१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कर अभियानलाई प्राथमिकता

विद्या राई

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ मा लक्ष्य राखेको भन्दा एकतिहाइ मात्रै कर असुल्न सफल रहयो । कुल ६ अर्ब ९२ करोड ५५ लाख ८२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा जेठ महिनासम्म २ अर्ब ३४ करोड ४९ लाख ११ हजार रुपैयाँ असुली भएको थियो । आब ०७४/०७५ मा राजस्व उठाउने लक्ष्य २ गुणा बढायो ।

कर अभियानलाई प्राथमिकता

चैतसम्ममा २६ प्रतिशत मात्रै असुली भएको छ । अनुमानित राजस्व १२ अर्ब ४ करोड ३९ लाख ४७ हजार रुपैयाँ छ । चैतसम्म ३ अर्ब १७ करोड ५१ लाख २२ हजार रुपैयाँ उठेको छ । त्यसबाट महानगरको राजस्व असुली न्यून रहेको प्रस्ट हुन्छ । यस्तो अवस्थामा आव ०७५/०७६ लाई महानगरले कर अभियान वर्ष मनाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।

असार २ मा महानगरले ल्याएको आव ०७५/०७६ को नीति तथा कार्यक्रमअन्तर्गत आर्थिक तथा वित्त नीतिमा उक्त अभियान उल्लेख छ । आन्तरिक स्रोतको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले अभियान वर्ष मनाउन लागेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

लक्ष्यभन्दा न्यून राजस्व असुली भइरहेका बेला अभियानको सफलताबारे जिज्ञासामा उनले भने, ‘करको दर बढाउनेभन्दा पनि दायरालाई फराकिलो बनाउँदै छौँ, आगामी वर्षदेखि बहाल कर पनि महानगरले नै उठाउने भएकाले राजस्व वृद्धि हुन्छ ।’ लक्ष्यअनुरूप कर उठाउन बर्सेनि व्यवसाय कर टोली, घरजग्गा कर टोली, बहाल कर टोली सबै वडामा परिचालन गर्दै आए पनि सोचेजस्तो उठ्न नसकेको महानगरले स्वीकार्दै आएको छ ।

संविधानको अनुसूची ८ मा बहालकर स्थानीयले तहले उठाउने उल्लेख भए पनि कार्यान्वयन हुन सकेको थिएन । महानगरले २ र सरकारले १० प्रतिशत बहाल कर उठाउँदै आएका थिए । स्थानीय तहमा जनप्रतिनिधि आए पनि संविधानको अनुसूची ८ अनुसार कार्यान्वयन हुन सकेको थिएन ।

बहाल करबारे नीति बाझिएपछि लक्ष्यअनुसार राजस्व उठाउनमा असर पारेको राजस्व शाखाले जानकारी दिएको छ । गएको चैत १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले १२ प्रतिशत बहाल कर महानगरले नै उठाउन पाउने पारित गरेपछि राजस्व बढ्ने प्रवक्ता कार्कीले बताए ।

आर्थिक समृद्धिका ढोका खोल्न लगानीमैत्री वातावरणका लागि आन्तरिक स्रोतलाई प्रभावकारी बनाउन कर अभियानलाई प्राथमिकतामा राखेको छ । चालू आवको चैतसम्म मालपोत कर १ करोड ७६ लाख, घरजग्गा कर १ करोड ४० करोड, बहाल कर २ अर्ब २ करोड ४५ लाख, व्यवसाय कर ४ करोड ८२ लाख, नक्सापास २३ करोड ७६ लाख रुपैयाँ उठेको छ ।

प्रकाशित : असार ७, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?