२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर — जिल्लाका तीन नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ भने मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाले विकास निर्माणलाई पहिलो प्राथमिकतामा पारेको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक

नगर प्रमुख सुनील प्रजापतिले प्रस्तुत गरेको आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकता दिइएको हो । भक्तपुर नगरपालिकाले शिक्षा शीर्षकमा १० वटा नीति तथा कार्यक्रम अघि सारेको छ । भक्तपुर नगरपालिकाले आफू मातहत सञ्चालन हुँदै आएको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेजमा चित्रकला, ज्योतिषशास्त्र तथा नक्षत्र विज्ञानको कक्षा सञ्चालनको तयारी अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्रभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई २१ औं शताब्दीका लागि योग्य बनाउन शिक्षकलाई नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयको विशेष तालिमको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।उक्त नीति तथा कार्यक्रममा निजी तथा संस्थागत विद्यालयलाई शैक्षिक गुठी तथा सहकारीमार्फत सञ्चालन गर्दै लैजान भनिएको छ ।

अध्ययन अनुसन्धान गर्नेलाई आर्थिक अनुदान भक्तपुरको खानेपानी, शिक्षा, सरसफाइ, सम्पदा, परम्परागत शैलीका घर वा भक्तपुर नगरपालिकासँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूलाई आर्थिक अनुदानको व्यवस्था मिलाउने उल्लेख छ । इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृत विषय लिई स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई निश्चित रकम तोकी छात्रवृत्तिको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले सहुलियतमा पाँच लाखसम्म शैक्षिक ऋण उपलब्ध गराउने जानकारी दिएको छ । भक्तपुर नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने योग्य र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई प्रमाणपत्र धितोमा राखी पाँच लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने भएको छ ।

आर्थिक वर्ष ०७५/७६ को नपाको नीति तथा कार्यक्रममा चिकित्साशास्त्र अन्तर्गत विभिन्न विषयमा एमडी वा सो सरह स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीमध्ये दुई जनालाई छात्रवृत्ति दिने व्यवस्था मिलाइएको छ । छात्रवृत्ति पाउने चिकित्सकले भने भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गर्ने ख्वप अस्पतालमा कम्तीमा पाँच वर्ष पूर्णकालीन सेवा गर्नुपर्ने सर्त राखिएको छ ।

नगरपालिकाले क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा मस्तिष्कघात जस्ता कडा रोग लागेका नगरवासीहरूलाई नगरपालिकाका तर्फबाट प्रतिव्यक्ति १० हजारका दरले उपचार सहयोग रकम प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नगरपालिकाले शिक्षा, संस्कृतिलाई, स्वास्थ्य, विकास निर्माण, खेलकुद, बजार अनुगमन, कृषि, पर्यटन, युवा तथा महिला लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरज खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । नगर क्षेत्रको विकास अनुसन्धान र मूल्यांकनको गहन अध्ययन र प्रमाणमा आधारित गरी बृहत् एकीकृत गुरुयोजना, खानेपानी सञ्जाल, नगर सडक सञ्जाल, ढल निकास सञ्जाल र सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण नगरपालिकाको डिजिटल बेसम्यापमा आधारित बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मनोहरा र हनुमन्ते खोलाको अतिक्रमणलाई रोकी बहुउपयोगी करिडोर निर्माण, घना बस्तीयुक्त बोडे, नगदेश, चपाचो, बालकुमारी, दिव्यश्वरीजस्ता क्षेत्रमा छुट्टाछुट्टै चक्रपथ निर्माण गरी घना बस्तीमा प्रवेशका लागि सहायक सडक निर्माण गर्ने नीतिलाई कार्यरूप दिने जनाएको छ ।

आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा मध्यपुर थिमिले बस्ती विकास तथा घर नक्सा प्रक्रियालाई सहज, सरल, वैज्ञानिक र पारदर्शी बनाउन विद्युतीय प्रणाली अपनाउने उल्लेख गरेको छ । वातावरण–पर्यटन, खानेपानी तथा सरसफाइ, ढल निकास, आर्थिक विकास, स्वास्थ्य, शिक्षा, खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सडक तथा यातायात, भवन निर्माण, सिँचाइ, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी सरसफाइ, संस्कृति प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप तथा विपद् व्यवस्थापनलगायतलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले वडा कार्यालयबाट राजमार्ग जोडिएको सडक, वडा कार्यालयबाट नगरपालिका जोड्ने सडक, प्रस्तावित भक्तपुर चक्रपथ सडक र पर्यटन पूर्वाधार सडकलाई मुख्य योजनामा राखेको छ । नगर क्षेत्रभित्र राष्ट्रिय भूउपयोग नीति तथा भवन निर्माण आचारसंहिताअनुसार आवास निर्माण गरी व्यवस्थित सहर निर्माणका लागि आवासीय भवन, व्यावसायिक भवन, सामुदायिक भवन र सरकारी भवनमा वर्गीकरण गरी निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : असार १०, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?