१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ग्रामीण सडक अवरुद्ध

बर्खा लागेपछि सडक हिलाम्मे छ । ट्याक्टर पनि गुड्दैन । ढुवानी नहुँदा गाउँमा सामानको अभाव हुन थालेको छ

रामेछाप — उमाकुण्ड गाउँपालिका जाने सडक अवरुद्ध भएको छ । पश्चिमी सोलु र ओखलढुंगाका यात्रुसमेत ओहोरदोहोर गर्ने सडक बर्खा लागेपछि बन्द भएको हो । ‘हामीलाई जिल्ला सदरमुकाम पुग्नै २ दिन लाग्न थालेको छ,’ बाम्तीकी उमा कार्कीले भनिन्, ‘एक दिनको बाटोमा चुचुरेको शिवालय पुगिन्छ । अर्को दिन गाडी चढेर जिल्ला सदरमुकाम जानुपर्छ ।’

ग्रामीण सडक अवरुद्ध

चुचुरेको शिवालयसम्म सवारीसाधन जेनतेन ओहोरदोहोर गर्छन् । काठमाडौं र देशका अन्य क्षेत्रमा पुग्न शिवालयभन्दा अर्को नजिकको स्थानबाट गाडी चढ्ने ठाउँ छैन । गाडी नचल्दा बिरामी, वृद्धवृद्धा र बालबालिकाले निकै कष्ट भोग्नुपरेको छ ।

सडक हिलाम्मे भएकाले ट्याक्टर पनि गुड्दैनन् । सामान ढुवानी गर्न समस्या छ । ‘यो क्षेत्र वर्षा लागेपछि पूरै दुर्गम बन्छ,’ उमाकुण्ड २ बाम्तीका वडाध्यक्ष खम्बध्वज बस्नेतले भने, ‘थोरै लगानी र गुणस्तरहीन काम भएकाले त्यसैको परिणाम भोग्दैछौं ।’

बाम्ती पुग्न दुईवटा सडक छन् । ठोसेबाट सिंगटी र चुचुरेबाट देउराली हुँदै पुग्ने दुवैतर्फका सडक अवरुद्ध छन् । प्रीतिको वडा कार्यालयले सिंगटी नजिकको सडक सुधार गर्नका लागि ४५ लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिले काम नगर्दा सिंगटीबाटै गाडी अघि बढ्दैनन् । चुचुरेबाट बाम्ती हँुदै गुम्देलसम्म जाने अर्को सडक लिखु जलविद्युत् आयोजनाले बनाइरहेको छ । मोटरसाइकलसम्म जेनतेन गुडेका छन्, अरू साधन ठप्प छन् ।

बाम्ती, गुम्देल, कुभुकास्थली, प्रीति, भुजी र गुप्तेश्वरमा हिउँदमा साना–ठूला यात्रुवाहक साधन चल्छन् । गाउँभर एकपछि अर्को सडक खनिएका छन् । तत्कालीन जिविस र गाविसहरूले ट्रयाक खोल्न मात्र लगानी गरेका थिए । ‘भरपर्दो सडक निर्माणका लागि योजना नबनाउँदा हरेक वर्ष नागरिकले कष्ट सहनुपरेको छ,’ स्थानीय छोङवा शेर्पाले भने, ‘सडक पुगेको १५ वर्षपछि पनि सुरुवातको जस्तै अवस्था हुनु विडम्बना हो ।’

उमाकुण्ड ४ प्रीतिका वडाध्यक्ष मानबहादुर सुनुवारले वर्षा लागेपछि सिंगो गाउँपालिकामा यातायात नचल्ने बताए । ‘सडक मात्र खनिए, भरपर्दा कुनै पनि छैनन्, धेरै वर्षा हुने र कमलो माटो भएको क्षेत्र भएकाले हरेक वर्षायाममा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नुपर्छ,’ उनले भने, ‘घाम लाग्यो भने मात्र गाडी देख्न पाइन्छ, थोरै पानी पर्‍यो कि चिप्लिहाल्छ ।’

बाम्तीमा गाडी पुगेको १५ वर्ष भइसकेको छ । पहिलोपटक गाडी पुग्दा खुसीले ताली बजाउनेहरू आजभोलि नेताहरूलाई नै गाली गरिरहेका भेटिन्छन् । ‘हुँदै नभएको भए बरु आसै हुँदैनथ्यो,’ बाम्तीबाट चुचुरे झर्दै गरेकी गोमा बस्नेतले भनिन्, ‘भएकाले काम दिएन, बालबच्चा र भारी बोकेर उकालो, ओरालो गर्नु बाध्यता नै भयो ।’

प्रकाशित : असार ११, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?