राजधानी सम्भाव्यता अध्ययन समिति : प्राथमिकता क्रम निर्धारण

हेटौंडा — प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले अध्ययन प्रतिवेदनको मस्यौदा तयार गरेको छ । समिति मातहतको प्रतिवेदन लेखन कार्यदलले स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा प्राथमिकता क्रम तोकेर सिफारिस गर्न लागेको हो ।

राजधानी सम्भाव्यता अध्ययन समिति : प्राथमिकता क्रम निर्धारण

भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रविन्दु लगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम तोकिन लागेको समितिका एक सदस्यले बताए । सोमबार (आज) सर्वदलीय बैठक बसेर समितिले प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।

मंगलबार बिहान १० बजे प्रतिवेदन बुझाउने समितिको तयारी छ । यसअघि समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो ।

काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगत स्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो । ‘औचित्यका आधारमा’ सभालाई प्रतिवेदन पेस गर्न बढीमा ४५ दिनको म्याद तोकेर वैशाख १४ गते गठित राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वैशाख ३० गतेबाट काम थालेको थियो ।

३ छुट्टाछुट्टै प्रस्ताव दर्ता भए पनि सभामा यसबारे छलफल अघि नै नबढाएपछि ३८ सांसदको हस्ताक्षरसहित सचिवालयमा निवेदन दर्ता भएलगत्तै समिति गठन भएको थियो ।

सांसद दीपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालीन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खड्का र जगत् सिंखडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाका रिता माझी र राप्रपा (प्रजातान्त्रिक) का रिना गुरुङ सदस्य छन् ।

प्रकाशित : असार २५, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?