१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्यटनसँग जोडिँदै चेपाङ

हरिहरसिंह राठौर

विशालटार (धादिङ) — बेनीघाट रोराङ गाउँपालिकाले राजमार्गवरपरका परम्परागत चेपाङ बस्तीलाई पर्यटनसँग जोड्ने विशेष कार्यक्रम अघि सारेको छ ।

पर्यटनसँग जोडिँदै चेपाङ

बस्तीमा सडक सञ्जालसँगै ग्रामीण पर्यटनमार्फत मौलिक कलासंस्कृति, अस्तित्व र पहिचान जोगाउन समुदायमा आधारित संग्रहालय निर्माणलाई स्थानीय सरकारले प्रमुख प्राथमिकतामा पारेका हुन् । यसका लागि बृहत् पर्यटन गुरुयोजनै बनाउने योजना छ ।

आगामी आवका लागि ५० करोड २३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दैै गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीले चेपाङ समुदायको बाहुल्य क्षेत्रमा उनीहरूकै उत्थानमा जोड दिनुपर्ने बताए ।

जिल्लाका कुल २१ हजार चेपाङमध्ये १५ हजारभन्दा बढी बेनीघाट रोराङमै बसोबास गर्छन् । पृथ्वी राजमार्गसँग जोडिए पनि विकट दक्षिणी भेकमा रहेकाले उनीहरू अझै पनि च्युरी फल, चमेरा र वन्यजन्तुको सिकार, गिठाभ्याकुरले छाक टार्नुपर्ने बाध्य छन् । बेनीघाट रोराङमा १ हजार ८ सय ८५ घरधुरी छन् ।

जिल्लाभरि गरी ३ हजार १ सय ८५ घरधुरी रहेका चेपाङ समुदायलाई पर्यटकीय सञ्जालमा जोड्न १० वर्षे गुरुयोजना अघि सारिएको डल्लाकोटीको भनाइ छ । ‘राजमार्ग वरपरका सीमान्तकृत र लोपोन्मुख चेपाङ समुदायलाई पर्यटकीय सञ्जालमा जोड्न विशेष अभियान थालिएको छ । त्यसलाई मूर्त रूप दिन हुग्दी खोला पर्यटन विकास विस्तृत परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन तत्काल गराउँदै छौं । सोहीअनुरूप बजेट पनि व्यवस्था गरेका छौं,’ उनले भने ।

सरकारले त्रिदेशीय मार्गका रूपमा तिब्बतको केरुङदेखि गल्छी–मलेखु–लोथर भण्डारा जोड्ने सडकको नाम पनि चेपाङमार्ग नै राखेको छ ।

प्रकाशित : असार २३, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?