१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खेतीयोग्य जमिन मास्दै खहरे

‘खहरे नियन्त्रण हुन नसके उर्वर भूमि केही वर्षमै बगर बन्ने निश्चित छ’
राजकुमार कार्की

सिन्धुली — चुरे जंगलको विनाशले सिन्धुलीको कमलाखोंज र मरिन क्षेत्रमा हजारौं बिघा उर्वर भूमि बगरमा परिणत भएको छ । सुकुम्बासीका नाममा बर्सेनि बढ्दै गएको चुरे अतिक्रमण तथा काठ चोरी निकासीका कारण खहरे बढ्दै गएपछि समस्या आएको स्थानीय बासिन्दाको दाबी छ ।

खेतीयोग्य जमिन मास्दै खहरे

धरान–चतरा– सिन्धुली–हेटौंडा सडक विस्तारका क्रममा चुरे क्षेत्रका हजारौं सालका रूख कटान गरिएपछि कृषकहरू थप त्रसित बनेका छन् ।

चुरे विनाशले कमलाखोंच क्षेत्रका साबिक रानीबास, निपाने, हर्षाही, टाँडी, हत्पते तथा मरिण क्षेत्रका कल्पवृक्ष, कपिलाकोट, क्यानेश्वर, डाडीगुराँसे, महादेवस्थान लगायतका एक दर्जनभन्दा बढी वडाका कृषक प्रभावित बनेका छन् । ‘वन अतिक्रमण र चोरी निकासीले वर्षातको समयमा पाखै बगेर आउने खहरेको भेलले उर्वर जमिन बगरमा परिणत भएको छ,’ निपानेका दिनेश कुँवरले भने, ‘खहरे नियन्त्रण हुन नसके उर्वरभूमि केही वर्षमै बगर बन्ने निश्चित छ ।’

जंगल विनाश गर्नुहुँदैन भन्ने स्थानीय उपभोक्तामा चेतनाको अभाव रहेको तथा समय–समयमा तस्करले अवैध रूपमा जंगल फँडानी गर्ने भएकाले समस्या झन् विकराल बन्दै गएको निपानेका कुँवरको धारणा छ ।

निर्माणाधीन, धरान–चतरा–सिन्धुली–हेटौंडा सडकले मेसिन प्रयोग गर्दा निस्किएको माटो तथा वाल निर्माणका लागि खनेको स्थान बग्ने खतरा उत्तिकै रहेकोसमेत कमलामाई नगरपालिका काउछेका रामहरि न्यौपाने बताउँछन् । ‘एकतर्फ माथिबाट नै बग्ने खतरा छ,’ उनले भने, ‘अर्कोतर्फ सडक निर्माण आयोजनाले समेत मेसिन प्रयोग चाहिनेभन्दा बढी गरेकाले धान खेत स्वाहा हुने सम्भावना छ ।’ ठूलो आयोजना भएकाले चुरे खहरेमा सतर्कता अपनाएर कृषकलाई राहत प्रदान गर्न न्यौपानेले माग गरे ।

चुरे जंगलको विनाशले बर्सेनि नयाँ खहरे जन्मिने गरेका छन् उनले थपे, ‘चुरे जंगलबाट निस्किने खहरेका कारण वर्षातको मौसममा चुरे आसपासमा बसोबास गर्ने बढी पीडित हुँदै आएका छन् ।’ कमलाखोंज क्षेत्रमा मात्रै सानाठूला गरी एक सयभन्दा बढी खहरे चुरे जंगलबाट निस्किएका छन् ।

चुरे जंगलबाट निस्किने खहरेले दस हजार बिघाभन्दा बढी उर्वर जमिन बगरमा परिणत गराइसकेको स्थानीय कृषकहरू बताउँछन् । दुधौली नगरपालिका हत्पतेका प्राविधिक हेरम्बराज अधिकारीका अनुसार खहरे खोलाले यस क्षेत्रमा कति उर्वर जमिनलाई क्षति पुर्‍यायो, त्यसको लगत कुनै पनि निकायले लिएको छैन ।

चुरे जंगल विनाश भई आएको खहरेले आफ्नो दुई बिधा जमिन बगरमा परिणत गराएको सम्भिँmदै रानीवास चन्दनपुरका रामप्रसाद दनुवार वन विनाश बढ्दै गएपछि छिमेकीसमेत सुकुम्बासी बन्दै गएको दुखेसो पोख्छन् । भन्छन्, ‘आफ्नो जमिन बगरमा परिणत भई सुकुम्बासी बनेपछि अहिले भाडामा जमिन लिएर खेती गरेको छु ।’ कुनै जमानाका जमिन्दारहरूसमेत अहिले खहरेका कारण सुकुम्बासी बन्दै गएका छन् ।

कमला नदी र खहरेले भएको जग्गा जमिन बगरमा परिणत गराएपछि जंगल पँmडानी गर्नेको संख्यामा समेत वृद्धि भएको छ । रानीवासको चन्दनपुरमा त जंगल पँmडानी गरेर ठूलो बस्ती नै बसालिएको छ । त्यहाँ पक्की संरचनासमेत निर्माण भएका छन् ।

मरिन क्षेत्रको समस्या पनि कमलाखोंच क्षेत्रको भन्दा कम छैन । डाडीफाँटदेखि हरिहरपुरगढीसम्म बर्सेनि नयाँ–नयाँ खहरे जन्मिँदै गएका छन । त्यस क्षेत्रमा पनि चुरे वन विनाश नै खेतीयोग्य जमिन बगरमा परिणत हुने प्रमुख कारण बनेको छ । जंगल अतिक्रमण र विनाशले बढी खेतीयोग्य जमिन सकिँदै गएको डाडीगुराँसेका दुर्गाराज देवकोटाले ठोकुवा गरे ।

जंगल अतिक्रमण भइरहेको छ, चोरी निकासी उत्तिकै छ, अनि विनाश नभएर के हुन्छ त ? उनले भने, ‘जनचेतना जगाएर विनाश र अतिक्रमणलाई रोक्ने हो भने अझै पनि धेरै ढिला भएको छैन ।’ जिल्ला वन कार्यालयको एक तथ्यांकअनुसार जिल्लामा चुरे जंगलको क्षेत्रफल एक लाख १२ हजार ६ सय ३१ हेक्टर रहेको छ । यो मध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ ।

चुरे जंगलको तल्लो फाँटको ३ हजार ३ सय ८३ हेक्टर वन पूर्णरूपमा नष्ट भइसकेको कार्यालयको तथ्यांकमा छ । प्राकृतिक प्रकोपलाई नियन्त्रणमा लिन स्थानीय बासिन्दा आफैं सचेत हुनुपर्ने जिल्ला वन अधिकृत भीमबहादुर कालिकोटेको बुझाइ छ । कार्यालयले अवैध पँmडानी गर्ने र वन विनाशमा संलग्नलाई कारबाही गरेकै छ, तर उपभोक्तामा अपनत्वको भावना विकास गराउन जरुरी छ, उनले थपे ।

स्थानीयहरू वर्तमानलाई मात्र हेर्छन्, भविष्यमा पर्ने असरबारे ध्यान दिँदैनन्, यो त्यसैको परिणाम हो ।’ छिमेकी जिल्लाका वन अधिकृत र सुरक्षा प्रमुखसहितको बैठक बसी चोरी, नियन्त्रणमा कडाइ गर्ने संयुक्त योजना बनाएकोसमेत भर्खरै जिल्लामा सरुवा भई आएका वन अधिकृत कालिकोटेले बताए ।

प्रकाशित : असार ३२, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?