कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

स्थानीय तहमा बजेट : पूर्वाधार निर्माण प्राथमिकतामा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट तय गरेका छन् । १० वटै स्थानीय तहले वडास्तरीय योजना तर्जुमाको प्रक्रिया हुँदै स्थानीय तहस्तरीय योजना तथा कार्यक्रम बनाएका हुन् । 

स्थानीय तहमा बजेट : पूर्वाधार निर्माण प्राथमिकतामा

स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् । योजना तथा कार्यक्रममा सडक निर्माणमा बढी जोड दिएका छन् । हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभामा उपमेयर मीना लामाले आइतबार नीति तथा कार्यक्रम र अनुमानित बजेटसमेत प्रस्तुत गरिन् । मेयर हरिबहादुर महतको अध्यक्षतामा सञ्चालित नगरसभामा ‘समृद्ध हेटौंडा, सुखी नगरवासी’ को दीर्घकालीन उद्देश्यसहित मौलिक विकासलाई प्राथमिकता दिइएको छ ।

हेटौंडा उपमहानगरको गत आर्थिक वर्षमा ५ सय ७५ वटा निर्माण आयोजनाहरू छनोट गरेको थियो । त्यसमध्ये ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराएको छ । उपमहानगरपालिकाले आगामी आवका लागि एक अर्ब ६३ करोड ४ लाख ५७ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षको ०७४/०७५ को बजेट एक अर्ब ३० करोड छ । आगामी आर्थिक वर्षमा ३३ करोड बजेट बढी छ । चालु आर्थिक वर्षमा वडा/वडामा सिलिङ बजेट करिब ८० लाख रुपैयाँमात्र थियो भने अहिले एक करोड १५ लाख रुपैयाँ सिलिङ बजेट विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले उपयुक्त स्थानमा मदन भण्डारी, गणेशमान सिंह र बीपी कोइराला स्मृतिपार्क निर्माण गर्ने उल्लेख छ । त्यसैगरी ३ वर्षभित्र नगरलाई बालविवाह मुक्त तथा नगरका विद्यालयमा नि:शुल्क स्यानेटरी प्याड उपलब्ध गराउने जनाइएको छ । नीति तथा कार्यक्रमा प्रत्येक वडामा एक खेल मैदान, जिम क्लब र उद्यान स्थापना गर्ने उल्लेख छ ।

यसैगरी थाहा नगरपालिकाका उपमेयर खडबहादुर गोपालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिका भित्रको ६० किलोमिटर सडकमा कालोपत्रे गरिने उल्लेख छ । नगरपालिकाभित्र थाहा स्मारक, थाहा बसपार्क, शीतभण्डार र आँखा अस्पताल निर्माण गर्ने योजना तय गरिएको छ । आगामी वर्षका लागि ५१ करोड १ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरभित्र खानेपानीको व्यवस्था गर्न थाहा नगर खानेपानी व्यवस्थापन बोर्ड गठन गर्ने उल्लेख छ ।

कैलाश गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाबाट बालविवाह अन्त्य गर्ने लक्ष्य छ । बालविवाहमा जनप्रतिनिधि, सरकारी कर्मचारी, प्रहरी र शिक्षकलाई सहभागी हुन गाउँपालिकाले कार्यक्रममार्फत रोक लगाएको छ । बालविवाहमा सहभागी भए विभागीय कारबाही गरिनेसमेत जनाइएको छ । त्यसैगरी, गाँजा खेतीलाई गाउँपालिकाबाट विस्थापित गर्न गाउँ/गाउँमा सडक पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष टंक मोक्तानले बताए ।

मनहरी र मकवानपुरगढी गाउँपालिकाले परिवार नियोजन गर्ने पुरुषलाई १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने भएको छ । मकवानपुरका भीमफेदी, इन्द्रसरोवर, बकैया, वाग्मती र राक्सिराङ गाउँपालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । ती गाउँपालिकाहरूले सडकलगायतका पूर्वाधार निर्माणका कार्यमा जोड दिएका छन् । मकवानपुरका सबै स्थानीय तहले सडक निर्माणपछि बालविवाहलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याएका छन् । इन्द्रसरोवर र थाहा नगरपालिकाले पर्यटन विकासका लागि पनि नीति तथा कार्यक्रममा समेटेका छन् । १० वटै स्थानीय तहले चालु आर्थिक वर्षमा छनोट गरिएका ८० प्रतिशत विकास निर्माण सकिएको जनाए ।

प्रकाशित : असार ११, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?