कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मकवानपुरमा पुनर्निर्माण सुस्त

२८ प्रतिशत घर बने
१६ हजारभन्दा बढी निर्माणाधीन
८ हजार २३ सम्झौता हुनै बाँकी
प्रताप विष्ट

हेटौंडा — भूकम्पले घर भत्काएको ३८ महिना बितिसक्दा पनि मकवानपुरका २८ प्रतिशत भूकम्पपीडिले मात्र घर निर्माण गरेका छन् । ४९ प्रतिशत लाभग्राहीको भवन निर्माणाधीन अवस्था छन् ।

मकवानपुरमा पुनर्निर्माण सुस्त

मकवानपुरका कुल लाभग्राहीमध्ये ७ हजार ८ सय ३५ भूकम्पीडितले निजी घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई हेटौंडाका इन्जिनियर रविन पाठकले बताए । ‘१६ हजार ५६ लाभग्राहीले दोस्रो किस्ता लगेर घर युद्धस्तरमा बनाइरहेका छन्,’ उनले भने । सरकारले दोस्रो किस्ता अनुदान माग गर्न असार मसान्तसम्मको समय तोकेको छ ।

दोस्रो किस्ताका लागि अनुदान माग गरेर आइतबार र सोमबार बढीमा ५० निवेदन पर्ने अनुमान गरिएको जिल्ला अनुदान व्यवस्थापन इकाई प्रमुख सोमनाथ तिमल्सिनाले बताए । उनका अनुसार गुनासो फस्र्योट भएर थपिएकासहित मकवानपुरमा ३३ हजार २ सय ६६ लाभग्राही छन् । तीमध्ये अनुदान सम्झौता २५ हजार २ सय ४३ सँग भइसकेको छ । अनुदान सम्झौता भएकामध्ये पहिलो किस्ता २४ हजार २ सय ४ लाभग्राहीले बुझेका छन् । घरको जग हालेर दोसं्रो किस्ता १६ हजार ५६ लाभग्राहीले लगेका छन् ।

दोस्रो किस्ताका लागि निवेदनसहित माग गर्ने समय सोमबारसम्म मात्र छ । तेस्रो किस्ता ७ हजार ९ सय ४८ लाभग्राहीले बुझेका छन् । जिल्लाको थाहा नगरपालिकामा पर्ने टिस्टुङ र आग्रामा टियर फन्डको सहयोगमा राडो नेपालले ६ सय वटा घर निर्माण गरिसकेको छ । त्यसैगरी अमेरिकन रेडक्रसको सहयोगमा रेडक्रस मकवानपुरले कैलाश गाउँपालिकाको गोगनेमा ६ सय घर निर्माण गरिरहेको छ । ३ सयभन्दा बढी घर निर्माण गरेर लाभग्राही बसिसकेका छन् ।

अझै पनि मकवानपुरमा ८ हजार २३ लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन । लालपुर्जाविहीन, सुकुम्बासीलगायत कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवास पुनर्निर्माणका लागि सम्झौता हुन नसकेको हो । जिल्ला अनुदान इकाईका प्रमुख तिमल्सिनाले जानकारी दिँदै भने, ‘मकवानपुरमा ३३ हजार २ सय ६६ लाभग्राही छन्, तीमध्ये २५ हजार २ सय ४३ सँग सम्झौता भएको छ । ८ हजार २३ लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन ।’ निर्माणाधीन निजी भवन जिल्लामा १६ हजार ५६ छन् । सरकारी र गैरसरकारी संस्थाको अनुदान सहयोगमा ७ हजार ८ सय ३५ वटा निजी आवासीय भवन पुनर्निर्माण भएका छन् ।

जिल्लाका ६ लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । भवन बनाउन आवश्यक नपरेको भन्दै उनीहरूले रकम फिर्ता गरेका हुन् । पहिलो किस्ता लिएर पनि दोस्रो नलैजानेको संख्या ८ हजार २ सय ४८ छ । ‘दोस्रो किस्ता नलैजानेमा पहिलो किस्ता लगेर रकम अन्यत्र प्रयोग गरेका, घर बनाउन जग नै नखनेका तथा मापदण्डविपरीत घर बनाएका हुन सक्छन्,’ इन्जिनियर पाठकले भने, ‘यसबारे क्रमश: खोजतलास हुनेछ ।’

यसैगरी मकवानपुरमा ५ हजार १ सय ४९ प्रबलीकरणका लाभग्राही छन् । तीमध्ये १ हजार ९ सय ४४ लाभग्राहीसँग अनुदान सम्झौता भएको कार्यान्वयन इकाईका प्रमुख तिमल्सिनाले भने, ‘१ हजार ८ सय ८९ लाभग्राहीले पहिलो किस्ता रकम लगिसकेका छन् ।’ प्रबलीकरणतर्फ लाभग्राहीले पहिलो किस्तामा ५० हजार र दोस्रोमा ५० हजार गरी एक लाख रुपैयाँ अनुदान पाउँछन् । उनका अनुसार भूकम्पपीडितसँग अनुदान सम्झौता हुन नसक्नुमा जग्गाधनी पुर्जाको अभाव, सुकुम्बासी, पुनर्वासको मुद्दा, बहुस्वामित्व, लाभग्राहीको मृत्यु हुनु तथा विदेशमा रहनु तथा घरायसी विवादलगायत कारण रहेका छन् । तीमध्ये जग्गाधनी पुर्जा नहुनु मुख्य कारण हो ।

सरकारले जग्गा दर्ताका लागि निवेदनको माग गर्दै तेस्रो पटकसम्म सूचना जारी गरिसकेको छ । यस अवधिमा १ हजार ६ सय ४३ निवेदन परे पनि कार्यान्वयन भएको छैन । लाभग्राहीको सूचीका लालपुर्जाविहीनको संख्या ४ हजार २ सय ५७ छ भने २ सय १३ सुुकुम्बासी छन् । ४३ लाभग्राहीको मृत्यु भइसकेको तथा १ सय ७० विदेशमा छन् ।

हालको गतिले ५ वर्षमा पनि निजी आवासको पुनर्निर्माण कार्य सम्पन्न हुन मुस्किल रहेको जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको इकाई स्थानीय तहमा राखी पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने उनको सुझाव छ ।

प्रकाशित : असार ३२, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?