कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वन्यजन्तु बचाउन कुकुर नियन्त्रण

रसुवा — दुर्लभ वन्यजन्तुमाथि आक्रमण गर्न थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा अर्धजंगली कुकुर नियन्त्रण गर्न थालिएको छ ।

वन्यजन्तु बचाउन कुकुर नियन्त्रण

अर्धजंगली कुकुरले वन्यजन्तुलाई आक्रमण गर्न थालेपछि निकुञ्जले नियन्त्रणको कदम चालेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । लाङटाङ क्षेत्रमा दुर्लभ वन्यजन्तु हिमचितुवा, कस्तूरी मृग, झारल, घोरललगायत वन्यजन्तु पाइन्छन् । पर्यटकीय क्षेत्र लाङटाङका घरपालुवा कुकुर २०७२ वैशाख १२ गतेको भूकम्पपछि अर्धजंगली भएका हुन् । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पर्यटकीय क्षेत्र लाङटाङ करिब ३ महिना जति मानवविहीन भएको थियो ।

मानवविहीन हुँदा घरपालुवा कुकुर अर्धजंगली भएका लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । ‘गाउँमा मानिस नभएपछि कुकुरहरूले खानेकुरा पाएनन्, केही समयपछि जंगली जनावर मारेर खान थाले,’ रेग्मीले भने, ‘अनि घरपालुवा कुकुर अर्धजंगली भए ।’ लाङटाङ क्षेत्रमा करिब २५ वटा अर्धजंगली कुकुर रहेका छन् । कुकुर नियन्त्रण गर्न लाङटाङका स्थानीय बासिन्दा, वडा कार्यालय, निकुञ्जका कर्मचारी र कालिजंग गणका नेपाली सेना परिचालन भएका छन् । कुकुर नियन्त्रण अभियान दुई सातासम्म चल्नेछ । पछिल्लो दिनमा निकुञ्ज क्षेत्रमा प्रजाति संरक्षणका कार्यक्रम सञ्चालन भएपछि वन्यजन्तुको संख्या बढ्दै गएको छ ।

संरक्षणका कार्यक्रम सञ्चालन भएपछि लाङटाङमा विश्वमै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु हिउँ चितुवाले खाने आहारा बढेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले सन् २०१७ मा गरेको एक अध्ययनअनुसार लाङटाङमा हिउँ चितुवाको आहारा प्रशस्त बढ्दै गएको तथ्यांकमा देखिएको छ । हिउँ चितुवाको मुख्य आहार भनेको हिमाली क्षेत्रमा पाइने झारल हो । सन् २००९ मा गरिएको अध्ययनअनुसार झारलको संख्या ३ सय ४१ थियो । सन् २०१७ मा यो संख्या बढेर ४ सय पुगेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । लाङटाङको घोडा तबेलादेखि लाङसिसासम्म झारल पाइन्छन् ।

प्रकाशित : असार १४, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?