कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बिचौलियाका कारण बालुवा महँगो

हरिहरसिंह राठौर

चिरौंदी (धादिङ) — काठमाडाैंको मनमैंजुमा घर बनाउँदै गरेका धादिङ रायोटारका बालकृष्ण अधिकारीले यसै साता ३ टिपर बालुवा मगाए । नियमित बालुवा बोक्ने टिपर चालकमार्फत मगाएको बालुवा उसै दिन निर्माणस्थलमै पुग्यो ।

बिचौलियाका कारण बालुवा महँगो

‘बालुवा कहाँबाट ल्याए त थाहा भएन, तर एक टिपर बालुवाको मैले ३५ हजार तिरे ।’ अधिकारीले भने, ‘घर बनाउन थालेको ३ महिनाको अवधिमा ३० हजार रुपैयाँदेखि ३५ हजारको दरले एक टिपर बालुवा खरिद गर्ने गरेको छु ।’

काठमाडाैंका उपभोक्ताले ३५ हजार रुपैयाँसम्म तिर्ने चिसो बालुवा पृथ्वीराजमार्ग छेउको त्रिशूली किनारमा मजदुरले भने ७ हजारका दरले बिचौलियालाई बेच्छन् । मजदुरदेखि उपभोक्तासम्म पुग्दा विभिन्न तहका बिचौलियाका कारण बालुवाको भाउले उपभोक्ताको ढाड सेक्ने गरेको छ । तर उर्लंदो भेलमा ज्यान जोखिममा राखेर दिनभर बालुवा झिक्ने मजदुरको श्रमले भने उचित मूल्य पाएका छैनन् । मापदण्डविपरीत सञ्चालित बालुवा प्रशोधन केन्द्र (फिरफिरे) बन्द हुने र खुल्ने क्रमसँगै बिचौलियाहरू नदीको बालुवामा बेच्नमा सक्रिय भएका हुन् ।

बालुवाको भाउ आकासिएपछि गल्छी गाउँपालिकाले जिल्ला प्रशासन तथा जिल्ला समन्वय समितिको समन्वयमा मजदुरले निकालेको बालुवाको प्रतिटिपर १२ हजार रुपैयाँभन्दा बढीमा उपभोक्तालाई बेच्न नपाइने नियम बनाएको गल्छी गाउँपालिकाप प्रमुख कृष्णहरि श्रेष्ठले बताए । धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले प्रहरी प्रशासन बिचौलिया नियन्त्रणमा क्रियाशील रहेका जनाए । उनले भने, ‘मजदुरहरू मर्कामा परेको गुनासो आएपछि प्रहरी परिचालन गरी बिचौलिया नियन्त्रण गर्न लागि परेका छौं ।’ गतसाता स्थानीय बालुवा ठेकेदार टंक भण्डारीसहित ५ जनालाई बालुवाको कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । तर पनि बिचौलियाको बिगबिगी भने कायमै छ ।

बिचौलिया समूह भने सदाझै सक्रिय र बलियो छ । हालै गल्छी गाउँपालिकाको छोटेवगर, रुगटारमा अवैध ढंगले बालुवा निकालेर बिक्री गर्ने कार्यमा संलग्न समूहले बालुवाको आम्दानी गाउँपालिकाको हुनुपर्ने आवाज उठाउने स्थानीय सिर्जना घलेलाई हातपातसमेत गरेका थिए । सिर्जनाले भनिन्, ‘नदीको बालुवा बेचेको आम्दानी गाउँपालिकाको हुनुपर्छ भनेर पटकपटक आवाज उठाउँदै आएको छु, विरोध नगर्न भन्दै ५/१० प्रतिशत सेयरको लोभ देखाइयो ।’ हातपात गर्नेहरूविरुद्ध जिल्ला प्रशासनमा निवेदन दिइए पनि आफूले मिलापत्र नगरेको र मिलापत्र नगर्दा आफूलाई समेत थुन्ने भएपछि बाध्य भएर मिल्नुपरेको लक्ष्मीले बताइन् ।


टिपरमा बालुवा भर्दैै मजदुरहरू ।

प्रकाशित : असार ३१, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?