२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सडक भासिएपछि पुल धराप

अनिश तिवारी

तिम्बु (सिन्धुपाल्चोक) — बर्खे भेलले सडक कटान गरेपछि हेलम्बु गाउँपालिकाअन्तर्गत तिम्बुस्थित दुङतेम्बा पुल धरापमा परेको छ । सवारीसाधन ठप्प छन् । अविरल वर्षाका कारण मंगलबार रातिको भेलले पुलको मुखैको सडक भासिएको हो ।

सडक भासिएपछि पुल धराप

तिम्बु हुँदै दर्जनौं गाउँ जानुपर्ने यात्रु बाटैमा अलपत्र परेका छन् । करिब १५ वर्षअगाडि मेलम्ची खानेपानी आयोजनाद्वारा निर्मित दुङतेम्बा पुल मेलम्ची खोला तर्ने एक मात्र साधन हो । वर्षाले बढेको खोल्साले पुलको छेवैको भाग झारेपछि आवागमन ठप्प भएको हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।

सवारी पार हुन नसकेपछि घुम्न गएका पर्यटक र स्थानीय समस्यामा परेका छन् । हेलम्बुका मेलम्चीघ्याङ, शेर्माथान, मिलारेपा खार्चुङ, ठूलोढुंगा, तार्तुङ रिबर्मा, सर्काथलीजस्ता दुई दर्जन गाउँ जान यही पुल तर्नुपर्छ । ‘सोमबारदेखिको वर्षाका कारण खोल्सो बढेपछि दुङतेम्बा पुल धरापमा पर्‍यो,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने, ‘खोल्सो कटाएर तत्कालै पुल मर्मतको पहल थालिएको छ ।’

पुल जोगाउन जालीमा ढुंगा भर्ने योजना रहेको उनले सुनाए । ‘खोल्सा बढेपछि खोलाको रूप लिन्छ अनि हिँड्न मुस्किल पर्ने गरेको छ,’ शेर्पाले भने, ‘बर्खालगत्तै सडकको हालत पनि बिग्रदै गइरहेको छ ।’ बाह्रै महिना सडक सञ्चालनमा मर्मतकार्य तीव्र पारिए पनि वर्षाले समस्या पारेको उनको भनाइ छ । अहिले हेलम्बु क्षेत्रका आधा दर्जन खोलामा पानी बढेको छ ।

यसले गर्दा आवागमन जोखिमपूर्ण बनेको छ । पुलबाट सवारीसाधन आउन नसकेपछि दुर्गम बस्ती पुग्न घण्टौ हिँड्नुपर्ने बाध्यता आइलागेको स्थानीय काल्वेलकुल हयोल्मोले गुनासो पोखे । ‘जताततै खोला र खोल्सा छोडिएकाले पुल धरापमा पुग्यो, अब सबैले दु:ख पाउनुपरिरहेको छ,’ उनले भने । ग्राभेल र मर्मत गरिएका सडकखण्ड पनि वर्षापछि पुरानै अवस्थामा फर्काएको उनले जनाए । ‘बर्खामा सधैं यस्तै हुन्छ, कहाँ कहिले के हुन्छ डराएर हिँड्नुपर्ने अवस्था छ,’ हयोल्मोले भने ।

प्रकाशित : असार २१, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?