कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्राविधिक शिक्षाले गाउँमै रोजगारी

प्रताप विष्ट

हेटौंडा — एसएलसी (हाल एसईई) परीक्षामा असफल हुँदाको पीडा अहिले उनले चटक्कै बिर्सेकी छन् । एसएलसीमा फेल भएपछि के गर्ने होला भनेर भाैंतारिएकी थिइन् कैलाश गाउँपालिका ९ नामटारकी जुनु थिङ ।

प्राविधिक शिक्षाले गाउँमै रोजगारी

तर हेटौंडा उपमहानगरपालिका १६ हटिया चिसापानीस्थित जनप्रिय माविमा एसएलसी फेल भएकाले जेटीए पढ्न पाउने थाहा पाएपछि उनी २०६९ सालमा भर्ना भइन् । १८ महिना पढेर उनी जेटीए भइन् । गाउँमै अहिले उनले जागिर पनि पाएकी छन् । एक गैरसरकारी संस्थाले थिङलाई जागिर दिएको हो । घरमा बसेर गाउँका कृषकहरूलाई कृषि कर्म गर्ने तरिका पनि सिकाउने गरेकी छन् । आफूले पनि तरकारी खेती गरेकी छन् ।

थिङ मात्र होइन, हटियास्थित प्राविधिक विद्यालयमा जेटीए पास गरेर हेटांैडा चुरियामाईका रत्न बम्जनले पनि सजिलैसँग रोजगारी पाए । एसएलसी फेल भएपछि आत्महत्या गर्ने प्रयास गरेका कैलाश गाउँपालिकाको डाँडाखर्कका नवीन गुरुङले जनप्रियस्थित विद्यालयमा प्राविधिक शिक्षा जेटीए पढेपछि उनी हाल आत्मनिर्भर भएका छन् । ‘एसएलसी फेल भए पनि १८ महिने जेटीए पढेपछि जागिर पनि पाइएको छ,’ गुरुङले भने, ‘सीपबिनाको पढाइ काम रहेनछ, बल्ल बुझँे ।’ अहिले उनी थाहा नगरपालिकाको बज्रबाराहीमा जागिरे छन् । १२ कक्षा उत्तीर्ण गरेका आफ्नो सहपाठी जागिर नपाएर कतार गएको उनले सम्झिन थालेका छन् ।

हेटाैंडा बजारबाट करिब ६ किलोमिटर दूरीमा रहेको हटियास्थित प्राविधिक विद्यालयले २०६२ सालदेखि कृषि तथा पशु जेटीए शिक्षा कक्षा सञ्चालन गरेका थिए । सीटीईभीटीको स्वीकृति लिएर १३ वर्षअघिदेखि प्राविधिक शिक्षा सञ्चालन गरेको यस सामुदायिक विद्यालयले २ हजार १ सय जना प्राविधिकहरू उत्पादन गरिसकेको प्रधानाध्यापक नमराज अर्यालले बताए । उत्पादित प्राविधिकहरूले सरकारी तथा गैरसरकारी संस्थामा सहज ढंगले रोजगारी पाएको उनले बताए । केहीले आफंैले तरकारी खेती र पशुपालन गरिरहेका छन् ।

मकवानपुर जिल्लामा रहेका स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयहरूमा प्राविधिक कक्षा सञ्चालन गर्ने प्रयत्न गरिरहेका छन् । सरकारले जनप्रिय माविलाई नमुना विद्यालयका रूपमा घोषित गरिसकेको छ । नमुना विद्यालयको निम्ति भौतिक संरचनाहरू निर्माण गर्न तत्काल १२ करोड रुपैयाँ उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईंले बताए । कक्षाकोठा, सभाहल, प्रयोगशाला छात्रावास भवन निर्माणाधीन अवस्थामा छन् उनले भने ।

यस प्राविधिक विद्यालयमा अहिले जेटीए र भेटरिनरीको डिप्लोमा तहको अध्ययन भइरहेको छ । प्राविधिक विषय अध्ययन गर्ने यस विद्यालयमा ४ सय विद्यार्थी छन् । ५० प्रतिशत विद्यार्थी मकवानपुरका छन् भने ५० प्रतिशत विद्यार्थी ३७ जिल्लाबाट आएका छन् । यस विद्यालयमा थोरै विद्यार्थी अट्ने छात्रावास पनि छ । बाहिरी जिल्लाबाट अध्ययन गर्न आएका विद्यार्थीहरू गाउँमै कोठा भाडामा लिएर बसेका छन् ।

कृषि र पशुपालन अध्ययन गर्ने विद्यार्थीलाई अभ्यास गराउन गाई पनि पालिएको छ भने तरकारीलगायत खाद्य बाली पनि लगाउने गरिएको छ । विद्यालयको परिसरमा अहिले करेला, बन्दाकोपी, लौका र काउली खेती गरिएको छ भने मकै पनि लगाइएको छ । उत्पादित तरकारी बजारमा बिक्री गर्ने गरिएको छ । उक्त विद्यालयमा प्राविधिक विषयको अध्ययनका निम्ति भर्ना हुन भीड लाग्ने गरेको छ । विद्यालयले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्ने गरेको छ ।

प्रकाशित : असार २६, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?