पर्यटकीय गन्तव्य बन्दै भालुखोप

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला सदरमुकाम मन्थलीमा गर्मी खप्न नसक्नेहरुलाई नयाँ गन्तव्य बनेको छ, रामेछापको भालुखोप । जहाँको मौसमले आन्तरिक पर्यटक तानिरहेको छ । भालुखोप चिसो छ ।

पर्यटकीय गन्तव्य बन्दै भालुखोप

वरिपरी धेरै परसम्मका दृष्य देखिन्छन् । हिमाल खुलेका बेला पश्चिमको गणेश हिमालदेखि नुम्बुरसम्म लस्करै हिमाल देखिने भालुखोप गर्मी मौसमका लागि उत्कृष्ट गन्तव्य हो ।


मन्थलीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्दा रामेछाप अनि नजिकैको भालुखोपमा पातलो ज्याकेट लगाउनै पर्छ । पानी परेको मौसममा त अली बाक्लै लुगा आवश्यक पर्छ ।

भालुखोप रामेछाप नगरपालिकाको उच्च पहाडी भूभाग हो । उक्त डाडाँको थुम्काबाट मौसम सफा भएको बेला काठमाण्डौंको धरहरा देख्नेहरु धेरै छन । ‘पछिल्ला धेरै वर्ष मौसम सफा हुदैन, जहिल्यै धुम्ब’ स्थानीय ललितवहादुर बस्नेतले भने,‘जनकपुरमा बेलुका वत्ति बलेको झिलिमिली पनि यहिँबाटै देखिन्थ्यो ।’


रामेछाप नगरपालिकाले भालुखोप डाडाँलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारेको छ । भालुखोपमा भ्यू टावरको निर्माणका लागि नगरपालिकाले योजना बनाएको छ । रामेछाप बजारसम्म सडक कालोपत्रे भएको छ । रामेछापबाट भालुखोपसम्मको सडकलाई समेत कालोपत्रे गरेर आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्य रहेको नगर प्रमुख नगरबहादुर मगरले बताए ।


भालुखोप डाडाँमा पर्यटकहरुलाइ आर्कषण गर्ने क्रियाकलाप नगरपालिकाबाट अघि बढेपछि स्थानीय बासिन्दाले होटल तथा लजमा लगानी थालेका छन । यसै साता भालुखोपमा खुलेको साङगेल गेष्ट हाउसका सञ्चालक लालबहादुर तामाङ्गले भने, ‘अब भालुखोप आउनेले बास पाइन भनेर फर्कनु पर्दैन ।’


खानेकुरामा भालुखोप पहिल्यै कहलिएको थियो । लोकल कुखुरा अनि ढिडो यहाँको स्वादिष्ट खाना हो । चिसो मौसममा अकबरे खोर्सानी अनि टिम्बुरको स्वादमा पल्केका स्थानीयहरु भालुखोप धेरै पटक धाइसकेका छन् । राम्रो बासको व्यवस्था नहुँदा रातीको बसाईमा समस्या थियो स्थानीय सुक्रबहादुर तामागंले भने, ‘अब विस्तारै लजहरु खुल्न थालेका छन् ।’


नजिकै जंगल, टाढाको दृष्यावलकोनका लागि अग्लो थुम्को, बनभोज खानका लागि रमणीय पार्क भालुखोपका थप आकर्षक हुन । त्यस माथि व्यवसायिक जुनार सुन्तला खेती क्षेत्रमा पर्ने भएकाले मंसिर पुसमा पुग्नेले बेग्लै रमाइलोको अनुभुति समेत गर्न सक्छ ।


भालुखोपमा आन्तरिक र बाह्य पर्यटक यस कारण पनि तान्न सकिन्छ कि उक्त स्थानमा सबै परिकार स्थानीय नै हुन्छन । ‘हरेक प्रकारका तरकारी, फलफुल अनि लोकल भाले यहि नै पाइन्छन्’ स्थानीय व्यवसायी मोहन श्रेष्ठले भने, ‘लोकल पाइदैन कि भन्ने चिन्ता हैन, कि घर कति लाने भनेर योजना वनाएर आउदा हुन्छ ।’ भालुखोपमा पुगेर कोसेली नबोकी फर्कने कमै छन् ।


जिल्ला सदरमुकाम मन्थलीबाट २० किलोमिटर टाढाको भालुखोपलाई थप पुर्वाधारको विकास गर्ने उद्देश्यले जिल्ला वन कार्यालय, जिल्ला भू संरक्षण कार्यालय लगाएतले लगानी गर्दै आएका छन् । त्यस क्षेत्रलाइ व्यवस्थित विकास गर्न सकियो भने आन्तरिक मात्र नभै बाह्य पर्यटकहरुलाइ पनि १/२ दिनको बास बनाउन सक्ने अवस्था छ श्रेष्ठले भने ।

प्रकाशित : असार २६, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?