१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘न जग्गा आफ्नो, न घर’

चुरेभिमान बासिन्दाको पिरलो
पानी लिन अर्को जिल्लामा जानुपर्ने
स्कुल आवतजावत गर्न दैनिक ७ घण्टा लाग्ने
घरजग्गाको स्वामित्वविहीन
प्रताप विष्ट

हेटौंडा — साढे तीन दशकदेखि रगत र पसिना बगाएर खनजोत गर्दै आएको जमिन र आश्रयस्थल आफ्नो स्वामित्वमा नहुँदा मकवानपुरको दुर्गम गाउँका बासिन्दा पिरोलिएका छन् । जग्गा छ, आफ्नो नाममा छैन, घर छ आफ्नो होइन । यस्तो पीडा भोग्दै आएका छन् मनहरी गाउँपालिका(२ (साविकको हाँडीखोला ४) चुरेभिमानका बासिन्दाले ।

‘न जग्गा आफ्नो, न घर’

मकवानपुर र पर्साको सिमानामा पर्ने उक्त बस्तीमा उनीहरू २०४० सालदेखि बसोबास गर्दै आएका थिए । तर घरजग्गा आफ्नो नाममा नहुँदा कुनै पनि बेला सरकारद्वारा लखटिनुपर्ने त्रासमा छटपटिरहेका छन् ।

३५ वर्षदेखि बस्तीमा रहँदै आएका ७२ वर्षीय हर्कबहादुर वलले भने, ‘सम्पत्तिको नाममा केही पनि छैन, आफैं बसेको घर र कमाइ गर्दै आएको जग्गा पनि आफ्नो होइन ।’ उनका ४ छोरा र १६ नातिनातिनाले घर भरिएका छन् । हर्कबहादुरको मात्र होइन, भीमानवासी सबैको नियति उस्तै छ । पर्साको वागवना गाउँसँग जोडिएको उक्त बस्तीमा २० घरधुरीमा १ सय ८३ जना छन् । उनीहरू कसैको पनि आफ्नो नाममा एक धुर जमिन छैन ।

‘झाडी फाँडेर बारी बनाइयो तर अहिलेसम्म आफ्नो बनाउन सकिएको छैन,’ लोकबहादुर वलले भने, ‘बेलाबेलामा आरक्षका सिपाहीहरू आएर अन्यत्र सर्न दबाब दिने गरेका छन्, त्यति बेला झन पीर लाग्छ । स्वामित्वका हिसाबले भिमानका बासिन्दा सुकुम्वासी नै छन् । ‘कतरे घरभित्र बसेका छौँ, ८–१० कठ्ठा बारी कमाइ गरेका छाैं तर अहिलेसम्म सुकुम्वासी नै छौँ,’ लोकबहादुरले भने ।

जग्गा आफ्नो नाममा नापी गराउन बस्तीका बासिन्दा पहिलापहिला गाविस, जिविस र नापी कार्यालयमा धाए । तर नापी हुन सकेन । वर्षौंदेखि रगत र पसिना बगाएको जग्गा र घर आफ्नो बनाउन सकेनन् । स्थानीय तहको निर्वाचन भएपछि उनीहरूले रजैयास्थित गाउँपालिकामा गएर नापी गराइदिन माग गर्दै आएका छन् ।

हेटौंडा बजारबाट १५ किमि पश्चिम रहेको बस्तीपुरबाट करिब ४ घण्टा पैदल हिँडेर पुगिने उक्त बस्तीका बासिन्दालाई आफ्नो उत्पादनले मुस्किलले ३ महिना खान पुग्छ । वर्षको ९ महिना पर्सा वन्यजन्तु आरक्षको वन पैदावार र जडीबुटीमा उनीहरू निर्भर छन् । कानुनत: आरक्षभित्र पस्न रोक लगाए पनि उनीहरू आरक्षभित्र पसेर कुरिलोलगायत जंगली कन्दमूलका साथै खर काटेर ल्याएर गाउँमा बिक्री गरेर पेट भर्ने गरेका छन् ।

उक्त बस्तीका बासिन्दाले करिब २० बिगा जमिनलाई खेतीयोग्य जमिनमा परिणत गरेका छन् । उनीहरूको एउटै चिन्ता छ, घरजग्गा आफ्नो नाममा गर्न पाए हुन्थ्यो । त्यहाँ पुग्ने जोकोहीलाई पनि उनीहरू एकै स्वरमा त्यही कुरा भन्छन् । सुरक्षाफौजको कारबाहीमा २०६२ माघ २२ गते राति दुई सर्वसाधारण र १४ माओवादीको मृत्यु भएपछि भिमान एकाएक चर्चाको शिखरमा रहेको थियो

