कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रभावकारी बन्दै चुरे संरक्षण

हेटौंडा — चुरे क्षेत्र संरक्षण गर्न गठित राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको प्रभाव देखिन थालेको छ । विशेषगरी बकैया नदी प्रणाली संरक्षण कार्यक्रम मकवानपुरमा सञ्चालन गरिएपछि यसको प्रभावकारिता बढेको हो ।

प्रभावकारी बन्दै चुरे संरक्षण

जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय हेटौंडा, जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, वनस्पति कार्यालयले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमअन्तर्गत बकैया नदी प्रणाली कार्यक्रम विगत ३ वर्षदेखि प्रभावकारी ढंगले संरक्षण गर्दै आएका छन् । चुरेको खहरेबाट अत्यन्त प्रभावित बकैया गाउँपालिका र हेटाैंडा उपमहानगरमा पर्ने हर्नामाडी र हटियाका विभिन्न भागमा तटबन्धन गरेर बस्तीलाई बचाउनको साथै खहरेबाट हुने जमिन कटानलाई रोकेको छ ।

जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय हेटांैडाले छत्तिवनस्थित बकैया खोला नियन्त्रण गर्न छतिवन–४ रमनटारमा २ सय ९० मिटर लामो तटबन्धन निर्माण गरेको छ । नयाँ स्परहरू निर्माण गर्नुको साथै पुरानो मर्मतसम्भार पनि गरेको छ । तटबन्धनले रमनटारको ५० घरधुरीको संरक्षण गर्नुको साथै ७५ बिगाभन्दा बढी ऊर्वरा जमिनको कटानलाई रोकेको छ ।

यसैगरी छतिवन ८ कर्मचुलीमा बकैया नदीको नियन्त्रण गर्न २ सय २० मिटर लम्बाइ रहेको तटबन्धन निर्माण गरेको छ । ‘यो तटबन्धनले कर्मचुलीको सिंगो बस्ती जोगाउनुको साथै सय बिगाभन्दा बढी ऊर्वरा जमिनको संरक्षण गरेको छ,’ जल उत्पन्न प्रकोप व्यवस्थापन हेटाैंडाका प्रमुख मनोहर रिजालले भने, ‘बकैया नदी प्रणालीको संरक्षण कार्यक्रमले छतिवनका धेरै बस्ती र ऊर्वरा जमिनलाई संरक्षण गर्न सफल भएको छ ।’ जल उत्पन्नले प्रकोप व्यवस्थापन हेटौंडाले यस चालु आवमा छतिवन–४ हात्तीखोलामा २ सय २५ मिटर निर्माण गरेको छ भने बकैया खोलाको शिर देउता खोलामा पनि तटबन्धन निर्माण गरेको छ । चालु आवमा जलउत्पन्नले बकैया नदी प्रणाली संरक्षण कार्यक्रमअन्तर्गत ३ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।

गत आर्थिक वर्षमा छतिवनको ८ र ९ को बस्ती सुकौरा खोलाको दायाँबायाँ तटबन्ध गरेर बस्तीलाई संरक्षण गरेको थियो । बस्ती मात्र होइन, सयांै बिगा जमिन कटानबाट जोगाएको थियो । राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमबाट जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले सुकौरा खोलाको दायाँबायाँ एक हजार २ सय ८ मिटर लामो तटबन्ध निर्माण गरेकाले छतिवन गाविस ९ को जुइना, जुनेली बस्तीका ६२ घर सुरक्षित हुुनको साथै करिब सय बिगा जमिन जोगिएको थियो ।

‘गत वर्ष यतिको लामो र करिब ५ मिटर अग्लो तटबन्धन निर्माण नगरेको भए गत वर्षकै बाढीले जुइनाको बस्ती बगाउन सक्थ्यो,’ स्थानीयवासी धनबहादुर माझीले भने, ‘यो तटबन्धले बस्तीको साथै कमाइखाने जमिन जोगाएको छ ।’ १ करोड १८ लाखको लागतमा निर्माण गरिएको तटबन्धनमा ६ सय ६६ मिटर जालीमा ढुंगा भर्ने काम गरिएको थियो भने ७ वटा स्पर पनि निर्माण गरिएको छ । बस्ती र ऊर्वरा जमिन अहिले सुरक्षित भएको छ ।

विगतमा सुकौरा खोलाको खहरे छतिवन गाविस ८ र ९ को निम्ति अभिसापको रूमा रहँदै आएको थियो । यसैगरी भूसंरक्षण कार्यालयको पहलमा साविकको चुरियामाई गाविस ३ र ५ हाल हेटांैडा उपमहानगरपालिका १७ र १८ मा पर्ने रातोमाटेमा पर्ने ७ किलोमिटर लामो खहरेलाई नियन्त्रण गर्ने कार्य भएको छ । स्थानीय बासिन्दाको पहलमा विगत एक दशकदेखि नै उक्त खहरे नियन्त्रण गर्न पहल भइरहेको थियो । विगत चार वर्षदेखि भूसंरक्षण कार्यालयले खहरे रोकथाम गर्न चेकडयाम निर्माण गर्नुको साथै तटबन्धन निर्माण गरेको छ ।

उक्त खहरेमा ढुंगा र गिट्टी उत्खननको चाप अत्यधिक रहेकाले खहरेले धार बदल्ने गरेको छ । तराई तथा भित्री मधेसको पानीको मुहान र तराईको खाद्य भण्डारको सरक्षण गर्न सरकारले विशेष कार्यक्रमअन्तर्गत राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम ल्याएको हो । १ सय २० मिटरदेखि २ हजार मिटर उचाइमा रहेको कमलो र कान्छो पहाड चुरेको क्षेत्रको संरक्षण गर्न नसकेमा तराई मरुभूमिमा परिणत हुने खतरा रहेको छ ।

मकवानपुरका साविकका १० गाविस र हेटौंडा उपमहानगरपालिका केही वडा चुरे क्षेत्रबाट प्रभावित छन् । पातलो र खुकुलो माटो रहेको चुरेको खहरेले बर्सेनि मकवानपुरका सयभन्दा बढी बिगा जग्गा र दुई दर्जनभन्दा बढी घर बगरमा परिणत गर्दै आएको छ । यस क्षेत्रमा २ सयभन्दा बढी चुरेका खहरे छन् ।

प्रकाशित : असार २९, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?