कोदारी राजमार्ग अवरुद्ध

अनिश तिवारी

काठमाडौँ — कोदारी राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्डको झयालेभीरमा सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । अविरल वर्षाको कारण सिरिसे, डाक्लाङ, झिर्पुलगायत दर्जनौं स्थानमा पहिरो जानुका साथै सडक भासिएको हो ।

कोदारी राजमार्ग अवरुद्ध

बाह्रबिसे–तातोपानी सडकखण्ड बिहीबार बिहानदेखि भासिन थालेको थियो । सडक वरिपरिका भू–भागमा धाँजा फाटेपछि सडक मर्मत गर्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

‘पहिले सडक भासिएको मात्रै थियो, अहिले राजमार्गका विभिन्न स्थानमा पहिरो झरिरहेको छ,’ इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने, ‘पहिरो खस्नुका साथै सडक भासिएकाले मर्मत गर्न सकिएको छैन, यात्रुहरू अलपत्र परेका छन् ।’

वर्षायाम सुरु भएसँगै बाह्रबिसे तातोपानी सडकखण्डमा दैनिक जस्तो पहिरो झर्ने गरेको छ । पहिरोले जोखिम बढाएपछि सुरक्षाका लागि सशस्त्र र प्रहरी खटाइएको छ । तर पहिरो जाने क्रम नरोकिएपछि राजमार्ग सञ्चालनमा ल्याउन कठिनाइ हुने गरेको निरीक्षक क्षेत्रीले बताए । राजमार्ग अवरुद्ध भएपछि आफूहरू अप्ठयारोमा परेको स्थानीयको गुनासो छ ।

‘हिजो पनि त्यसै फर्किनुपर्‍यो, आज पनि बाटो नखुल्लाजस्तो छ,’ काठमाडौं जान हिँडेकी भोटेकोसी गाउँपालिका तातोपानीकी पेमाडोल्मा शेर्पाले भनिन्, ‘हिँडेर अर्को बाटो भेट्न ३/४ घण्टा लाग्छ ।’ पहिरोको जोखिमका कारण सवारीसाधनसमेत पातला चल्न थालेको उनको भनाइ छ ।

प्रकाशित : असार ३०, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?