कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धरान–चतरा–हेटौंडा सडक : क्षतिपूर्तिका कारण निर्माण प्रभावित

हेटौंडा उपमहानगरपालिकाको गौरीटारदेखि वाग्मतीस्थित फापरबारीका विभिन्न भागमा घरगोठ अधिग्रहण गर्न बाँकी
प्रताप विष्ट

हेटौंडा — सडक सीमाभित्र पर्ने भौतिक संरचनाको क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रियाका कारण धरान—चतरा—गाईघाट—सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य प्रभावित भएको छ । पूर्ण सरकारी लगानीमा निर्माण भइरहेको यो सडकको कार्य यसअघि तीव्र गतिमा थियो ।

धरान–चतरा–हेटौंडा सडक : क्षतिपूर्तिका कारण निर्माण प्रभावित

सडकको मध्यभागबाट १५/१५ मिटरभित्र पर्ने घर, गोठलगायत भौतिक संरचनाको क्षतिपूर्ति आयोजनाले उपलब्ध गराउने व्यवस्था छ । तर जग्गाको रकम उपलब्ध नगराउने र घरगोठको क्षतिपूर्ति दिने नीति रहेको छ । उक्त सडकमार्गको ट्रयाक खोलेर कैयौं क्षेत्रमा नाली, तटबन्ध निर्माण गरेर कालोपत्रे गर्ने अवस्था पुगिसकेको छ ।

क्षतिपूर्ति उपलब्ध गराएर सडक चौडा गर्ने कार्य केही खण्डमा विलम्ब भएको छ भने केही ठाउँमा सडकको एलाइमेन्ट नै परिवर्तन गर्नुपर्ने देखिएको छ । हेटौंडा उपमहानगरपालिकाको गौरीटारदेखि वाग्मतीस्थित फापरबारीका विभिन्न भागमा घरगोठ अधिग्रहण नगरिसकेकाले सडक विस्तारले गति लिन सकेको छैन । खासगरी गौरीटारदेखि फुर्केचौरसम्मको सडक खण्डका दुवैतर्फ घरगोठ रहेका छन् ।

‘क्षतिपूर्तिको कुरा नटुंगिएकाले निर्माण कम्पनीले सडक चौडा गर्न पाएको छैन,’ पश्चिमी क्षेत्रका आयोजना प्रमुख कर्णबहादुर रानाभाटले भने, ‘क्षतिपूर्तिको कुरा टुंगिएपछि यस क्षेत्रमा आयोजनाको निर्माणले गति लिनेछ ।’ हेटौंडा उपमहानगरपालिका—६ को गौरीटारदेखि फापरबारीसम्म ८ सय ६७ वटा घरगोठ सडक सीमाभित्र पर्छन् । तिनलाई भत्काएर क्षतिपूर्ति दिने रकम पनि भवन प्रविधि तथा तालिम केन्द्रले निर्धारण गरिसकेको छ । ‘संरचना भत्काएर क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रियामा जाँदै छौं,’ आयोजना प्रमुख रानाभाटले भने । ८ सय ६७ वटा घरगोठको क्षतिपूर्ति ८१ करोड रुपैयाँ उपलब्ध गराउनुपर्ने देखिएको छ ।

आयोजनाको पश्चिमी क्षेत्रमा नै पर्ने सिन्धुलीको कमलामाई नगरपालिकाको धुरा बजारमा सडक सीमाभित्र ३ सय संरचना पर्दछन् । उक्त क्षेत्र भएर सडक निर्माण हुँदा धुरा बजार पूर्णरूपमा विस्थापित हुनेछ । कमलामाई नगरपालिकाले सडकको एलाइमेन्ट नै परिवर्तन गर्न आयोजनालाई दबाब दिइरहेको छ । आयोजनाले पनि एलाइमेन्ट परिवर्तन गर्न प्राविधिक ढंगले सम्भव देखिए गर्न सकिने जनाएको छ । सडक विस्तार गर्न विद्युतका पोलहरू पनि समस्या भएका छन् । विद्युत् प्राधिकरणले समयमा नै पोलहरू नहटाएका कारण निर्माण कार्य अल्झाउने काम भएको सडक आयोजनाले जनाएको छ ।

