८ वर्ष बित्यो, पुल बनेन

राजकुमार कार्की

हत्पते (सिन्धुली) — दुधौली नगरपालिका २, का कमलदास थापामगरले कमलानदी सहज वारपारको लागि कुरेको ८ वर्ष बितिसक्यो । दुधौली नगरपालिका ३ झुंगा र २ को हत्पते जोड्ने पक्की पुलको काम ८ वर्षअघि नै सुरु भएको थियो । तामझामका साथ शिलान्यास भइ काम सुरु भएपछि कमला पारिका बासिन्दालाई हर्षित बनाएको थियो ।

८ वर्ष बित्यो, पुल बनेन

तर यत्तिका वर्षसम्म पनि पुलको काम आधा नसकिँदा उनीहरू निराश भएका छन । पहिलो र दोस्रो वर्ष निकै तीव्र गतीमा काम भएको थियो । काम हेर्न हामी पनि जाने गथ्र्यौं,’ कमल दासले भने, ‘तेस्रो वर्षदेखि सिन्कोसमेत भाँचिएको छैन, ठडिएका पिलर हेरेर बस्नुको विकल्प छैन ।’ आफ्नो पालामा पुल तरेर वारपार गर्ने चाहना पूरा हुन्छ/हुँदैन भन्नेमा उनलाई शंका छ । ‘यस्तै चालले त खोई पुलबाट कहिले तरिएला र ?’ उनले भने ।

विश्व बैंकको सहयोगमा आव ०७२/७३ मा निर्माण सम्पन्न हुने गरी ३२ करोडको लागतमा पप्पु–लुम्बिनी जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । ५ सय ४६ मिटर लम्बाइ रहेको पुलको पिलर बनेकै ४ वर्ष बितेको छ । तर त्यसपछि भने कुनै काम भएको छैन । हत्पतेकै गीता तामाङ पुलको निर्माण सुरु हुँदा १० वर्षकी थिइन्, केटाकेटी पनले गर्दा उनलाई पुल कस्तो बन्छ भनेर उत्सुकता जाग्ने गथ्र्यो । तर अहिले पिलरबाहेक अरू देख्न नपाएको उनले बताइन् ।

‘बर्सेनि पुलका लागि निर्माण गरिएको पिलर हेरेर ज्यान जोखिममा राखी कमला नदी वारपार गर्न बाध्य छौं,’ कमला मावि भलुवाहीमा अध्ययनरत उनले भनिन् । बर्खामा स्वास्थ्य उपचारदेखि अन्य कामका लागि कमला नदी पार गर्न कहींकतै पुल नभएकाले समयमै पूरा हुनेमा आशा जागेको थियो । तर अहिले आएर देखाउनका लागि मात्र थालिएको जस्तो भएको छ । ‘यी पिलर उखेलेर लगे हुन्छ, कुनै वर्षा या हिउँदमा हामीलाई वारपार गर्न काम दिएन,’ उनले भनिन्, ‘हाम्रो दैनिकी कष्टकर हुने भएपछि यस्तो राखेर के गर्नु ।’ कमला नदीमा पुल नहुँदा बर्खाका ४ महिना दुधौली नगरपालिकाका धेरैजसो वडा महाकाली पारिको दोधारा र चाँदनीजस्तै बन्ने गरेको छ ।

हत्पतेकै रेखनाथ दाहाल ठेक्का अलपत्र पारेर जनतासँग विकासको काम गर्छु भन्ने पप्पु कन्ट्रक्सनले जनताको मनोभावनामा खेलवाड गरेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘कमला नदीले बर्सेनि दर्जनौंको ज्यान लिइरहँदा पनि पुल नबन्नु विडम्बना हो ।’ हेटौंडा–सिन्धुली–गाईघाट–चतरा वैकल्पिक खण्डअन्तर्गत पर्ने उक्त पुल २ लेनको छ । पुल निर्माण अलपत्र हुँदा निर्माण भएका कतिपय पिलर भासिएका छन् भने कतिपय बग्ने अवस्थामा छन् ।

कमलानदीले धार परिवर्तन गर्ने गरेकाले समेत पिलर केही काम नलाग्ने भएको स्थानीयको भनाइ छ । पुल नहुँदा गएको १० वर्षको अवधिमा ३० तीर्थयात्रीको कमलामा बगेर मृत्यु भइसकेको छ । कमलापारिका करिब ६५ हजार जनताले पुल नहुँदा वर्षातमा सास्ती झेल्नुपरेको हो ।

प्रकाशित : श्रावण ५, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?