कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विद्यालयमा बाघका कुरा

रमेशकुमार पौडेल

चितवन — रत्ननगर नगरपालिका–९ कपरखोरीका संगीत अधिकारी स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्छन् । उनको घर नजिकै टिकौली मध्यवर्ती सामुदायिक वन छ । घरमा बाख्रा छन्, तिनलाई खुवाउने घाँस काट्न जंगल छिर्नैपर्छ ।

विद्यालयमा बाघका कुरा

गतवर्ष आमासँगै जंगल गएका बेला उनले बाघ देखे । तत्कालै भागेर ज्यान त जोगियो तर ‘बाघ डरलाग्दो जनावर हो’ भन्ने छाप उनको मनमा पर्‍यो । आफ्नै विद्यालयमा बिहीबार बिहान भएको एक कार्यक्रममा उनले बाघका बारेमा नयाँ तथ्य थाहा पाए । ‘यो जनावर लजालु र शान्त स्वभावको हुन्छ ।


मानिसभन्दा टाढा बस्न रुचाउँछ । आफंैले खाने आहारा प्रजातिका जनावरलाई पनि जुनसुकै बेला आक्रमण गर्दैन,’ संगीतको विद्यालयमा आयोजित कार्यक्रममा बाघबारे प्रकाश चापागार्इंले यस्तो बताउँदा धेरै विद्यार्थी छक्क परे । ‘हामीले त बाघ भनेको हिंस्रक वन्यजन्तु हो भन्ने बुझेका थियौं ।


तर फरक कुरा सुनियो,’ कक्षा नौमा पढ्ने शान्तिमाया परियारले भनिन् । बाघ विशेष समयमा मात्रै हिंस्रक हुन्छ भन्ने कुरा प्रकाश चापागाईंले विद्यार्थीलाई बुझाए । ‘बच्चासँगै रहेका बेला, बूढो, घाइते वा रोगी भएर सिकार गर्न नसकेका बेला जम्का भेट भए मात्रै बाघले मान्छेलाई आक्रमण गर्ने हो,’ प्रकाशले भने ।


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा कपरखोरी माध्यमिक विद्यालय छ । मृगकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गत गठित बाघ संरक्षण उपसमितिले विद्यालयमा कार्यक्रम राखेको हो । उपसमितिका अध्यक्ष जितु तामाङका अनुसार कपरखोरीसहित ६ वटा विद्यालयमा बाघ संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम हुँदै छ । कपरखोरीबाट त्यसको सुरुवात भएको उनले जनाए । ‘बाघको सुँघ्ने शक्ति पनि शक्तिशाली हुन्छ । मदिरा खाएर वा अत्तर (पफ्र्युम) लगाएर जंगल गए केही नौलो जीव आयो भनेर आक्रमणमा पर्ने खतरा रहन्छ,’ विद्यार्थीलाईं प्रकाशले बाघबाट जोगिने स–साना कुराहरू पनि सम्झाए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने विद्यार्थीलाई बाघबारे बुझाउँदा ‘विद्यार्थीले त्यो कुरा अभिभावकलाई भन्ने र उनीहरूसमेत सजग हुने’ उपसमितिका अध्यक्ष तमाङले बताए ।


‘कुनै जंगलमा बाघ छ भने त्यहाँको पारिस्थितिकी प्रणाली (ईको सिस्टम) राम्रो छ भन्ने सन्देश हो ।’ अध्यक्ष तामाङले भने, ‘त्यसैले बाघ हुनु खुसीको कुरा हो ।


तर त्रासको विषय भएको छ । बाघको आनीबानी थाहा भए आक्रमणमा पर्नुपर्दैन ।’ कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यावरण र वन्यजन्तु संरक्षणमा सबैले सोच्ने तथा ध्यान दिनुपर्ने समय आएको बताए । समुदायले चासो नदिए वन्यजन्तु नजोगिने मेयर वनले बताए ।


सय वर्षअघि विश्वमा ८ उपप्रजातिका बाघ थिए । सन् १९४० यताका ३० वर्षमा ३ उपप्रजाति लोप भइसकेका छन् । सन् २०१३ को गणना अनुसार नेपालभर १ सय ९८ बाघ थिए ।

प्रकाशित : असार ८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?