पानीको समस्या
गाउँमा पानीको अभावले भिमानवासीहरू पर्सा जिल्लाको बगबना गाउँवाट दैनिक पानी बोकेर आफ्नो आवश्यकता पूर्ति गर्छन् । बगबना ३ घण्टा पैदल हिँडेर पुगिन्छ । एक गाग्री पानी ल्याउन दैनिक ६ घण्टा हिँड्नुपर्छ । ‘गाउँमा पानीको समस्या छ,’ ७२ वर्षीय हर्कबहादुर वलले भने, ‘दिनभर लगाएर एक गाग्री पानी ल्याउनुपर्छ । आफ्नो गाउँवरिपरि पानी नै छैन, जिल्ला काटेर अर्काका गाउँमा जानुपर्छ, भनेको बेला गाग्रीमा पानी भर्न पनि पाइँदैन ।’

बगबना पुतलीदमारका बासिन्दाले पानी थाप्दा कहिलेकाहीँ हप्कीदप्की पनि गर्ने गरेको भिमानबासीहरू गुनासो गर्छन् । वर्षायाम सुरु भएपछि भने उनीहरू छानाबाट झरेको बलेसी थापेर आफ्नो आवश्यकता पूर्ति गर्ने गर्छन् । ‘तामाङहरूको मात्र बसोबास रहेको चुरेभिमानको बस्तीमा सरकारी तथा गैरसरकारी संस्थाहरूको अहिलेसम्म नजर परेको छैन,’ स्थानीयबासी हीरालाल वलले भने, ‘पानीको व्यवस्था गर्न विगतमा गाविस र जिविसमा लिखित एवं मौखिक रूपमा धेरै पटक अनुनयविनय गर्‍यांै, कसैले पनि सुनुवाइ गरेन, अहिले पनि गाउँपालिकालाई भनेका छाँै ।’

विद्यालय पुग्न तीन घण्टा
पानीको समस्या मात्र होइन, भिमानका बासिन्दालाई बालबालिका पढाउन पनि उस्तै समस्या छ । बस्तीनजिक स्कुल छैनन् । स्कुल आउन हाँडीखोलाको सीता माविमा आउनुपर्छ । त्यहाँ आउन र जान बालबालिकालाई सात घण्टा लाग्छ । बिहान साढे ६ बजे हिँडेका बालबालिकाहरू मुस्किलले १० बजे पुग्छन् ।

स्कुल छुटेर घर पुग्दा बेलुकाको साढे ७ बज्छ । स्कुल नजिक नभएकाले बस्तीका अधिकांश बालबालिका पढ्न आउँदैनन् । ‘बस्ती नै अपायक स्थानमा भएकाले उक्त क्षेत्रका बालबालिका पढ्न वञ्चित रहँदै आएका छन्,’ हाँडीखोलाका युवा हरिशरण बर्तौलाले भने ।

गाउँपालिकाको बस्ती नै सार्ने योजना
मनहरी गाउँपालिकाले आरक्षभित्र रहेको र आधारभूत सेवासुविधाबाट वञ्चित रहँदै आएका मनहरी गाउँपालिका २ भिमानका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना चालू आवमा बनाएको छ । ‘सुरक्षित स्थानको जग्गामा उनीहरूलाई स्थानान्तरण गरेर बसोबास गराउने योजना गाउँपालिकाको छ,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘उनीहरूलाई त्यो स्थानमा राखेर सेवासुविधा पुर्‍याउन पनि सकिँदैन र आरक्षले उनीहरूलाई दीर्घकालीन रूपमा त्यहाँ बसोबास गर्न पनि दिँदैन ।’

गाउँपालिकाभित्र नै सुरक्षित जग्गा खोजेर चालू आवमा नै भिमानको बस्तीलाई स्थानान्तर गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले उक्त बस्तीमा बिजुली, धारा, स्कुल पुर्‍याउन समस्या छ । आरक्षभित्र पर्ने उक्त बस्तीको नापी गरेर लालपुर्जा दिने सम्भावना नै छैन ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?