१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चितवन खोप सुनिश्चित

चितवन — चितवनलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ । सबै बालबालिकालाई आवश्यक पर्ने सम्पूर्ण खोप लगाइएको निश्चित भएपछि सोमबार चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

चितवन खोप सुनिश्चित

जिल्लाका स्थानीय तहलाई ७१ सालको असार १८ देखि खोप सुनिश्चित गर्न सुरु भएको थियो । सोमबार भरतपुर महानगरपालिकासँगै जिल्ला नै खोप सुनिश्चित भएको हो ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति चितवनका सदस्य सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जिल्लामा पूर्ण खोप प्राप्त गरेका बालबालिका ७ हजार ५ सय ८९ भएको जनाए ।

‘१२ देखि २३ महिनाभित्रका बालकालिकाको सर्वेक्षण गर्दा खोप नलगाएका र लगाउनुपर्ने कोही नभेटिएपछि हामीले खोप सुनिश्चित जिल्ला घोषणा गरेका हौं,’ झाले भने । पूर्ण खोप नगरपालिका तथा गाउँपालिका सुनिश्चित गर्ने कार्यविधि निर्देशिकाबमोजिम महिला स्वास्थ्य स्वयंसेविकाले जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि २३ महिनासम्मको बालबालिकाको सर्वेक्षण गरेको उनले बताए ।

नेपालमा बिफर उन्मूलनपछि वि.सं. २०३४ सालबाट बालबालिकालाई खोप दिने अभियान सुरु भएको हो । जन्मेदेखि १५ महिनासम्म बालबालिकालाई विभिन्न रोगविरुद्ध ११ प्रकारका खोप दिने गरिन्छ । चितवनमा ०७१ को असारमा तत्कालीन फूलबारी गाविसलाई जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चित भएको क्षेत्र घोषणा गरेको झाले बताए । अन्तिम पटक घोषणा भएको भरतपुर महानगरमा १ हजार २ सय ८४ बालबालिका थिए ।

प्रकाशित : श्रावण १, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?