नेतृत्वसंग सन्तुष्ट हुने ठाँउ छैन : डा. महत

रामेछाप — कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिलेको पार्टी नेतृत्वसंग सन्तुष्ट हुने ठाँउ नभएको बताएका छन् । 

नेतृत्वसंग सन्तुष्ट हुने ठाँउ छैन : डा. महत

रामेछापको मन्थलीमा नेपाल प्रेस यूनियन रामेछापले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. महतले एकले अर्कालाई गाली गर्ने भन्दा सबै मिलेर पार्टी भित्रै समस्याको समाधान खोज्नु पर्ने बताए ।


उनले पार्टीमा देखिएका विसंगति अन्त्य गरी कांग्रेसलाई पहिलेकै अवस्थामा पुर्‍याउन आन्तरिक व्यवस्थापन गर्नुपर्ने भन्दै यसको मूल दायित्व नेतृत्वको भएको बताए । ‘व्यक्तिगत रुपमा अहिलेको नेतृत्वसंग म सन्तुष्ट छैन,’ उनले भने, ‘आन्तरिक व्यवस्थापनकै कमजोरीले कांग्रेस पराजित भएको हो । नेतृत्व, संगठन र व्यवस्थापन सबै मिलाएर अघि बढाउनु पर्ने मुख्य दायित्व नेतृत्वको हो ।’


डा. महतले सरकारको बहुमत हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले दुइतिहाई खोजेर निरकुंश बाटोमा अघि बढ्न खोजेको बताए । सरकारले कर्मचारीतन्त्रमा असमान व्यवहार गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले धेरै कार्यालयहरुलाई आफ्नो मातहतमा ल्याएर आफै अप्रेशनतिर लागेको बताए । ‘प्रधानमन्त्रीले व्यवस्थापन गर्ने हो आफै अप्रेशनमा लाग्ने हैन,’ उनले भने ।


तीन तहका सरकारले जनताका आवश्यकता पुरा नगरेको भन्दै महतले सरकारको नेतृत्व गर्नेले जतिसुकै कुरा गरेपनि नागरिकको आवश्यकता पुरा नभएको बताए । उनले मुलुक २०४८ सालमा कांग्रेसले अख्तियार गरेकै बाटोमा भएकाले त्यँही बाटोबाटै अघि बढेर सम्बृद्ध वनाउन सकिने बताए ।


डा. महत आएका बेला जिल्लाका कतिपय नेताहरु उक्त कार्यक्रममा सहभागि भएनन् ।

प्रकाशित : असार ९, २०७५ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?