अन्तिम किस्ता रोकिएपछि पीडित अलमलमा

२३ हजार ५ सय ६१ गुनासो दर्ता भई १६ हजार ५ सय ७७ घरधुरी भूकम्पपीडित थपिएका छन् 
हरिहरसिंह राठौर

धादिङ — पहिलो र दोस्रो किस्ताले घर पुनर्निर्माण भइसकेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम किस्ता रोकेपछि भूकम्पपीडित अलमलमा परेका छन् । भूकम्पले बस्ती जोखिममा रहेका उत्तरी धादिङका १० बस्तीका २ सय ७६ घरधुरीको अन्तिम किस्ता रोकिएको हो ।

अन्तिम किस्ता रोकिएपछि पीडित अलमलमा

तेस्रो किस्ता अनुदानका लागि निवेदन दिएका साविक दार्खा ८ धार्नाका कृष्णबहादुर तामाङ अलमलमा परेका छन् । कृष्णबहादुरसहित ५ घरलाई पहिरोले थप जोखिम बनाएको थियो । बस्ती जोखिमयुक्त हुँदाहुँदै पनि पहिलो र दोस्रो किस्ता लिएर पुनर्निर्माण गरी घर सर्ने बेला सरकारले उक्त बस्ती सार्नुपर्ने भन्दै अनुदान रोक्का गरेको हो । उत्तरी धादिङको हिन्दुङमा ९३ घरमध्ये २३ घरले पहिरोमाथि घर बनाइसकेका छन् । उनीहमध्ये नुर्बु तामाङ, कलमान तामाङलगायतले पनि तेस्रो किस्ताको रकम पाएका छैनन् ।

जिल्ला कार्यान्वयन इकाईका प्रमुख जिल्ला इन्जिनियर राजेन्द्र केसीले बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले स्थानीय बासिन्दालाई घडेरी किन्नसमेत रकम दिने र उनीहरूले सुरक्षित स्थानमै घर बनाउन मात्र सरकारले अनुदान रकम दिइने बताए । ‘त्यसका लागि किनेकै जग्गामा घर बनाउनुपर्छ,’ उनले भने । केसीका अनुसार सरकारले दिने बाँकी अनुदान अब पहिरो र जोखिमयुक्त बस्तीमा दिनेछैन ।

जोखिमयुक्त बस्ती सार्न जग्गा खरिदका लागि सरकारबाट पाएको २ लाख रुपैयाँले युवाहरूले धमाधम सदरमुकाम वरपरकै जग्गा खरिद गरेका छन् । जोखिमयुक्त बस्तीबाट युवाहरू मात्रै सर्दैछन् । तर वृद्धवृद्धाहरू जन्मेको र हुर्केको थातथलो छोडन मानेका छैनन् । सरकारले दिएको अनुदानको सदुपयोग गर्दै छोराले सदरमुकाम र आमाबाबुले पुरानै बस्तीमा आफ्नो हकभोग कायम राख्ने योजनामा रहेको अवस्था छ ।

जोखिमयुक्त बस्तीबाट सरकारले पुनस्र्थापना गरे पनि उक्त स्थानको लालपुर्जा, जग्गाको लगत कट्टा र बसाइसराइँसमेत गरेको कागजात मिलाइएको छैन । स्थानान्तरण गरिएको स्थानमा घर निर्माण गर्न सरकारले थप ३ लाख अनुदान दिने व्यवस्था छ । सधैंभरि पहिरोको जोखिममा रहेको चपाङचेतका नेत्रबहादुर घलेले सरकारले पुनस्र्थापनामा ढिलाइ गर्दा पहिलो र दोस्रो किस्ताको रकम पनि लिए । हाल घलेले सरकारले दिएको २ लाख रुपैयाँले ५ आना जग्गासमेत खरिद गरेका छन् । ‘पहिरोमाथि घर बनेको छ चपाङचेतमा ४० घर रहेकोमा अधिकांशले गाउँमा घर बनाउन पहिलो किस्ताको रकम ल्याएर घर निर्माण गरिरहेका छन् । पहिचान गरिएको २ सय ७६ घरमध्ये १ सय १८ परिवारले घडेरी किन्न २ लाख रुपैयाँ रकम पाइसकेका छन् ।

‘लामो समय कुर्दा पनि सरकारले बस्ती पहिचान गरी जोखिमको आंकलन नगरिदिएकाले पुरानै ठाउँमा घर निर्माण गरिसकेका थियौं,’ सेर्तुङका करन तामाङले भने, ‘गाउँबासीले बस्तीमा घर बनाइसकेर पहिलो दोस्रो किस्ताको समेत अनुदान रकम लगिसकेको भए पनि अर्को घर बनाएर मात्र पूरै अनुदान लिन पाइने बताएपछि कसरी अर्को घर बनाउने भन्ने अलमल छ ।’

जिल्लामा सर्वेक्षण गरी भूकम्प पीडित पहिचान भएका कुल ७६ हजार २ सय ६१ घरधुरी मध्ये ९९ प्रतिशतले सम्झौता गरी पहिलो किस्ता रकम लिइसकेका छन् । त्यसमध्ये ५३ प्रतिशत (५१ हजार ४ सय ६९) ले दोस्रो किस्ता र ४० प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिइसकेका छन् । जिल्लामा अझै २३ हजार ५ सय ६१ गुनासो दर्ता भई १६ हजार ५ सय ७७ घरधुरी थपिएका छन् ।

प्रकाशित : असार २८, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?