१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

रासस

काठमाडौँ — ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । 

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

महानगरपालिकाले सोमबार कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गरे ।


महानगरपालिकाको चालू प्रशासनिक खर्च एक अर्ब छ करोड ५० लाख रुपैयँ अनुमान गरिएको छ । व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता ३० करोड र पूँजीगत कार्यक्रम खर्च दुई अर्ब ४० करोड आठ लाख ३७ हजार रुपैयाँ अनुमान गरिएको छ ।


वैदेशिक अनुदान कार्यक्रममार्फत ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आगामी आवको प्रस्तावित आयमा ९२ करोड ७८ लाख (२० प्रतिशत) संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएको छ ।


आन्तरिक स्रोतबाट एक अर्ब ७७ करोड ५४ लाख रुपैयाँ र वैदेशिक अनुदानतर्फ ८२ करोड १४ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ । सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता, राजश्व बाँडफाँड, मौज्दात रकम र अन्य विविध आय महानगरपालिकाले अनुमान गरेर बजेट विनियोजन गरेको हो ।


प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले विकासले गति लिन नसक्दा जनतामा निराशा हुन सक्ने बताए ।


प्रदेशसभा सांसद माधव पौडेलले आकर्षक नारा र कार्यक्रम सफल हुने वा नहुने भन्ने त्यसका लागि कति बजेट छुट्याएको छ भन्नेमा निर्भर हुने बताए ।


बजेट सार्वजनिक गर्दै महर्जनले पहिलो एक वर्ष महानगरलाई समृद्ध, सुशासित र सुविधायुक्त बनाउन लागिपरेको बताए । प्रदेशको कानून निर्माणमा भइरहेको ढिलाइले आवश्यक कानून निर्माणको बाटो नखुलेको उनले बताए ।


महानगरपालिकाका उपप्रमुख गीता सत्यालले महानगरपालिकाका कार्यक्रम २९ वटै वडामा पुग्ने बताइन् । उनले भनिन्, 'यी सबै वडाले महसुस गर्ने गरी विकास गर्नु अहिलेको आवश्यकता हो ।'

प्रकाशित : असार ३२, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?