कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोपाइँ ५० प्रतिशत मात्र

हेटौंडा/सिन्धुपाल्चोक — असार महिना सकिनै लागे पनि मकवानपुरमा ५० प्रतिशत मात्र रोपाइंँ सकिएको छ । झमझम पानी नपरेकाले ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको हो ।

रोपाइँ ५० प्रतिशत मात्र

‘सिँचाइको अभाव भएका क्षेत्रमा रोपाइँ गर्न सम्भव हुने गरी पानी नै परेकै छैन,’ जिल्ला कृषि विकास कार्यालय मकवानपुरका बाली अधिकृत रचना देवले भनिन्, ‘असारमा एक/दुई दिनबाहेक खासै पानी परेको छैन, त्यसैले जिल्लाका विभिन्न स्थानमा रोपाइँ गर्न बाँकी छ ।’ मकवानपुरमा सिँचाइ सुविधा भएको खेत पनि कम भएकाले आकाशे पानीमा भर पर्नु पर्ने कृषकहरूको बाध्यता छ ।

मकवानपुरका अधिकांश टारीखेतमा रोपाइँ भएको छैन । गत वर्ष पनि पानी अभावले कृषकले टारीखेतमा रोपाइँ गर्न पाएका थिएनन् । रोपाइँ गर्न समस्या भएपछि कृषकहरूले मकैलगायत अन्य बाली लगाएका थिए । कृषि विकास कार्यालय मकवानपुरका अनुसार जिल्लामा सबैभन्दा बढी बकैया गाउँपालिकामा रोपाइँ भएको छ । जिल्लामा सबैभन्दा कम रोपाइँ भएको राक्सिराङ गाउँपालिका हो । थाहा नगरपालिकामा ९९ प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको छ । उक्त क्षेत्रको जमिनमा सिँचाइ सुविधा पनि छ ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्लामा पनि कम वर्षा भएकाले ३० प्रतिशत मात्र रोपाइँ सकिएको छ । वर्षा नहुँदा रोपाइँ सुस्त भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म पानीको अभावले थोरै भू–भागमा मात्रै रोपाइँ भइरहेको छ ।

कृषि कार्यालयका सूचना अधिकारी दुर्गादत्त पन्थीका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष नियमित वर्षाको भएको छैन । ‘सुरुमा केही वर्षा भए पनि पछिल्लो समयमा पानी परेको छैन,’ उनले भने । अघिल्लो वर्ष बेलैमा वर्षा हुँदा यही समयमा ४५ प्रतिशत रोपाइँ सकिएको उनले बताए ।

जिल्लामा १२ हजार २ सय ३५ हेक्टरमा धानबाली लगाउने गरिएको छ । जसमा झन्डै ३ हजार ३ सय हेक्टरमा रोपाइँ भएको छ । चौतारामा ३० प्रतिशत, मेलम्चीमा ४५ र बाह्रबीसे नगरपालिकामा ४० प्रतिशत तथा बलेफीमा ३२, सुनकोसीमा ३० र त्रिपुरा गाउँपालिकामा ५० प्रतिशत रोपाइँ भएको छ ।

पन्थीका अनुसार वर्षाकै कारणले जिल्लाको हिमाली भेगसहित इन्द्रावती र मेलम्ची करिडोरमा निकै कम रोपाइँ भएको छ । परम्परागत रूपमा भइरहेको रोपाइँलाई आधुनिक रूपमा सिँचाइको सुविधा पुर्‍याउन ३ नगर र ९ गाउँपालिकाका जनप्रतिनिधि जुटेका छन् ।

प्रकाशित : असार २५, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?