७१ प्रतिशत पानीमा कोलिफर्म

काठमाडौँ — ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो ।

७१ प्रतिशत पानीमा कोलिफर्म

कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आइरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्यधिक पाइएको छ । कार्यालयले लुभु, भैंसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनार, पोखरी, टयांकीलगायत १० खानेपानी आयोजनाअन्तर्गतका विभिन्न ठाउँमा गरेको खाने गुणस्तर पानी नमुना परीक्षणबाट यस्तो पत्ता लागेको हो ।

कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । यसअघि गरिएको ४५ नमुना परीक्षणमा ८६ प्रतिशत कोलिफर्म भेटिएको थियो । बर्खामा यसको जोखिम अझै बढेर जाने कार्यालयका प्रमुख डा. खगेश्वर ज्ञवालीले बताए ।

‘जिल्लामा खानेपानीको स्थिति सन्तोषजनक छैन, पानी जस्तो आधारभूत वस्तु निर्धक्क भएर प्रयोग गर्ने वातावरण हुनुपर्छ,’ उनले भने । खानेपानी योजनाले पानी पूर्ण शुद्धीकरण गरेर मात्रै वितरण गर्नुपर्ने उनले बताए ।

दिसा मिसिएको पानीले हानिकारक ब्याक्टेरिया पैदा गर्छ । जसले मानव स्वास्थ्यमा हैजा झाडापखाला, टाइफाइड जन्डिस जस्ता समस्या निम्त्याउँछ । त्यस्तै आँखा, कान पाक्ने, छालामा एलर्जी हुने समस्या पनि हुन्छ । यस्तो पानीले मूत्रप्रणालीमा संक्रमण हुने गरेको छ । कोलिफर्म मिसिएको पानी घरको सामान्य फिल्टरले शुद्ध गर्न नसक्ने कार्यालयका ल्याब अधिकृत शंकर पौडेल बताउँछन् । ‘डेंगुजस्ता लामखुट्टेजन्य रोग पनि फोहोर पानीले निम्त्याउँछ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनका अनुसार खानेपानीमा कोलिफर्मको मात्रा शून्य हुँदा मात्रै पानी पिउन योग्य हुन्छ । ललितपुरका बासिन्दा भने ५० प्रतिशतभन्दा बढी कोलिफर्म मिसिएको पानी पिउन बाध्य छन् । जिल्लाका खानेपानी निगरानी गर्दा पानी हेर्दा सफा, गन्धहीन र नुन नभएको हुनुपर्ने जस्ता न्यूनतम गुणस्तर पनि नभएको भेटिएको कार्यालयले जनाएको छ ।

खानेपानीमा ढल मिसिने, पानीको पाइप फुट्ने र नियमित अनुगमन नहुँदा यस्तो समस्या देखिएको पौडेलको भनाइ छ । ‘पाइपलाइन नै खियाइदिने केमिकल मिसिएको पानीले मानव शरीरमा दीर्घकालीन समस्या निम्त्याउँछ,’ उनले भने, ‘जमिनमुनिको पानी सुरक्षित छैन, सेफ्टीट्यांकी प्वाल परेका छन्, इनारमा दिसा मिसिएर पानी दूषित बनाएको छ ।’ सिधै ढल मिसिएको पानी सेवन रोक्न काठमाडौंमा ढल व्यवस्थापन सुधारिनुपर्ने उनको तर्क छ ।

खानेपानी तथा ढल निकास विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा ८० प्रतिशत जनसंख्यालाई पानी उपलब्ध छ । जसमध्ये ५० प्रतिशतले जनताले पाइपबाट वितरित पानी उपभोग गर्छन् । औद्योगिक क्षेत्र उद्योग कलकारखाना र स्वास्थ्य संस्थाबाट निष्कासित हानिकारक फोहर सिधै पानीमा मिसिँदा पनि उपत्यकाको पानी असुरक्षित बन्दै गइरहेको छ ।

प्रकाशित : असार १५, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?