कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अझै बनेनन् ५० प्रतिशत घर

२१ अर्ब खर्च
अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प गएको ३८ महिना बितिसक्दा पनि सिन्धुपाल्चोकमा आधाभन्दा बढी घर पुनर्निर्माण हुन सकेका छैनन् । पहिचान गरिएका ८६ हजार ९ सय ७१ लाभग्राहीमध्ये हालसम्म ३९ हजार १ सय ३९ को मात्रै घर बनेको छ ।

अझै बनेनन् ५० प्रतिशत घर

स्थानीय तहको समन्वयपछि पुनर्निमाणमा केही गति देखिएपनि झन्झटिलो प्रक्रियाका कारण पुनर्निर्माण कछुवा गतिमा छ । विगतमा जस्तै यस वर्षपनि भूकम्पपीडितको वर्षायाम पनि टहरामै कट्ने निश्चित छ ।

‘यो वर्षको पानी पनि टहरामा ओतिनुपर्छ जस्तो छ, घर बनाउन सकिएन,’ जुगल गाउँपालिका जलबिरेकी कलमाया विकले दुखेसो पोखिन्, ‘एककोठे बनाएर नहुने २ कोठे बनाउन पैसाले पुगेन ।’ आर्थिक समस्या झेलिरहेकी कलमायाले ऋण नहुँदा बिलखबन्धमा परेको सुनाइन् । ‘पहिलो र दोस्रो किस्ताको अनुदान लिएर मापदण्डअनुसार बनाउन ऋण लागेपछि भौंतारिरहेकी छु,’ उनले भनिन् । अनुदान लिने सरकारी मापदण्डको जटिल भएको कारण किस्ता लिए पनि पुनर्निर्माणमा समस्या भएको उनले बताइन् । ‘सरकारी डिजाइन व्यावहारिक देखिएन, आर्थिक अवस्था कमजोर हुनेलाई सोचेको देखिएन,’ उनले झार उम्रिइसकेको डीपीसी देखाउँदै भनिन् । घुम्थाङमा २ कोठे घर बनाउने जग्गा नपुगेकाले थप समस्या भएको उनले जनाइन् ।

सडक सञ्जाल जोडिएका केही गाउँमा घर बन्न थाले पनि जग्गा, ऋणजस्ता धेरै समस्या झेलिरहेका भूकम्पपीडित अरूको घर हेरेर चित्त बुझाउन बाध्य छन् । दोस्रो किस्ता नआएपछि पुनर्निर्माण रोक्नुपरेको त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुन पात्लेगाउँका कुन्सा लामाले बताए । ‘खै दोस्रो अनुदान आएन, म त अन्योलमा छु,’ उनले भने ।

सिन्धुपाल्चोकमा पुनर्निर्माण थालिएसँगै जिल्लाभर ३ वर्षमा २१ अर्बभन्दा बढी खर्च भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । जसमा पहिलो, दोस्रो र तेस्रो गरी २१ अर्ब ११ करोड ७३ लाख ५० हजार अनुदान निकासा गरिएको छ । दोस्रो किस्ताका लागि ११ अर्ब ७ करोड १९ लाख ५० हजार खर्च भएको छ । निर्माण सुरु भएका ७४ हजार २६ आवासमा ३९ हजार ४ सय ९९ घरका लागि तेस्रो किस्ता निकासा भइसकेको जिल्ला समन्वय समितिले जनाएको छ । पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका अनुसार पहिचान गरी गरिएका ८६ हजार ९ सय ७१ लाभग्राहीमध्ये ८२ हजार ५ सय ११ ले पहिलो किस्ता प्राप्त गरिसकेका छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?