको छैन, त्यसकारण पोस्टमार्टम गर्न सकिँदैन ।’ पीडित परिवारले पोस्टमार्टम गर्न गएको शनिबार बेलुका हेटौंडा अस्पतालमा ल्याए । आइतबार पोस्टमार्टम गरे । यसैगरी मकवानपुरको पश्चिमी क्षेत्रको एकमात्र मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले पनि शवको पोस्टमार्टम गर्दैनन् । राक्सिराङ गाउँपालिका–९ खैराङबाट पोस्टमार्टम गर्न ल्याएको शव मनहरीस्थित स्वास्थ्य केन्द्रका चिकित्सकले नगरेपछि हेटौंडा ल्याएर पोस्टमार्टम गराएका थिए । १८ वर्षकी एक युवतीले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । पोस्टमार्टमका लागि ६ घण्टाको दूरीबाट शव बोकेर मनहरी ल्याइएको थियो । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने वकैयास्थित छतिवनमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । डाक्टर पनि केन्द्रमा छन् । शवको पोस्टमार्टम गर्न भने हेटौंडा ल्याउनुपर्ने बाध्यता छ ।

‘मकवानपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले पोस्टमार्टम नगरेकाले पोस्टमार्टम गर्न शव बोकेर हेटौंडा ल्याउनुपर्ने बाध्यता छ’ थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले भने, ‘स्वास्थ्य केन्द्रका चिकित्सकले तालिम नलिएका कारणले पोस्टमार्टम गर्दैनन् ।’ विगतमा पोस्टमार्टम गर्ने गरेका थिए । नयाँ नियम आएकाले चिकित्सकले पोस्टमार्टम नगरेकाले स्थानीयवासीलाई थप पीडा भएको छ । गाउँबाट शव बोकेर हेटौंडा ल्याउन शववाहन पनि छैन ।

‘हत्तपत्ति शव बोकेर ल्याउन सवारी साधनहरू मान्दैनन्,’ बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले भने, ‘गाउँमै पोस्टमार्टम गर्ने व्यवस्था नभएकाले विशेषगरी दुर्गम गाउँमा बासिन्दाले थप पीडा भोग्नुपरेको छ ।’ हेटौंडामा शव ल्याएर पोस्टमार्टम गर्न समस्या छ । ‘त्यसमाथि पनि हेटौंडामा पोस्टमार्टम गरेपछि दाहसंस्कार गर्न नै कठिनाइ छ,’ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरूलाई तत्काल तालिम दिएर पोस्टमार्टम गर्ने व्यवस्था सम्बन्धित निकायले गर्नुपर्छ ।’

मकवानपुरमा १० महिनाको बीचमा ७६ जनाले आत्महत्या गरिसके । उनीहरूको पोस्टमार्टम हेटौंडा अस्पतालका चिकित्सकले गरेका हुन् । वाग्मती गाउँपालिकाको राईगाउँदेखि राक्सिराङ गाउँपालिकाको खैराङसम्म आत्महत्याका शव हेटौंडामा ल्याएर आफन्तहरूले पोस्टमार्टम गराएका छन् । आत्महत्या गरेको होस् वा कतैबाट लडेर मृत्यु भएको होस्, पोस्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था छ । पोस्टमार्टम नगरी दाहसंस्कार गरेमा ज्यान मुद्दामा परिएला भन्ने डर छ । पोस्टमार्टम गर्न शव हेटौंडा ल्याउन आर्थिकलगायत विभिन्न कठिनाइ छन् ।

प्रकाशित : असार ४, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?