कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संकटमा दुगुनागढी

अनिश तिवारी

दुगुनागढी (सिन्धुपाल्चोक) — भूकम्पले क्षतिग्रस्त भोटेकोसी गाउँपालिकाको तातोपानीस्थित ऐतिहासिक दुगुनागढी दैनिक भास्सिँदै गइरहेको छ । झन्डै १ सय ६० वर्ष पुरानो गढीको संरक्षणमा चासो नदिएका कारण गढीको अस्तित्व संकटमा परेको हो ।

संकटमा दुगुनागढी

विसं. १९१२ मा भएको नेपाल र तिब्बतीबीच भएको लडाइँमा नेपालको सुरक्षाका लागि जंगबहादुर राणाले उक्त गढी निर्माण गरेका हुन् ।


नेपालका ऐतिहासिक १० गढीमध्ये एक दुगुनागढीको मौलिकता गुम्ने क्रममा पुगिसकेको छ । आन्तरिक पर्यटकसमेत आउने ऐतिहासिक महत्त्व बोकेको दुगुनागढी पुनर्निर्माण गर्दै संरक्षणमा लाग्नुपर्ने स्थानीयवासीको माग छ । नेपालको ऐतहासिक सम्पदा दुगुनागढी भूकम्पले ढलाएको ३ वर्ष भइसकेको छ । गढीको संरक्षण गर्नका लागि सरकारले सूचनाको बोर्ड राख्नेबाहेक अरू कुनै कुरा गरेको देखिँदैन् । द्वारिका फाउन्डेसनको सहयोगमा बिस्तारै दुगुनागाउँ पुरानो स्वरूपमा फर्कंदै गइरहेको भए पनि दुगुनागढीको अवस्था भने फेरिन सकेको छैन ।


‘सरकारले देखाउनलाई भनेर बोर्ड राखेको छ तर के बोर्डले सुरक्षा दिन्छ र ?’ दुगुनागढी यार्मासिङका स्थानीय छोलेडोल्मो शेर्पाले गुनासो गरे । पहाड वरिपरि भूकम्पको धक्काले लागेको पहिरो अझै थामिनसकेकाले बर्खालगत्तै जोखिम बढेको उनले सुनाए ।


सबै स्थानीय मिलेर सकेको संरक्षणमा लागिरहेको भए पनि मौलिकताअनुसारको पुनर्निर्माण नगरिँदा गढी दिनहुँ भत्किरहेको छ । ‘गढीलाई मौलिक स्वरूपमा पुनर्निर्माण गरिनुपर्छ, नभए गढीको अस्तित्व संकटमा पर्न सक्छ,’ दुगुनागढी संरक्षण समितिका सोनाम शेर्पाले भने । उनले समितिद्वारा ऐतिहासिक महत्त्व बोकेको दुगुनागढीको शिलालेख संरक्षण गरेर राखिएको जानकारी दिए ।


सुक्खा बन्दरगाह छेउको पुल तरेपछि पुगिने रमणीय दुगुनागढीबाट चारैतिरका पहाडी भेग, नदीनालाजस्ता सुन्दर दृश्यहरू नियाल्न सकिनेछ । करिब ४२ सय वर्गमिटर फराकिलोमा फैलिएको उक्त गढीमा सीडीएमए टावरदेखि विभिन्न हाउसवायरसमेत जडान गरिएका छन् ।


वरिपरि रहेका विशाल ढुंगामा पहराको खोचमा तत्कालीन समयमा युद्ध गर्दा जंगबहादुरले सुरक्षाका लागि गढी बनाएका थिए । त्यहाँबाट युद्धको क्रममा तिब्बती भेगमा तोपसमेत प्रहार गरिएको स्थानीयको कथन छ । पुरातत्त्व विभागले गढीसम्बन्धी तथ्यांकमा दुगुनागढीलाई विशेष महत्त्व दिएको छ । तर भूकम्पअघि भने मर्मतसम्भारको नेपाली सेना, प्रहरी बेलाबेलामा जाने गर्थे ।


पर्यटकीय गाउँ दुगुनाको यार्मासिंहस्थित ऐतिहासिक दुगुनागढीको संरक्षण गर्न पहलकदमी लिइरहेको वडाध्यक्ष कैलाश पौडेल सुनाउँछन् । ‘चाँडै सडक निर्माण गरी चौडा बनाएर दुगुनालाई थप सुरक्षित बनाउने योजना बनाइरहेका छौ,’ पौडेल भन्छन्, ‘गाउँको पुनर्निर्माण सकेसँगै गढीलाई मौलिक रूपमा स्थापित गर्ने लक्ष्य लिएका छौं ।’


दिनिथाङ्, दुगुना हुँदै चर्चित भैरवकुण्ड पुग्ने ३० लाख बजेट छुट्याएर सडकको पीआर भइसकेको वडाध्यक्ष पौडेलले जनाए । चाँडै सडक निर्माण गरी चौडा बनाएर दुगुनालाई थप सुरक्षित बनाउने उनको योजना रहेको छ । पहिरोको डर मारेर गाउँभर घर बनाइसक्ने चटारोमा जुटेका दुगुनावासी होमस्टे र पर्यटकीय पहिचान फर्काउन दुगुनागढी गुम्ने डरमा भएको उनले प्रस्ट्याए ।


भूकम्पले दुगुना भीर पूर्णरूपमा फुटाएपछि यार्मासिंह गाउँदेखि तल्लो छिम्थाङ, थाङर्सोर टोलसम्मको सबै गाउँको अस्तित्व धरापमा परेको थियो । त्यहाँका सबै विस्थापित परिवार यार्मासिंह र छिराङ्मु र छिम्थाङको सुरक्षित भूभागमा आएर बसेका छन् ।

प्रकाशित : असार ९, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?