१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपद् सामनाको तयारी

राजेन्द्र मानन्धर

दोलखा — भिरालो जमिनका कारण अधिकांश भाग पहिरोको जोखिममा परेको दोलखामा सतर्कताका सबै प्रयास अवलम्बन गरिएका छन् । पहिरो र बाढीले दोलखामा जनधनको ठूलो क्षति हुने गरेको छ । विगतका घटनाबाट सिक्दै जोखिमपूर्ण बस्तीमा हुनसक्ने बाढीपहिरोको प्रकोप सामना गर्न सतर्कता अपनाइएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

विपद् सामनाको तयारी

समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले स्थानीय तहदेखि सुरक्षा र संस्थागत निकायका जनशक्ति र स्रोतलाई परिचालन गर्न योजना बनाइएको बताए ।

तथ्यांकअनुसार दोलखाका अधिकांश जमिन ३० देखि ७० डिग्री भिराला छन् । जिल्लाका १ हजार २६ बस्तीमध्ये धेरैजसोमा पहिरो र बाढीको जोखिम छ । जोखिमयुक्त बस्तीमा सानातिना पहिरो जान सुरु भइसकेको छ । जमिन र ठाडा खोला, खोल्साको अध्ययनपछि भूगर्भविद्ले दोलखालाई उच्च जोखिमयुक्त जिल्लाको सूचीमा राखेको छ ।

वर्षायाम लागेपछि सबैभन्दा ठूलो भय च्छो रोल्पा तालमा आउन सक्ने हलचललाई लिइन्छ । तामाकोसी नदी किनारका बस्तीहरू र सयौं ठाडा खोला, खोल्साले उत्पन्न गराउने क्षति पनि यहाँको जटिल समस्या हो । भिरालो जमिनका बस्तीमाथिबाट पहिरो खस्दा हुने जोखिमलाई जुनसुकै बेला हुनसक्ने प्रकोपको सूचीमा राखिएको छ ।

बाढीपहिरोको प्रकोपलाई मध्यनजगर गर्दै जिल्ला प्रशासनमा जडित प्रकोप सूचना प्रणालीलाई हरप्रकारले चुस्तदुरुस्त राखिएको दाबी गरिएको छ । जिल्ला आपतकालीन सञ्चालन केन्द्र नाम दिइएको उक्त प्रणालीलाई २४ सै घण्टा परिचालित गरिएको छ ।

जिल्ला, इलाका र चौकीस्तरमा प्रहरीलाई प्रतिरक्षा र उद्धारका सामग्रीसहित तयारीमा राखिएको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । प्रहरीको जिल्लादेखि गाउँका युनिटमा ५ देखि २५ जना तालिमप्राप्त जनशक्ति परिचालित गर्न लागिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीलाई आपतकालीन केन्द्रमार्फत तयारी अवस्थामा राखिएका छन् ।

२ नगर र ७ गाउँपालिकाले प्रकोपको सामना गर्ने जनशक्ति र स्रोतको व्यवस्था गरेको बताएका छन् । स्थानीय तहले खतरा बस्तीको सूची जिल्ला दैवीप्रकोप उद्धार समितिमा पठाउने भनेर जेठ महिनामा निर्णय भएको थियो । तर, हालसम्म सूची नआएकाले पूर्वतयारीको रणनीति बनाउने कार्य भने पूरा हुन बाँकी रहेको प्रजिअ पाठकले बताए ।

प्रत्येक वर्ष प्रकोपपछिको उद्धारमा ठूलो योगदान गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पनि तयारी अवस्थामा रहेको सभापति गोकर्णप्रसाद पोखरेलले बताए ।

प्रकाशित : असार ३२, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?