ट्राउट माछाबाट मनग्गे आम्दानी

अनिश तिवारी

किउल (सिन्धुपाल्चोक) — हेलम्बु गाउँपालिकाको किउल पाटीगाउँका भण्डारी दाजुभाइले ‘ट्राउट’ माछा पाल्न थालेको २०७० फागुनदेखि हो । पहिलोपटक ‘ट्राउट रेन्बो’ प्रजातिको माछा पालन थाल्दा उनीहरूले नोक्सानी बेहोर्नुपर्‍यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झन्डै एक वर्ष उनीहरूको व्यवसाय सिकाइमा बित्यो ।

ट्राउट माछाबाट मनग्गे आम्दानी

विस्तारै माछा पालनमा ‘लर्निङ एन्ड डुइङ’ को ५ वर्षे अनुभवपछि भण्डारी दाजुभाइ अब्बल बनिसकेका छन् ।

माछा पालनबाट ५० लाखसम्म आम्दानी गर्ने उनीहरूले माछापालनको लागि भण्डारी ‘रेन्बो ट्राउट रिर्सच सेन्टर’ नै खोलिसकेका छन् । ‘यहाँ वार्षिक दुई लाख भुरा उत्पादन हुन्छन्, माछा पालनबारे सिक्न आउने गर्छन्,’ उत्तममणि भण्डारीले माछाको रेसवे पोखरी देखाउँदै भने, ‘बजारयोग्य माछाको लागि २ वर्षको समय कुर्नुपर्ने हुन्छ ।’ ५ रोपनी जग्गालाई पोखरी बनाएर वार्षिक १० टनसम्म माछा उत्पादन गर्दै आएको भण्डारीले बताए ।

‘गतवर्ष ७० लाख बराबरको माछा बिक्री गरियो,’ उत्तममणिले भने । सुरु गर्दा भालेपोथी छनोट, अन्डा निर्चोने, स्पोन संकलनजस्ता धेरै चरण पार गरिसकेपछि मात्रै माछालाई सुरक्षित भुरा बनाउन सकिने उनी बताउँछन् ।

‘माछा मर्नुको प्रमुख कारण ढुसी र अयोग्य पानीले गर्दा हो,’ उनी भन्छन्, ‘त्यसैले प्लान फिल्टर राखेर, माछालाई स्वथ्यकर राखिन्छ ।’ एका, एभिलेन्स, फिंगरलेन्स हुँदै एउटा अन्डारुपी माछालाई प्वाखले फिट्ने गरिन्छ । ‘प्रत्येक कात्तिक महिनामा सेडुल बनाएर काम गर्ने गर्छांै,’ किउलमा २ वर्षदेखि ‘ट्राउट’ माछा पालन गरिरहेकी माया तामाङले भनिन् । परिपक्व भएका माछा र अन्यलाई गणनात्मक रूपमा अलग छुट्टयाइने गरिएको उनले सुनाइन् । ‘यहाँ उत्पादित माछा यहीका रिर्सोट, होटलदेखि राजधानीसम्म पुग्ने गर्छ,’ उनले भनिन् ।

माछाबाट वार्षिक ३० लाख आम्दानी हुने भएपछि उत्साहका साथ जुटिरहेको मायाको भनाइ छ ।

माछालाई स्वस्थ्य राख्नका लागि नुनपानीको घोल बनाएर खुवाइने गरिएको छ । जसले बजारमा लैजान नबनेसम्म फुर्तिलो बनाइराखोस् भन्ने लक्ष्य हुन्छ ।

ट्राउट माछाको माग बजारमा सधैं बढिरहने भएपछि भण्डारी र मायाजस्ता उद्यमी हेलम्बु गाउँपालिका भर भेटिन थालेका छन् । अन्यभन्दा राम्रो आम्दानी हुने भएपछि माछापालनप्रति कृषकको आकर्षण बढ्दो छ ।

जिल्लाको भोटेकोसी गाउँपालिकाको तातोपानीदेखि हेलम्बु, मेलम्ची नगर क्षेत्रमा व्यावसायिक रूपमा ‘रेन्बो ट्राउट’ माछा पालन हुने गरेको छ । जिल्लाभर १० वटा ट्राउट माछा फर्म रहेको र जसले वार्षिक १६ टनसम्म माछा उत्पादन गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

‘ट्राउट रेन्बो फ्रेस वाटर फिस हो, जुनको लागि चिसो भेग उपयुक्त मानिन्छ,’ कृषि विकासका सूचना अधिकारी दुर्गादत्त पन्थीले भने, ‘अरूभन्दा व्यवस्थित तरिकाले ठूलो आम्दानी हुने देखेपछि जिल्लाभरका कृषक यसतर्फ इच्छुक देखिएका छन् ।’ उनले ‘रेन्बो ट्राउट ’माछालाई पर्यटकले कोसेलीको रूपमा लैजाने गरेकाले सोही भौगोलिक क्षेत्रमा पालन अत्यधिक भएको सुनाए । राजधानीमा व्यापक माग भएकाले यो जातको माछा पालनमा कृषकको आकर्षण बढ्दो छ,’ उनले भने ।

प्रकाशित : असार २६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?