कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काठमाडौं महानगरपालिकाको बजेट १३ अर्ब

काठमाडौँ — महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरेको छ । विकास निर्माण, योजना, नीति तथा कार्यक्रमका लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिकाको बजेट १३ अर्ब

यो चालु आवको तुलनामा १.१ प्रतिशतले वृद्धि भएको छ । ‘समृद्ध, सुरक्षित र जीवन्त सहर, स्वच्छ र सुन्दर काठमाडौं महानगर’ बनाउने दीर्घकालीन लक्ष्य, उद्देश्यबमोजिम आर्थिक, सामाजिक विकासमा बजेटको न्यायोचित वितरण अनुसार बजेट विनियोजन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए ।


बजेट तथा कार्यक्रम तयार पार्दा आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वित्तीय व्यस्थापन र सुशासन र कार्यालय सञ्चालन तथा प्रशासनिक गरी सात वटा विषयगत क्षेत्रहरूलाई छुट्याएको छ । पूर्वाधार विकास सम्पूर्ण विकासको प्रारम्भिक विन्दु मानेको छ । सुविधा सम्पन्न सडक व्यवस्थापन र विकास, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, आधुनिक आकाशे पुल, अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण लगायतका पूर्वाधार विकासका लागि तीन अर्ब ६ करोड २४ लाख विनियोजन गरेको छ ।


भक्तपुर

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि कुल १ अर्ब ७३ करोड ४० लाखको अनुमानित बजेट पेस गरेको छ । आइतबार बसेको तेस्रो नगरसभामा उप प्रमुख रजनी जोशीले अनुमानित बजेट पेस गर्दै चालु आर्थिक वर्षका लागि कुल आम्दानी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ अनुमान गरिएकोमा २०७५ जेठ महिनासम्म ११ महिनाको कुल यथार्थ आम्दानी १ अर्ब १३ करोड ५९ लाख ९१ हजार ७०९ रुपैयाँ भएको जानकारी दिइन् ।


चालु आर्थिक वर्षको जेठ महिनासम्म चालु तथा पुँजीगततर्फको यथार्थ व्यय ८७ करोड ३६ लाख ६० हजार ९०८ रुपैयाँ रहेको जनाएको छ । चालु खर्चअन्तर्गत महत्त्वपूर्ण ६० वटा कार्यक्रमहरू रहेको उल्लेख गर्दै उपप्रमुख जोशीले ससर्त चालु अनुदान २९ करोड १० लाख रुपैयाँ देहायबमोजिम विनियोजन गरिएको उनले जानकारी दिइन् ।


चाँगुनारायण

चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमसँगै कुल ९६ करोड २८ लाख ७९ हजार रुपैयाँ अनुमानित बजेट पेस गरेको छ । आइतबार नगरपालिकाको तेस्रो नगरसभामा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रमसँगै अनुमानित बजेट पेस गरेको हो ।


गोकर्णेश्वर

गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरपालिकाकी उप–प्रमुख शान्ति नेपालले २०७५/७६ को बजेट सार्वजनिक गरेकी हुन् । अनुदान बापत २५ करोड ३६ लाख, सशर्त अनुदान १७ करोड ४० लाख र केन्द्रबाट आउने समपूरक अनुदानबापत एक करोड रुपैयाँलाई आय मानेको छ ।


सामाजिक सुरक्षा बापतको साढे ५ करोड, प्रदेश सरकारले दिने वित्तीय अनुदान एक करोडभन्दा बढी र प्रदेशकै ससर्त अनुदान तीन करोडभन्दा बढीको आय प्राप्त हुने नगरपालिकाको अनुमान छ । प्राकृतिक स्रोतको रोयल्टीबाट उठेको ५० लाख, जनसहभागिताबाट दुई करोड र संघ तथा प्रदेशबीच राजस्व बाँडफाँडबाट १४ करोड रुपैयाँभन्दा बढी आय हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रकाशित : असार ११, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?