दशकपछि बन्दै महाविद्यालय

प्रताप विष्ट

हेटौंडा — दुई देशबीच सम्झौता भएको एक दशकपछि हेटौंडा उपमहानरपालिका–७ मा नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण सुरु हुने भएको छ । भारतको सरकारको सहयोगमा महाविद्यालय यसै महिनाको अन्तिम देखि निर्माण हुन लागेको हो ।

दशकपछि बन्दै महाविद्यालय

नेपाल र भारतको राष्ट्रपति स्तरमा २०६६ सालमा हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल भारत बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार हेटांैडामा जग्गा उपलब्ध गराएर तारबार लगाउने काम पनि गरिएको तर भारत सरकारको ढिलासुस्तीको कारणले महाविद्यालयको निर्माण कार्य सुरु हुन सकेको थिएन । भारत सरकारको सहयोगमा निर्माण गर्ने भनेर सम्झौता भएको उक्त महाविद्यालयको निर्माण कार्यको टेन्डर भारत सरकारले नै गत वर्ष निकालेको थियो । निर्माण कम्पनी पनि छनोट भइसकेको छ ।


भारतीय टीसीआईएन र नेपालको आरोग्य कन्स्ट्रक्सनले संंंयुक्तरूपमा निर्माण कार्यको ठेक्का पाएका छन् । ‘महाविद्यालयको निर्माण कार्य असारको अन्तिम सातादेखि सुरु हुन्छ,’ नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालय प्रमुख महेश्वर रञ्जितकारले भने, ‘महाविद्यालयको निर्माण कार्य गर्न आरोग्य कन्स्ट्रक्सनका व्यक्तिहरू हेटौंडा आइसकेका छन् ।’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महाविद्यालयको निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई दबाब दिँदै आएका छन् । मुख्यमन्त्री पौडेलको निर्माण कार्यमा चासो रहेकाले पनि काम छिटो सुरु हुन लागेको शिक्षालयका प्रशासकीय प्रमुख विष्णु घिमिरेले बताए । मुख्यमन्त्री पौडेल विगतमा महाविद्यालयका अध्यक्षसमेत थिए । उनले आइतबार महाविद्यालय निर्माणस्थलको अवलोकन गरेका थिए । ५५ करोडको लागतमा निर्माण हुने महाविद्यालयका भवनको निर्माण कार्य भारतीय टीसीआईएन र नेपालको आरोग्य कन्स्ट्रक्सनले संंंयुक्त रूपमा निर्माण गर्नेछन् । खानेपानी र विद्युतो काम नेपाल सरकारले गर्नुपर्ने शिक्षालयका प्रमुख रञ्जितकारले बताए । विगतमा नेपाल सरकारले समयमा नै जग्गा उपलब्ध गराउन सकेन र ईआईए पनि समयमा गर्न नसकेकाले पनि महाविद्यालयको निर्माण कार्य ढिला हुन गएको हो ।


भारत सरकारले अहिले चासोका रूपमा लिएकाले महाविद्यालयको निर्माण कार्य सुरु हुन लागेको मुख्यमन्त्री पौडेलले बताए ।


चित्रपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न एक दशकअघि नै साढे २६ बिगा जमिन उपलब्ध गराएको थियो । उक्त सामुदायिक वनमा रहेको २ हजार ३ सय ५१ वटा रूख कटान गर्नुपर्छ । विगतमा करिब ८ सय रूख मात्र कटान गर्नुपर्ने भनिए पनि अहिले २ हजार ३ सय ५१ वटा रूख कटान गर्नुपर्ने देखिएको छ । रूख कटान गर्न स्वीकृतिका लागि वन कार्यालयले प्रक्रिया अगाडि बढाइसकेको छ । ठेकेदार कम्पनीले अहिले खाली जमिनबाट भौतिक संंरचनाहरूको निर्माण कार्य सुरु गर्ने र रूख कटान गर्ने अनुमति प्राप्त भएपछि रूख कटान गरेपछि उक्त स्थानमा भौतिक संरचना बनाउने व्यवस्था मिलाएको शिक्षालयका प्रशासकीय घिमिरेले भने ।


रूख कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कात्तिकभन्दा अगाडि रूख काट्न आदेश दिन नमिल्ने भएकाले तत्काललाई खाली ठाउँबाट निर्माण सुरु हुने जनाएको छ । महाविद्यालयले रूख कटान गरेर संरचना निर्माण गर्न ठेकेदार जमिन उपलब्ध गराउनुपर्ने हुन्छ । निर्माण कार्य सुरु भएको दुई वर्षमा काम सम्पन्न गरिसक्नुपर्नेछ । साढे २६ बिगा जमिनमा अध्ययन गर्ने भवन, छात्रावास, खेलकुद मैदान, व्यावसायिक तालिम भवनलगायत संंरचनाहरू निर्माण हुनेछन् । पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात् आईटी, मेकानिकल र इलेक्ट्रीको विषयको पढाइ हुनेछ । यो महाविद्यालयले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षालय प्रमुख रञ्जितकारले बताए । महाविद्यालय स्थापना हुने स्थल हेटौंडा बजारबाट ६ किलोमिटर पूर्व पर्छ ।

प्रकाशित : असार २७, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?