सडक करिब २२ अर्वको लगानीमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना छ । तीव्र गतिमा निर्माण कार्य अघि बढेको छ । कुल आयोजनाको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पुलको ३५ प्रतिशत काम सम्पन भइसकेको आयोजनाको भनाइ छ । लोजार, माझी र कालीखोलाको पुल निर्माण भइसकेको छ ।

आयोजनामा कुल ७५ वटा पुल निर्माण गर्नुपर्नेछ । जसमा पश्चिमी खण्डमा ३३ र पूर्वी खण्डमा ४२ वटा पुल निर्माण गर्नुपर्छ । पश्चिमी क्षेत्रमा ३ वटा पुल सम्पन्न भइसकेका छन् भने १२ वटाको ५० प्रतिशत काम भइसकेको आयोजनाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा मकवानपुरमा १२ र सिन्धुलीमा २१ वटा पुल पर्छन् । करिब १५ महिनाको बीचमा ३३ वटै पुल निर्माण गरिसक्ने आयोजनाको दाबी छ । सडक निर्माणमा १ सय १५ किलोमिटरमध्ये ७० किलोमिटर लम्बाइ टेवा पर्खाल, नाली कजवे निर्माण गरिसक्नुका साथै ११/११ मिटर चौडा बनाइसकिएको छ । ४० किलोमिटर सडकमा कालोपत्रे गर्न तयारी हालतमा राखिएको छ । ‘वर्षाको समय भएकाले कालोपत्रे नगरेका हौं,’ आयोजना प्रमुख रानाभाटले भने, ‘घरगोठको अधिग्रहण र क्षतिपूर्तिका कारणले ४५ किलोमिटर सडकमा काम हुन बाँकी छ ।’

३ सय ११ किलोमिटर लामो सडकलाई २ खण्डमा विभाजित गरेर निर्माण भइरहेको छ । हेटौंडादेखि सिन्धुलीसम्मको १ सय १५ किलोमिटर दूरीको पश्चिमी खण्ड र सिन्धुलीदेखि धरानसम्मको १ सय ३४ किलोमिटर दूरीको पूर्वी खण्डमा विभाजित गरेर निर्माण कार्यलाई अगाडि बढाइएको छ । हेटौंडादेखि सिन्धुलीसम्मको सडक, पुल–पुलेसा र कल्भर्ट निर्माण गर्न हेटौंडामा आयोजनाको कार्यालय स्थापना गरिएको छ भने पूर्वी क्षेत्रको गाईघाटमा आयोजनाको कार्यालय राखिएको छ ।

सडकको ट्रयाक खोल्ने कार्य गत वर्ष नै सम्पन्न भएको थियो । सरकारले उक्त सडकलाई प्राथमिकताको आयोजनामा राखेर चालु आवका निम्ति ३ अर्ब रुपैयाँ विनियोजित गरेको छ । पश्चिम खण्डमा कालिका, स्वच्छन्द र राकेन जेभी कम्पनीले निर्माण कार्यको ठेक्का लिएका छन् भने पूर्वी खण्डमा लामा, शर्मा र रसुवा जेभी कम्पनीले जिम्मेवारी पाएका छन् ।

तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले १० प्रतिशत बोनस पाउने व्यवस्था गरिएको छ भने तोकिएको समयमा काम नसक्ने कम्पनीले १० प्रतिशत हर्जाना बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजनाले साईट क्याम्प तथा निर्माण सामग्री प्रयोगशालासमेत स्थापना गरी काम गरिरहेको छ । दुई दर्जन भन्दावढी मेसिन प्रयोगगरी सिन्धुलीको खट्टार, धमिले र मकवानपुरको बागमती गाउपालिकामा सडक चौडा पार्ने काम धमाधम भइरहेको छ । सडकको पश्चिमी खण्डको सिन्धुलीमा ६६ र मकवानपुरमा ४८ किलोमिटर पर्छ ।

सडक निर्माण गर्न करिब ९ हजार रुख कटान गर्नु पर्ने हुन्छ । तीमध्ये हेटौडा–सिन्धु्ली क्षेत्रमा ४ हजार ३ सय रुख कटान भइसकेका छन भने र सिन्धुली–धरान क्षेत्रमा ५ हजार ७ सय रुख कटान गर्नुपर्ने छ ।

प्रकाशित : असार २८, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?